arrow

नेपालमा श्रम इजाजत लिन कठिन, तर चिनियाँको संख्या बढ्दै

logo
यमुना भण्डारी,
प्रकाशित २०७६ माघ ४ शनिबार
labor-labour-ministry-employment.jpg

काठमाडौं। यो आर्थिक वर्षको पाँच महिनामा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले ५४० विदेशी नागरिकलाई नयाँ श्रम इजाजत दियो। यही अवधिमा ५३७ श्रम इजाजत नवीकरण गरेको छ। त्यसरी श्रम इजाजत लिनेमा सबैभन्दा बढी चिनियाँ नागरिक छन्, अर्थात् त्यो संख्याको आधैजति। चीन सरकारको सहयोगमा सञ्चालित परियोजनामा चिनियाँ नागरिककै बर्चश्व छ। श्रम विभागका महानिर्देशक सनत केसीका अनुसार टेलिकम्युनिकेशन, हवाई सेवालगायत सेवा क्षेत्रमा इजाजत लिने विदेशी कामदारको संख्या ठूलो छ।

नेपालमा काम गर्ने भारतीय नागरिकको संख्या निकै ठूलो छ। तर, सबै भारतीय नागरिकलाई श्रम इजाजतको आवश्यकता पर्दैन। दक्ष कामदारका रुपमा नेपालमा काम गर्दै आएका केही भारतीय नागरिकले भने श्रम इजाजत लिने गरेका छन्। यस्तै, केही दातृ निकायमा काम गर्ने विदेशी नागरिकले समेत श्रम इजाजत लिएको विभागले जनाएको छ। विभागको तथ्याङ्कबाट अस्ट्रेलिया, बङ्गलादेश, भूटान, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, दक्षिण कोरिया, मलेसिया, मेक्सिको, पाकिस्तान, साइबेरिया, स्पेन, श्रीलङ्का, स्वीडेन, स्वीट्जरल्याण्ड, थाइल्याण्ड, बेलायत, अमेरिकालगायत ८७ मुलुकका नागरिकले श्रम इजाजत लिएर नेपालमा काम गरेको देखिन्छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको यो विभागले रोजगारीका लागि नेपालमा आएका विदेशी श्रमिकलाई श्रम इजाजत प्रदान गर्दै आएको छ। विभागले साताको दुई दिन सोमबार र बिहीबार मात्र श्रम स्वीकृति दिने गरेको छ। श्रम विभागले आर्थिक वर्ष २०६९-०७० देखि विदेशी नागरिकलाई श्रम इजाजत दिन थालेको हो। 

स्वीकृति लिन कठिन
विदेशी नागरिकले श्रम स्वीकृति लिने प्रक्रिया सहज भने छैन। कुनै रोजगारदाताले विदेशी श्रमिक राख्नु परेमा शुरुमा कुन विशेषज्ञता हासिल गरेको कामदार चाहिने हो त्यसको विज्ञापन गर्नुपर्ने हुन्छ। विदेशी नागरिकका लागि श्रम इजाजत जारी गर्नका लागि गृह मन्त्रालयको सहमति समेत लिनु पर्ने हुन्छ। सम्बन्धित क्षेत्र पर्ने मन्त्रालयको सिफारिस समेत चाहिन्छ।

सम्बन्धित मन्त्रालयको सिफारस, गृह मन्त्रालयको सहमति, रोजगारदातासँगको सम्झौतालगायत कागजपत्रसहित निवेदन दिएपछि विभागले अध्ययन गरेर श्रम इजाजत प्रदान गर्दै आएको छ। तर, नेपाल सरकारसँग कुनै मुलुकको विषेश सम्झौता भएको खण्डमा सिधै ती मुलुकका नागरिकलाई श्रम इजाजत दिने गरिएको छ।

श्रम इजाजतका लागि कामदार स्वयम् विभागमा उपस्थित हुनुपर्छ। श्रम इजाजतका लागि आवश्यक कागजात पुगेपछि विभागका कर्मचारी सम्बन्धित श्रमिकको ‘बायोमेट्रिक’ सङ्कलन गर्छन्। त्यसपछि उनीहरुसँग अन्तर्वार्ता लिइन्छ। अन्तर्वार्तामा कुन कामका लागि आएको हो, कति पारिश्रमिक पाउने, कति समय काम गर्ने, शैक्षिक योग्यतादेखि दक्षतासम्मका विषय सोधिन्छ। अन्तर्वार्तापछि मात्र श्रम इजाजत दिने गरिएको छ।

पहिलो चरणमा छ महिनाका लागि श्रम इजाजत प्रदान गरिँदै आइएको महानिर्देशक केसीले बताएका छन्। त्यसपछि प्रत्येक पटक इजाजत नवीकरण गर्नुपर्छ। श्रम नियमावली, २०७५ मा ६ महिनासम्मको अवधिको लागि प्रतिव्यक्ति १५ हजार र एक वर्षका लागि प्रतिव्यक्ति बीस हजार इजाजत शुल्क तोकिएको छ। तर, विदेशी दातृ निकायमा काम गर्ने श्रमिकका हकमा भने शुल्क लाग्दैन। सामान्यतः विदेशी श्रमिकलाई बढी ३ वर्षका लागि श्रम इजाजत दिन सक्छ, विभागले। नियमावलीमा दक्ष प्राविधिक विदेशी श्रमिकलाई बढीमा ५ वर्षसम्म श्रम स्वीकृति दिने व्यवस्था गरिएको छ।

श्रम इजाजत लिन यति कठिन छ, तर श्रम इजाजत लिने चिनियाँ नागरिकको संख्या भने बढीरहेको छ। बिहीवार मात्रै माथिल्लो त्रिशूली थ्रि–ए जलविद्युत् आयोजनाको २२० केभी प्रशारणलाइन परियोजनामा ‘एकाउन्टेन्ट’का रुपमा काम गर्दै आएका चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशनका कर्मचारी वेई लिन श्रम इजाजात नवीकरण गरे। 

इजाजत नलिई काम गर्न पाइँदैन
श्रम ऐन, २०७४ मा कुनै पनि विदेशी नागरिकले श्रम इजाजत नलिइ नेपालमा काम गर्न नपाउने व्यवस्था छ। ऐनको दफा २२ को १ मा विभागबाट श्रम इजाजत नलिई रोजगारदाताले कुनै पनि विदेशी नागरिकलाई श्रमिकको रुपमा काममा लगाउन नपाउने व्यवस्था गरिएको छ। रोजगारदाताले आफूलाई चाहिएको दक्ष श्रमिक नेपाली नागरिकबाट आपूर्ति हुन नसकेमा मात्र विदेशी श्रमिकलाई काममा लगाउन पाउँछन्।

ऐनमा कूटनीतिक उन्मुक्ति पाउने वा नेपाल सरकारसँग भएको कुनै सन्धि वा सम्झौताअन्तर्गत श्रम स्वीकृति लिन नपर्ने अवस्थामा बाहेक नेपालमा काम गर्ने सबै विदेशी नागरिकले श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ। श्रम इजाजत नलिइ काम गरेको पाइएमा विभागले त्यस्ता श्रमिकलाई तत्काल निष्कासन गर्न रोजगारदातालाई निर्देशन दिन सक्नेछ। 

वितरणको अवस्था
आर्थिक वर्ष २०६९–०७० मा ९८४ विदेशीलाई विभागले श्रम इजाजत दिएको देखिन्छ। आर्थिक वर्ष २०७०-०७१ मा ७१९, आर्थिक वर्ष २०७१-०७२ मा दुई हजार १९, आर्थिक २०७२-०७३ मा एक हजार ४७२ विदेशी नागरिकलाई श्रम इजाजत प्रदान गरिएको विभागले जनाएको छ। यस्तै, आर्थिक वर्ष २०७३-०७४ मा एक हजार ३२४ नयाँ श्रम इजाजत जारी गरेको विभागले त्यही आर्थिक वर्षमा ६४८ श्रम इजाजत नवीकरण गरेको थियो। आर्थिक वर्ष २०७४-०७५ मा एक हजार ६०८ नयाँ श्रम इजाजत र ९६२ नवीकरण तथा आर्थिक वर्ष २०७५-०७६ मा एक हजार ११९ नयाँ श्रम इजाजत र ८६२ श्रम इजाजत नवीकरण गरेको थियो।

बल्ल तथ्याङ्क भेला पारिँदै
नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशी नागरिकको संख्या विभागसँग भए पनि कुन क्षेत्रमा कति विदेशी श्रमिक छन् भन्ने स्पष्ट तथ्याङ्क भने छैन। सबै क्षेत्रका विदेशी श्रमिकको बेग्लाबेग्लै तथ्याङ्क राख्ने प्रक्रिया विभागले बल्ल अघि बढाएको छ। विभागले अब कुन क्षेत्रमा, कुन प्रतिष्ठानमा कति विदेशी कामदार छन्, तीमध्ये कति महिला, कति पुरुष, कुन कामका लागि विदेशी आएका छन् भन्ने सबै तथ्याङ्क भेला पार्ने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ