arrow

सहमतिको सरकार ओलीको नेतृत्वमा बन्न नसके हामी छौ : खनाल

पार्टीभित्र नवौ महाधिवेशनको धङ्धङ्गी अझै सकिएको छैनः खनाल

logo
प्रकाशित २०७३ वैशाख ४ शनिबार
jhalnathkhannal.jpg.jpeg
काठमाडौ । नेकपा एमालेका बरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले भित्र पार्टीको नवौ महाधिवेशनको धङधङ्गी अझै नसकिएको बताएका छन । पार्टी अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवारै पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीभित्र कुनै गुट नरहेको दावी गरेकै दिन रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा खनालले भने, पार्टीको नवौ महाधिवेशनमा दुई गुट बनाएर चुनाव लडेको धङधङ्गी अझै मेटिसकेको छैन । तर अब मेटिनु पर्छ । त्यसो गरेमात्रै एमालेले राष्ट्र र जनताप्रतिको मिसन पुरा गर्न सक्छ । पार्टीभित्रको गुट उपगुट मुर्दाबाद, पार्टी एकता जिन्दाबाद । पार्टीभित्रको गुट उपगुटको विरुद्ध झलनाथ खनाल लड्छ ।’
 
साक्षात्कारमा खनालले पार्टी अध्यक्ष ओलीले आफूमा फर्किफर्कि पदमा दोहोरिने आकांक्षा नभएकोले गुटबन्दी नगर्ने भनि गरेको टिप्पणी प्रति लक्षित गर्दै अध्यक्षले त्यो अरु कसै प्रति भन्दा पनि आफू प्रति नै फर्किएर भनेको बताए । संविधान कार्यान्वयन गर्न राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्ने आवश्यकता औल्याउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बन्न नसके अरु कसैको नेतृत्वमा पनि त्यस्तो सरकार बनाउन सकिने धारणा राखे ।
 
खनालले भने,‘ हामी एकताबद्ध नभई मुलुक अघि बढ्न सक्दैन । २०४६,२०६२–६३ सालको जनआन्दोलन एक जुट भएर मात्रै सफल गर्न सक्यौ । संविधानसभाको निर्वाचन र संविधानसभाबाट संविधान निर्माण पनि प्रमुख दलहरुको एकताबाट नै गरेका हौ । अब संविधान कार्यान्वयन गर्न ३–४ वर्ष लाग्छ त्यसकोलागि पनि दलहरु एकताबद्ध हुन जरुरी छ । त्यसैले सबै पार्टी मिलेर सरकार बनाउनु पर्छ ।’ खनालले दलहरुले संविधान जारी गरेर मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण गरे पनि संविधान कार्यान्वयनको चुनौति कायम रहेको भन्दै यसकोलागि दलहरुवीचको नयाँ संकल्प आवश्यकता रहेकोमा जोड दिए । 
 
खनालले भने,‘ अब नयाँ संविधान अनुसारको नयाँ आर्थिक नीति, सामाजिक र सास्कृतिक पद्धती बसालेर मुलुकलाई समृद्ध बनाउनु छ । आर्थिक जग नहाली लोकतन्त्र समृद्ध हुन सक्दैन । त्यसैले अब सबै एकताबद्ध भएर आर्थिक एजेण्डा बनाएर अघि बढ्नु पर्छ ।’उनले औचित्य पुष्टि नगरेसम्म सात प्रदेशमा कुनै पनि हालतमा तलमाथि नहुने स्पष्ट पार्दै सात प्रदेशमा तलमाथि गर्न राष्ट्रिय जनमतको आवश्यकता रहेको दावी गरे । खनालले भने,‘ सात प्रदेशमा तलमाथि हुँदै तर एकाध ठाँउको कुरा हो भने बार्ताबाट मिलाउन सकिन्छ ।’
 
खनालले मधेसको मुद्दा बार्ता र संबादको टेबलमा बसेर समाधान गर्नु पर्ने भन्दै मधेसवादी दलहरुलाई समस्या समाधानकोलागि बार्तामा आउन आब्हान गरे । उनले भने,‘ एमालेको केन्द्रीय समितिको बैठकले पनि मधेसको मुद्दा समाधानको विषयमा निर्णय गरिसकेको छ । अब बार्तामा आएर समस्याको समाधान खोज्नु पर्छ ।’कार्यक्रममा खनालले रिपोर्टर्स क्लब नेपालले आफ्नो १८ औ बार्षिक उत्सवमा घोषणा गरिएपनि वितरण गर्न बाँकी सम्मान र पुरस्कारहरु प्रदान गरेका थिए ।
 
 यसरी सम्मानित हुनेहरुमा राजधानी दैनिकका प्रवन्ध निर्देशक आषिस शेरचन, राष्ट्रिय समाचार समितिका समाचारदाता नारायण न्यौपाने, सगरमाथा टेलिभिजनका संबाददाता हरि न्यौपाने र राष्ट्रिय पर्यटन पत्रकार संघका अध्यक्ष शिव अधिकारी रहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ