काठमाडौँ । पानामा दस्ताबेजमा दोषी देखाइएपछि विश्वका नेताहरूबाट प्रतिक्रिया आउन थालेको छ । कसैले नेतृत्वबाटै राजिनामा दिए भने धेरैले आफुहरू निर्दोष भएको भन्दै अरोपको खण्डन गरेका छन् । केहीले यस सम्बन्धमा अझै प्रतिक्रिया दिएका छैनन् । पनामा पेपर्स विवादमा मुछिएका विश्वका धनी तथा शक्तिशाली नेता, व्यापारीका फरक फरक धारणा आए । कतिपयले यसलाई आफ्नो छवि विगार्न अमेरिकाले गरेको आफुमाथिको षडयन्त्र भने त कसैले पानामा पेपर्सले गरेको दावीलाई आधारहीन बताए । राजस्व छली गरी अकुत सम्पत्ति आर्जन गरी विदेशी वित्तीय संस्थामा सम्पत्ति थुपारेको भनी केही राष्ट्रले छानबिन प्रक्रियालाई अगाडि बढाउने बताइसकेका छन् ।
पनामा पेपर्स नाम दिइएको एक वैधानिक फर्म मोज्याक फोनसेकाले अज्ञात स्रोतबाट उपलब्ध गराएको भनिएको अनियमित कारोबारसम्बन्धी समाचार जर्मन दैनिक पत्रिका सिदोचे जाइतुनले पाएपछि यसलाई विश्वका करिब १०० भन्दा बढी सञ्चारमाध्यमलाई बाँडिएको थियो । उनीहरूले यसको करिब एक वर्षको अध्ययनपश्चात आफ्नो खोजलाई अप्रिल ३ मा सार्वजनिक गरेका थिए ।
दुई लाख १४ हजार अपतटीय कम्पनीहरूको बारेमा मोजाक फोन्सेका नामक पानामेली सेवा प्रदायक संस्थाद्वारा चुहाइएका सूचनाहरू रहेका पानामा पेपर्स एक करोड १५ लाख भन्दा बढी दस्तावेजको समष्टि रूप हो र यसले विभिन्न कम्पनीका निर्देशक एवम् लगानीकर्ताहरूको बारेमा सूचना सम्लग्न गरेको छ । दस्तावेजले विश्का धनाड्य व्यक्तिहरू सार्वजनिक ओहदाका पदाधिकारी एवम् सरकार प्रमुख लगायत अन्य अधिकारीहरूले आफ्नो सम्पत्तिलाई कसरी सार्वजनिक छानबिन हुनबाट जोगाउने गर्छन् भन्ने कुरा प्रष्ट्याउछ ।
पनामा पेपर्सबाट गोप्य सूत्रबाट सार्वजनिक गरिएको समयमा विभिन्न पाँच राष्ट्र अर्जेन्टिना, आइसल्यान्ड, साउदी अरब, यूक्रेन र संयुक्त अरब इमिरेट्सका तत्कालिन सरकार प्रमुख वा राष्ट्र प्रमुखलगायत अन्य देशका उच्च पदस्थ सरकारी अधिकारीहरूसँग सम्लग्न अफसोर कम्पनीमा रहेको लगानी वा अन्य सम्पत्ति विवरणसँग सम्वद्ध विवरणहरू समावेश गरिएको थियो ।
यस्ता कम्पनीहरूमध्ये आधाभन्दा बढी ब्रिटिस भर्जिन आइल्यान्ड र अन्य केही हङकङमा समेत सञ्चालित छन् । यो विवादमा मुछिएका धनाढ्य तथा शक्तिशाली विश्व नेताहरूको प्रतिक्रिया भने अमेरिकाको प्रायोजित षड्यन्त्र भन्नेदेखि जवाफ नदिई उम्किन खोज्ने खालका भएको पाइयो । विभिन्न देशमा यसबाट उत्पन्न तरङ्गर र त्यसप्रतिको प्रतिक्रियामध्ये केही यहाँ प्रस्तुत गरिएको छ ।
आइसल्यान्ड
प्रतिबेदन सार्वजनिक हुँदा आइसल्यान्डका प्रधानमन्त्री रहेका सिग्मण्डर ड्याभिड गनलगसनको प्रतिक्रिया भने भाग्न खोजेको भान हुने खालको थियो । गनलगसनले आफूलाई निर्दोष बताउँदै आइसल्यान्डको एक टेलिभिजनसँग कुराकानी गर्दै यो अफवाहका कारण मैले प्रधानमन्त्रीको पद त्याग्ने कुरा सोचेको पनि छैन र त्याग्ने पनि छैन भने । यसबारे थप चर्चा गर्दा गनलगसन आफूले अन्तरवार्ता दिइराखेको टेलिभिजन कक्षबाट यस प्रश्नको जवाफ नदिई बाहिरिएका थिए । तरपछि दस्ताबेजले देशव्यापी चर्चा लिन थालेपछि गनलगसनले राजिनामा दिए ।
दस्तावेजले आइसल्याण्डका बैंकहरूमा करोडौं डलरको अपचलित मुद्र्राको कारोबार भएको दावी गरेपछि हजारौं प्रदर्शनकारीहरू संसद भवन बाहिर गई प्रधानमन्त्रीलाई लक्षित गरी अण्डा र केरा समेत प्रहार गरेका थिए । केरा विरोधकर्ताहरूको क्रोध र खासगरी राज्य केरा गणतन्त्र बन्न थालेको भन्ने भावको अभिव्यक्ति थियो । देशव्यापी विरोधका स्वर आउन थालेपछि अन्ततः प्रधानमन्त्री गनलगसनले राजिनामा नै दिए ।गनलगसनको सरकारका अर्थमन्त्री र गृहमन्त्री माथि पनि यस सम्बन्धमा आरोप लागेको छ । हाल गनलगसनको ठाँउमा आइसल्याण्डले नयाँ प्रधानमन्त्री ल्याइसकेको छ ।
रसिया
रसियाली सरकारको प्रतिक्रिया अलिबढी आक्रामक दखियो । राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले पुटिनको भय (पुटिनोफोबिया) का डरले अरबौं डलर प्रायोजित रूपले देखाई तर्साउन खोजेको भन्ने रहेको प्रष्ट रहेको बताए ।
इन्टरनेशनल कन्सर्टियम अफ इन्भस्गिेटिभ जोर्नालिष्ट (आइसीआइजे) ले पुटिनका प्रिय मित्र सर्गेइरोलडगिन करोडौं डलर विभिन्न समुद्रपार कम्पनीबाट ल्याएको उल्लेख गर्दै पुटिन पक्षधर सन्जालको अग्रदस्ताको प्रमुख ब्यक्तिका रूपमा समावेश भएको प्रमाणहरूले देखाएको कुरा उल्लेख गरेको छ ।
पुटिनले भने यो सबै आरोपहरू रसिया र यसका सहयोगीहरू विरूद्धको अमेरिकाद्वारा सञ्चालित नियोजित कुप्रचार रहेको भन्दै उनीहरू आफ्नो सरकारलाई भित्रैदेखि कमजोर, अस्थिर र असह्य बनाउने उद्येश्यसाथ अघि बढिरहेको बताए । क्रेमलिनले रसियाली नेता पुटिनको निकट सहयोगीको नाम समुद्रपारको वित्तीय कारोबार गर्ने शासकको शीर्षस्थानमा राखिनुलाई ‘अमेरिकाको बेइमानी’ भनेको छ । दस्तावेज अनुसार पुटिनले निकट सहयोगीको नाममा दुई अर्ब अमेरिकी डलरको अकुत सम्पत्ति आर्जन गरी विदेशी बैंकमा राखेको आरोप छ ।
चीन
चिनियाँ अधिकारीले भने यससम्बन्धि समाचारलाई आधारहिन भन्दै प्रतिबन्धित गर्ने खालको प्रतिक्रिया दिए । प्रतिवेदन अनुसार चिनियाँ कम्यूनिष्ट पार्टीको शक्तिशाली आठ वर्तमान् तथा भूतपूर्व पोलिटब्यूरो सदस्य वा उनीहरूका नातेदार समेत घोटलामा समावेश भएको उल्लेख गरेका छन् ।
यसमा आर्थिक अनियमितता विरुद्धको अभियानमा लागेर सुधारका लागि कार्यरत नेता सी जिनपिङ र उनका नातेदारको समेत नाम जोडिएर आएपछि के चीनले उनीहरूमाथि कारबाही गर्छ त भन्ने प्रश्नमा चिनियाँ बिदेश मन्त्रालयका प्रवक्ता हङलेइले तत्कालै यस्ता ‘आधारहीन आरोपबारे आफूले कुनै टिप्पणी नगर्ने’ बताए । राज्य सञ्चालित समाचारमाध्यमहरूले भने पानामा दस्ताबेजका सूचनालार्ई निषेध गरे । यद्यपि प्रतिबन्धित गरिएको भन्ने भनाइलाई खण्डन गरे ।
बेलायत
बेलायती प्रधानमन्त्री ड्र्याभिड क्यामरूनको भने पटक पटकको प्रतिक्रिया फरक फरक आएको छ । बेलायती प्रधानमन्त्री ड्याभिड क्यामरुनका पिताको नाम जोडिएर आएपछि क्यामरुनको डाउनिङ स्ट्रिट अफिसले यो निजी कुरा भएको जनाएको थियो । तर सरकारी स्रोतले पछि प्रधानमन्त्रीको व्यक्तिगत खाता कुनै विदेशी बैंकमा नभएको दाबी गर्यो ।
प्रतिपक्ष लेबर पार्टीका नेता जेरमी कर्वाइनले कर छली प्रकरणमा सामेल भएका भनिएका प्रधानमन्त्री क्यामरुन लगायत सबैमाथि छानविन हुनुपर्न भन्दै कडा चुनौती दिए । त्यसपछि साताभर बैदेशिक खाता भएको अस्वीकार गर्दै आएका प्रधानमन्त्री क्यामरूनले गत बिहीबार मात्रै आफ्ना बावुले विगतमा स्थापना गरेको एक ब्यबसायिक संस्था (फर्म) बाट केही नाफा आर्जन गरेको कुरा स्वीकार गरे ।
अघिल्लो बिहीबार आइटिभी न्यूजसँगको कुराकानीमा क्यामरूनले आफू र आफ्नो पत्नी समान्ताले प्रधानमन्त्री हुनुभन्दा पाँच महिना पहिले सन् २०१० को जनवरीतिर (ब्लेयरमोर होल्डिङ) नामक कोषमा ३१ हजार ५०० पाउण्ड बराबरको शेयर विक्रिको रकम राखेको बताए । क्यामरूनका अनुसार सन् १९९० मा उक्त शेयरका लागि १२ हजार पाउण्ड खर्चिनु परेको थियो र सो सबै सम्पत्ति बेलायती कर ब्यवस्था अनुरुप नै चुक्ता गरिएको थियो । आफू कुनै नियोजित अभिप्रायले गलत कार्यमा सम्लग्न रहेको भन्ने आरोप नलागोस् भन्नका लागि उक्त शेयर पहिले नै बिक्रि गरेको बताए ।
यूक्रेन
यूक्रेनका राष्ट्रपति पेट्रो पोरेसेन्कोले भने कानूनी उपाय अपनाएको पाइयो । प्रतिबेदनमा सन् २०१४ मा भएको निर्वाचनताका आफ्ना मतदाताहरूलाई आफूले क्यान्डी ब्यबसाय बिक्रि गर्ने प्रतिवद्धता जनाएका यूक्रेनी राष्ट्रपति पोरोसेन्कोले चुनावपछि भने ब्रिटिस भर्जिन आइल्याण्ड रहेको एक कम्पनीमार्फत रहनेगरी उतै सारेको बताइएको छ ।
राष्ट्रपतिको यो कदमले यूक्रेनले लाखौं डलर बराबरको कर राजश्व गुमाउन पुग्यो भन्दै यूक्रेनमा विरोधका स्वर गुन्जिए । उता पोरोसेन्को भने आफ्ना राजनीतिक अनियमितता एवम् कमजोरीतिर ध्यानदिनुभन्दा बढी कानूनी बचाउमा लागेको पाइएको छ । पोरोसेन्काले गल्ती स्वीकार्नुभन्दा पनि आफूले निर्वाचित भएपछि आफ्नो सम्पत्तिलाई व्यवस्थित गरेर राख्न नसक्नु बाहेक अरु कुनै गल्ती नगरेको भनी बचाउगर्दै आएका छन् । पोरेसेन्कोका विरोधीहरूले यसै बिषयलाई लिएर राष्ट्रपतिले राजिनामा दिनुपर्ने वा पोरेसेन्कोलाई पदच्यूत गर्नुपर्ने माग अघि सार्न थालेका छन् ।
अन्य
डोमिनिकी गणतन्त्रका स्थानीय सञ्चारमाध्यमले पनि उक्त देशका ४८६ कम्पनी र ५७ जना व्यक्तिले अफसोर बैंक तथा कम्पनीमा लगानी गरी आर्थिक अपचलन गरेको जनाएका छन् । आईसीआईजेको सन् २०१५ को अडिट प्रतिवेदन अनुसार मोज्याक फोनसेकाले सन् १९७६ मा बेलायतबाट बिभाजन भै स्वतन्त्र राज्यका रुपमा रहँदै आएको सेचिलिस राज्यमा समावेस भएका १४ हजार ८६ कम्पनीका २०४ लगानीकर्ताको मात्र परिचय खुलेको बताएको छ ।
दस्तावेजले अपतटीय क्षेत्रमा सञ्चालित कम्पनीले अनैतिक काम गरेको जनाए पनि त्यस्ता कम्पनी, विभिन्न देशका नेता, व्यापारी, खेलाडी, तथा उच्च पदस्थ सरकारी अधिकारीले वित्तीय कारोबार र स्वामित्व देखाउन नचाहने गरेको साथै अपतटीय कम्पनी तथा बैंकहरूमा भएको यस्तो रकम कर छलीमा भने प्रयोग गरेको बताएको छ ।
यस बाहेक मोज्याक फोनसेकाबाट चुहिएको सूचना र यसको अनुसन्धानपछि सार्वजनिक भएको प्रतिबेदनले केही खाडी मुलुक, दक्षिण एसियाली मुलुक, यूरोपका पूर्व शासक, राजनीतिज्ञ, उच्च सरकारी अधिकारी, र ब्यापारी लगायतमा पनि तरङ्ग उत्पन्न गरेको छ । आफ्ना कसुर ढाकछोप गर्न र आफुलाई निर्दोष सावित गर्न लागेका खबर विभिन्न सञ्चारमाध्यमा दैनिक आउने गरेका छन् ।
निर्दोषलाइ उन्मुक्ति दिने र दोषीलाई कानूनी कठघरामा नउभ्याउने हो भने यस्ता घटनाले कुनैपनि देशको आर्थिक अनियमितताका घटना थप मौलाउने र भयाबह स्थिति सिर्जना गर्नेछ । यस्ता विषयमा अन्तर्राष्ट्रिय स्तरबाटै ध्यान दिने हो भने यसले विश्वका भ्रष्टहरुलाई तह लगाउन सजिलो हुनेछ । रासस