काठमाडौ। नेपाल विद्यार्थी संघले आफ्नो ४६ औं जन्मजयन्तीको अवसरमा संगठनको झण्डा, नेपालको राष्ट्रिय झण्डा र संविधानसभाले जारी गरेको नेपालको संविधान विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्याउने भएको छ।
आईतवार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलन गरे पर्सिबाट सगरमाथाको आरोहण सुरु गर्न लागेका झापा, धुलाबारी क्याम्पसका विद्यार्थी अनिष लुईटेलले ति सामग्री सगरमाथाको चुचुरोमा पुर्याउने जानकारी दिईयो।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष रञ्जित कर्णले ति सामग्रीहरु आरोही लुईटेललाई हस्तान्तरण गरेका थिए।
सो अवसरमा उनले नेपालको संविधान संसारकै उत्कृष्ट भएकोले विश्वकै सर्वोच्च शिखरमा पुर्याएर सकारात्मक सन्देश दिन लागिएको भन्दै लुईटेललाई आरोहणको सफलताको सुभकामना दिए।
उनले संविधान जारी भएपछि मुलुक आर्थिक समृद्धिमा जाने विश्वास ब्यक्त गरिए पनि सरकारले कालोबजारीको समानान्तर अर्थतन्त्र चलाएर मुलुकको अर्थतन्त्र ध्वस्त बनाएको आरोप लगाए। उनले् अब राजनीतिक क्रान्तिको युग सकिएकोले यूवा विद्यार्थीहरुको आन्दोलन सडकमा भन्दा पनि आर्थिक समृद्धिको लागि हुनु पर्नेमा जोड दिए।
लुईटेलले अघिल्लो वर्ष भुकम्पको कारण आरोहण गर्न नसकेको उल्लेख गर्दै यस पटक सफल आरोहण गरेर संसारकै उत्कृष्ट संविधानलाई सर्वोच्च स्थानमा पुर्याउने प्रतिबद्धता ब्यक्त गर्दै आफू नेविसंघको कार्यकर्ता पनि भएकोले संगठनको झण्डासमेत लिएर जान लागेको बताए।