एनआईसी एशिया बैंकको त्रैमासिक वित्तीय नतिजा उत्साहजनक
प्रकाशित २०७६ माघ ७ मंगलबार
757
Shares
काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडले चालु आव २०७६–७७ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। मंगलबार सार्वजनिक उक्त वित्तीय विवरणका परिसूचकहरु अत्यन्त उत्साहजनक रहेको बैंकले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ। बैंकले चालु आ. व.को दोस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा ३६ प्रतिशत (रु. ७७ करोड) ले वृद्धि गरी रु. २ अर्ब ९० करोड सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको जानकारी दिएको छ।
यसैगरी खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा ३३ प्रतिशत (रु. ५० करोड) को वृद्धि सहित रु. २ अर्ब १ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधीको खुद मुनाफा रु. १ अर्ब ५१ करोड रहेको थियो।
यस आवको दोस्रो त्रैमाससम्ममा कर्जातर्फ रु. १५ अर्बले वृद्धि गरी रु. १६५ अर्ब र निक्षेप संकलनतर्फ रु. ६ अर्बले वृद्धि गरी रु. १८६ अर्ब पुर्याउन सफल भएको बैंकका नायव प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। बैंकले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई न्यून जोखिमका साना तथा मझौला कर्जा र रिटेल कर्जामा विविधिकरण गर्दै आएको छ। बैंकले कुल कर्जा लगानीको हाल ७२ प्रतिशत कर्जा यस्ता क्षेत्रमा गरेको छ।
त्यसैगरी प्राथमिकता क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम २५% कर्जा लगानी पुर्ण रुपले पालना गरेको छ। विविधिकरणकै रणनीति अनुरुप बैंकको उच्चतम दस ग्राहकहरुको कुल कर्जा बैंकको कुल कर्जाको ५ प्रतिशत भन्दा कम रहेको छ, जुन बैंकिङ्ग क्षेत्रको उत्कृष्ट मध्ये पर्ने दाबी पनि गरिएको छ। निक्षेपतर्फ पनि बैंक विविधिरणको रणनीति अनुरुप अघि बढिरहेको छ। बैंकको कल निक्षेप हाल कुल निक्षेपको ९.४ प्रतिशत रहेको छ, जुन बैंकिङ्ग क्षेत्रको उत्कृष्ट मध्ये एक हो।
बैंकले चालु आवको ६ महिनामा ६ अर्बको कल निक्षेप घटाउन सफल भएको छ। यसरी कल निक्षेप घट्दा पनि बैंकको निक्षेप यस अबधीमा ६ अर्बले बढेको छ। निक्षेप तर्फको उत्कृष्ट १० ग्राहकको अंश मात्र ११ प्रतिशत रहेको छ, जुन बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट मानिन्छ। यस बैंकका चल्ती तथा वचत निक्षेप (सीएएसए) हाल बैंकिङ्ग क्षेत्रको उत्कृष्ट मध्ये पर्ने विज्ञप्तिमा जानकारी दिइएको छ।
बैंकको वार्षिक विन्दुगत आधारमा प्रतिशेयर आय २१ प्रतिशतले वृद्धि गरी रु. ४१.६१ तथा स्वपूँजीमा प्रतिफल २४ प्रतिशतले वृद्धि गरी २५.१७ प्रतिशत पुर्याउन सफल भएको छ। प्रथम त्रैमासिकमा स्वपूँजी प्रतिफलमा यो बैंक बैंकिङ्ग क्षेत्रमै उत्कृष्ट रहेको थियो।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४२६ एटिएम, १०३ वटा एक्सटेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो सञ्जाल भएको बैंक हुन सफल भएको छ। २१ लाखभन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेको दावी पनि गरिएको छ।
‘बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि’ मुलनारा सहित सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आ.व.मा करिब रु ३ अर्ब १५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाईसकेको जनाएको छ।
वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेको मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको प्रेस विज्ञप्तिमा जनाइएको छ।