arrow

'मधेश जनविद्रोले उठान गरेको संघीयतामाथि शासक वर्गबाट कुठाराघात'

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ माघ ४ शनिबार
upendra-yadav-janakpur.jpg

जनकपुर। समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नाम मात्रको संघीयताले परतन्त्रको अन्त नहुने बताएका छन्। समाजवादी पार्टीले शुक्रबारबाट शुरु गरेको तीन महिने संगठन विस्तार तथा सुदृढिकरण अभियानको जनकपुरबाट शुरु गर्दै अध्यक्ष यादवले मधेश जनविद्रोले उठान गरेको संघीयताको मर्ममाथि कुठाराघात गर्दै शासक वर्गले आफनो वर्चस्व कायम राख्ने गरि ल्याएको संघीयताले शोषित पीडित वर्गको उत्थान सम्भव नरहेका बताए।

अध्यक्ष यादवले भने,‘मधेश आन्दोलनले अधिकार सम्पन्न संघीयता, पहिचानमा आधारित राज्य र साधन स्रोत सम्पन्न प्रदेश मागेको थियो तर अहिलेको संघीयताले ती मुद्दाहरुलाई सम्बोधन गर्न सकेको छैन।’ संविधानको संशोधन नभएसम्म मधेशी, आदिवासी, जानजाति, दलित, मुश्लिम र महिलाले स्वतन्ताको अनुभूति गर्न नसक्ने उल्लेख गर्दै उनले त्यसको लागि त्यसको पुनः संघर्षको आवश्यकता रहेकोले पार्टी संगठन विस्तार तथा सुदृढिकरणमा जुटेका बताए।

अबको तीन महिना पार्टीलाई दिन नेता कार्यकर्ताहरुलाई निर्देशन दिदै अध्यक्ष यादवले अभियानमा नजुटने नेता कार्यकर्ताहरुको पार्टीले त्यही अनुरुप मुल्यांकन गर्ने भन्दै सचेत समेत गराए।

कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष रेणु यादवले मुलुकमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागु नभएसम्म समाजवादको परिकल्पना गर्न नसक्ने बताए। उनले पार्टी भित्र रहेको गुट उपगुटलाई अन्त गर्दै पार्टीको महाअभियान संगठन विस्तार तथा सुदृढि करणमा जुटन निर्देशन दिए।

कार्यक्रममा पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले पार्टीको सम्पूर्ण संगठनलाई टोल टोलसम्म विस्तार गरे मात्र समुन्नत संघीय समाजवादको परिकल्पनालाई साकार गर्न सकिने बताए। संघीयता विरोधीहरु विभिन्न वाहानामा संघीयता समाप्त गर्ने षडयन्त्र गरि रहेको बोल्दै मुख्यमन्त्री राउतले नेता कार्यकर्ताहरुलाई संगठित र अनुशासित हुँदै संघर्षको तयारीमा जुटनु पर्ने बताए।

मधेश प्रदेश समितिका अध्यक्ष विजय कुमार यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका महासचिव राम सहाय यादवले अभियानको उद्देश्य र प्रक्रिया बारे जानकारी गराएका थिए भने उपमहासचिव प्रकाश अधिकारीले विषय प्रवेश गराएका थिए।

कार्यक्रममा प्रदेश नम्बर दुईका भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह लगायत पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरु उपस्थित रहेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ