arrow

ममाथि महाभियोग लगाएर विपक्षीहरुले सत्ता हात लिन खोज्दैछन् : राष्ट्रपति रुसेफ

logo
प्रकाशित २०७३ वैशाख ५ आइतबार
dilma-rousseff-impeachment-brazil.jpg.jpeg
ब्रासिलिया(ब्राजिल) । ब्राजिलका राष्ट्रपति दिल्मा रुसेफले आफूमाथि प्रतिपक्षले लगाएको सबै आरोप अधारहीन भएको र आफूमाथि महाभियोग लगाएर आफ्ना विपक्षीहरुले सत्ता हात लिन चाहेको शनिबार बताएकि छन् । आफ्नो सरकारले भ्रष्टाचारीविरुद्धको अभियानलाई अगाडि बढाएपछि उनीहरुमाथि लागेको भ्रष्टाचार आरोपबाट उम्कन आफ्ना आलोचकले महाभियोगको प्रस्ताव ल्याउने तयारी गरेको रुसेफको दाबी छ । 
 
उनीहरु एउटा निर्दोष महिलालाई अपराधी बनाएर देशमा ब्याप्त भ्रष्टाचारलाई थप प्रोत्साहन गर्न चाहेका छन्, ब्राजिलियाली राष्ट्रपति रुसेफले एक दैनिक पत्रिका फोल्हा डे साओ पाउलोको स्तम्भ लेखमा लेखेकि छन् । रुसेफले आफ्नो स्तम्भ लेखमा भनिन्, के अकस्मात सत्ता हत्याउन खोज्नेहरुले भ्रष्टाचारविरद्धको अभियानलाई निरन्तरता दिनेछन् ? तिनीहरुको वैधानिकता कहाँ छ ? 
 
  • रुसेफले आफ्नो सरकारका उपराष्ट्रपति मिसेल टेमर, सभामुख इडवार्डो कुन्हाले आफूमाथि षड्यन्त्र गरेको आफ्नो लेखमा जनाइन् । अठसठ्ठी वर्षीया नेता रुसेफले आफूमाथि लागेको आरोपबारे आफ्ना समर्थकलाई मेन ग्यारिन्चा रङ्गशालामा सम्बोधन गर्ने कार्यक्रमलाई स्थगित गरिन् । रुसेफले सभासदसँगको कुराकानीलाई थप समय दिई आफूमाथि लागेको आरोपबारे खण्डन गर्दै आफ्नो पक्षमा ल्याउन पहल गर्ने कार्यक्रम रहेको पनि बताइएको छ । 
 
ब्राजिलको संसदको तल्लोसभाले राष्ट्रपति दिल्मा रुसेफविरुद्ध आइतबार महाअभियोग प्रस्ताव गर्ने वा अन्य विकल्पबाट वर्तमान समस्यालाई सुल्झाउने भन्ने विषयमा सोको तल्लो सभामा शुक्रबारदेखि बहस सुरु गरेको छ । शुक्रबार तल्लोसभाका सांसदहरूबीचको पहिलो बहसदेखि नै वातावरणले तातो रूप लिएको थियो । अविश्वासको प्रस्ताव पक्षधर सांसदले राष्ट्रपति रुसेफको प्रशासनले वार्षिक वित्तीय अनुशासन भङ्ग गरेको बताएका छन् । उनीहरूले रुसेफ सरकारले सार्वजनिक समर्थन हासिल गर्न र सस्तो लोकप्रिय कार्यहरूलाई प्रश्रय दिएको बताएका छन् । 
 
तर राष्ट्रपति रुसेफ समर्थकहरू भने वर्तमान सरकारले विगत सरकारले थालनी गरेका योजनालाई निरन्तरता दिँदै अघि बढेको बताउँदै राष्ट्रपतिमाथि प्रस्ताव गरिन लागेको महाभियोग अन्यायपूर्ण एवम् पक्षपातपूर्ण भएको दाबी गरेका छन् । ब्राजिलको संसदको तल्लोसभामा उपस्थित ५१३ सांसदमध्ये ३४२ जनाले महाभियोगको पक्षमा मतदान गरे महाभियोग प्रस्तावले सिनेटमा छलफलका लागि प्रवेश पाउने छ ।एएफ्पी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ