arrow

मुख्यमन्त्रीको फोटोमा 'जु्त्ता चप्पल मार' कार्यक्रम, प्रहरीद्वारा ४ जना पक्राउ

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ माघ ३ शुक्रबार
chief-minister-rauth-province2.jpg

जनकपुरधाम। बक्यौता रकम नदिएको भन्दै उपभोक्ता समितिका व्यक्तिहरुले प्रदेश नम्बर दुईका मुख्यमन्त्री सहितका अन्य मन्त्रीलाई फोटोमा 'जुत्ता चप्पल मार्' कार्यक्रम गरेका छन्।

प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय र समाजिक विकास मन्त्री नवलकिशोर साहले आ–आफ्ना मातहतका मन्त्रालयले उपभोक्ता समिति मार्फत भौतिक विकास निर्माण कार्य सम्पन्न गरेपनि हालसम्म भुक्तानी नदिएको भन्दै उपभोक्ता समितिले शुक्रबार जनकपुरमा प्रदर्शन सहित जुत्ता हान्न थालेपछि प्रहरीले पक्राउ गरेको छ।

सो 'जु्त्ता चप्पल मार्' कार्यक्रमबाट धनुषा प्रहरीले ४ जना पक्राउ गरेका छन। शुक्रवार जनकपुरधामको जिरो-माईलमा उपभोक्ता समितिसँग आबद्ध व्यक्तिहरुले गत आर्थिक वर्षमा विकास निर्माणको विभिन्न योजनाको बक्यौता रहेको रकम भुक्तानी माग गर्दै मुख्यमन्त्री लालबाबु राउत सहितका अन्य ५ जना मन्त्रीहरुको फोटोमा जुता प्रहार गरेका छन्। पक्राउको विरोध र रिहाई तथा भुक्तानीको माग गर्दै नगरमा प्रदर्शन जारी राखेका छन्।

संघर्ष समितिका पदाधिकारीहरुले आफुहरुले गरेको विकास निर्माणको काम वापत भुक्तानी नदिएको भन्दै आन्दोलनको क्रममा मुख्यमन्त्री तथा मन्त्रीहरु विरुद्ध नारावाजी गर्दै जुत्ता चप्पल प्रहार गरेपछि धनुषा प्रहरीले रोशन सिंह राणा, रोशन ठाकुर, विमलेश ठाकुर र शंकर साहलाई धनुषा प्रहरीले पक्राउ गरेको छ।

गत आर्थिक वर्षमा विभिन्न मन्त्रालय र प्रदेश सांसदमार्फत बाँडिएका ८४२ योजना मध्ये करिब ८७ करोड रुपैयाँ भुक्तानी उपभोक्ताहरु समितिका भुक्तानी गर्न बाँकी रहेका छन्। उपभोक्ता समितिका पदाधिकारीहरुले योजनाहरुको बक्यौता रहेको रकम भुक्तानी नगरिएको भन्दै भौतिक पूर्वाधार विकास कार्यालय तालाबन्दी गरिसकेका छन्। सो तालाबन्दीले गर्दा हालसम्म पुर्वाधार कार्यालयका काम काज अवरुद्ध नै रहेका छन्।

उपभोक्तहरुको भूक्तानी नगरेको भन्दै प्रदेशसभामा प्रतिपक्षी दल तथा सत्ता पक्षकै सांसदहरुले गरेका प्रदेशसभा अवरुद्धले अहिले बैठक स्थगित भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ