काठमाडौं। अबको बढीमा तीन हप्तामा नेपालमा गुड्ने रेल भारतबाट आउने भएको छ। रेलवे विभागका महानिर्देशक बलराम मिश्रले दुइ-तीन हप्ताभित्रै नेपालमा गुड्ने रेल भारतबाट आउन लागेको जानकारी गराएका छन्। उनको अनुसार भारतमा रेल तयार भएको छ। स्थलमार्ग हुँदै नेपालमा रेल आउने मिश्रले जनाए। भारतबाट नेपालले दुइ वटा रेल खरिद गरेको छ। त्यसमध्ये एउटा रेल तत्काल आउन लागेको हो।
पहिलो रेल आएको केही समय पछि दोस्रो रेल आउने भएको हो। ती दुईवटै रेलमा नेपालको झण्डा अकिंत गरिने छ। विभागले ८५ करोडमा दुइ वटा आधुनिक रेल खरिद गर्न भारतको कोन कोन रेलबे कप्रोरेशनसँग सम्झौता गरेको छ।
त्यस मध्ये १७ करोड रुपैयाँ विभागले भुक्तानी गरीसकेको छ। बाँकि रुपैयाँ दुईवटै रेल आए पछि भुक्तानी गर्ने विभागले जनाएको छ। अबको केही दिनभित्रै जयनगर, जनकपुर–कुर्था (धनुषा) मा ३५ किमि दुरीमा रेल सञ्चालन गर्ने विभागले तयारी गरेको छ।
विभागका अनुसार सुरुमा नेपालमा दक्ष कर्मचारी तयार नहुँदासम्म रेल सञ्चालन केही कर्मचारी भारतबाट ल्याइने छन्। नेपालमा दक्ष कर्मचारी तयार भएमा त्यसपछि सबै काम नेपालकै कर्मचारीहरुले गर्ने छन्। सरकारले केही दिन अघि मात्र रेलवे सम्बन्धी विधेयक राष्ट्रिय सभामा ल्याएको छ। उक्त विधेयकमा रेलका चालक, सहचालक तथा अन्य कर्मचारीको योग्यता सम्बन्धी व्यवस्था गरिएको छ।
यसैगरी टिकट नलिएर रेल चढ्ने यात्रुहरुमाथि पनि सजायको व्यवस्था गरिएको छ। अब केही दिनमै जनकपुरमा रेल सञ्चालनमा ल्याउने सबै तयारी पूरा भएको मिश्रले बताए। जनकपुरको रेल गुड्नकोलागि करिब करिब सबै संरचना पूरा भएको उनले जानकारी गराए।
विभागका अनुसार जयनगर, जनकपुर, कुर्था रूटमा सञ्चालन हुने ती रेल डिब्बा भएका आधुनिक स्वरुपका हुनेछन्। जयनगर, जनकपुर–कुर्था रूटमध्ये करिब ३ किमि भारतमा पर्छ भने बाँकि ३२ किमि नेपालतर्फ पर्छ। जयनगर, जनकपुर–कुर्था रूटमा रेल सञ्चालनमा आएको ६ महिना पछि त्यस रूटमा अरू १७ किमि दुरु बढाइने विभागले जनाएको छ।
यसपछि जयनगर, जनकपुरबाट आउने रेल महात्तरीको विजरापूरसम्म पुग्ने छ। यसैगरी त्यसको २ वर्ष पछि जयनगर, जनकपुर, कुर्था बर्दीबासम्म करिब ७० किमि दुरीमा चल्ने सञ्चालनमा आउने मिश्रले जनाए। उक्त रूटमा भारत सरकारको सहयोग हुने मिश्रले जनाए।
भारतबाट खरिद गरिएका ती रेल डिजेलबाट चल्ने छन्। यसअघि नेपालमा डिजेल रेल चलेको थिएन। यसअघि चलेको रेल कोइलाबाट चलेको थियो। विभाग स्रोतका अनुसार विशेष कार्यक्रम गरेर रेल उद्घाटन गरिने तयारी भएको छ। उद्घाटन कार्यक्रममा दुवै देशका विशिष्ट व्यक्तिलाई आमन्त्रित गरिने भएको छ।
भारत र नेपालका सरकार प्रम्खले संयुक्त रुपमा रेलको उद्घाटन गर्ने सम्भावना रहेको स्रोतको भनाइ छ। ‘तर यसको टुंगो भने लागेको छैन।’स्रोतले भन्यो। ‘जनकपुरमा रेल गुड्न अब कुनै समस्या छैन। सबै संचरना तयार भएका छन्’मिश्रले भने।’
विभागका जनकपुर–जयनगर चल्ने रेलमा प्रति रेल करिब एक हजार २ सय मान्छे अटाउने छन्। यसअघि, जनकपुर–जयनगर दुरीमा चल्दै आएको रेल २०७० देखि पूर्ण रूपमा बन्द भएको छ। २०७० यता नेपालका रेलको बारेमा चर्चा धेर भयो तर काम भने केही भएन्।
आर्थिक वर्ष २०७५-७६कोलागि नेपालमा रेल चलाउन सरकारले ७ अर्ब ७० करोड रुपैयाँ छुट्टयाएको छ। चालु आर्थिक वर्षमा मात्र करिब ४ अर्ब रुपैयाँ रेल चलाउन सरकारले सकारले छुट्टयाएको छ। सरकारले २०७० देखि नै हरेक वर्ष रेलकोलागि वजेट छुट्टयाउदै आएको छ।
जनकपुर–जयनगर रुट बाहेक भारतको वथहना–जोगवनी, विराटनगर रूट (करिब ८ किमि दुरी) मा रेल गुडाउने तयारी पूरा भएको विभागले जनाएको छ। उक्त तयारी यात्रु ओसार्नकोलागि भन्दा मालसामान ओसार्ने प्रयोजनकोलागि हुने विभागले जनाएको छ।
विभागले सरकारले पूर्व पश्चिम (मेची–महाकाली) ९ सय ४५ किमि (लिकं सहित १ हजार ४७) किमि दुरीमा रेल सञ्चालन गर्ने योजना बनाएको छ। सो रूट अन्तर्गत जयनगर, जनकपुर बर्दिवास रूट पर्छ। विभागका अनुसार मेची महालकाली रेल सञ्चालन गर्न कुनै अवरोध नभई लगायतार काम भए कम्तीमा १० वर्ष लाग्छ। त्यसकोलागि ८ खर्ब रुपैयाँ खर्च हुने अनुमान विभागको छ।
विभागका अनुसार १ किमि रेल चलाउन करिब ९० करोड रुपैयाँ खर्च हुन्छ। यसमा जग्गा अधिग्रहणको लागि दिइने मुआब्जमा समेत जोडिने गर्छ। विभागले २० वर्ष भित्र नेपालको ३ हजार किमि दुरीमा रेल गुडाउने योजना बनाएको छ। यसकोलागि करिब ३० खर्ब रुपैयाँ खर्च हुने विभागको अनुमान छ।