arrow

तीन वर्षमा ४५ हजार युवा स्वरोजगार बन्ने

जनता आवास कार्यक्रमः विपन्न समुदाय प्राथमिकतामा

logo
मोहन पौडेल,
प्रकाशित २०७६ माघ १८ शनिबार

परासी। पश्चिम नवलपरासीको प्रदेशसभा निर्वाचन क्षेत्र नं २ (१) का अति विपन्न ३८ परिवारले निःशुल्क आवास पाउने भएका छन्। आर्थिकरूपले अति विपन्न समुदायलाई जनता आवास कार्यक्रमअन्तर्गत प्रदेश नं ५ सरकारले अनुदानमा घर बनाइदिन लागेको हो। प्रदेश सरकारले सुनवल नगरपालिका–२ र १३ मा १०-१०, सरावल गाउँपालिका–१ मा आठ तथा २ मा १० घर बनाउने प्रदेशसभा सदस्य भगवती भण्डारीले जानकारी दिए। यो निर्वाचन क्षेत्र प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीको हो।

सुनवल–१३ का फागु मुसहरको घर शिलान्यास गरी आवास निर्माण शुरु गरिएको छ। घर शिलान्यास गर्दै प्रदेशसभा सदस्य भण्डारीले आर्थिकरूपले विपन्न तथा लोपोन्मुख समुदायका नागरिकलाई आवास निर्माण गर्न शुरु गरिएको बताइन्।

उनले भने, “यी समुदायको संरक्षण, उत्थान, सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खाद्यान्न र सामाजिक सुरक्षामा विशेष अवसर तथा लाभ पाउने हक हुने व्यवस्था भएकाले दलित, विपन्न, मुसलमानका लागि सालबसालीरूपमा नेपाल सरकारले बजेट वक्तत्वमार्फत सम्बोधन गरी लोपोन्मुख अति सीमान्तकृत जाति तथा समुदायका विपन्न वर्गलाई आवासको व्यवस्था गर्न लागिएको हो।”

नेपाल सरकारले विगतमा सञ्चालन गरेको जनता आवास कार्यक्रमलाई प्रदेश सरकारले कार्यान्वयनमा ल्याएको हो। प्रतिघरका लागि रु तीन लाख ३६ हजार प्रदेश सरकारले उपलब्ध गराएको छ भने १० प्रतिशत सम्बन्धित व्यक्तिको लागत सहभागिता रहने शहरी विकास तथा भवन कार्यालय भैरहवाले जनाएको छ।

उपभोक्ता समितिमार्फत निर्माण हुने घर भूकम्परहित र शौचालयसहितको मापदण्डमा निर्माण गरिनेछ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष भवीश्वर तिवारी आजादले वर्तमान सरकारले श्रमजीवी, घरविहीन तथा भूमिहीन नागरिकलाई प्राथमिकतामा राखेर उनीहरुको पक्षमा काम गर्दै आएको बताए । सरकारले आफ्नो लागि घर बनाइदिन थालेको भन्दै सुनवल–१३ का फागु मुसहरले खुशी व्यक्त गरे।
 

तीन वर्षमा ४५ हजार युवा स्वरोजगार बन्ने
प्रदेश नं ५ सरकारले तीन वर्षभित्रमा ४५ हजार युवालाई स्वरोजगार बनाउने भएको छ। प्रदेश सरकारले शुरु गरेको युवा स्वरोजगार कार्यक्रममार्फत ४५ हजार युवालाई रोजगार बनाउन लागिएको हो। जुन क्षेत्रमा युवा रोजगार बन्न चाहन्छन् सोही क्षेत्रमा दक्ष बनाउने गरी प्रदेश सरकारले सीपमूलक तालीम प्रदान गर्ने प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा डा ईश्वर गौतमले जानकारी दिए। “युवाहरु जुन क्षेत्रमा प्रवेश गरी रोजगारको सुनिश्चित गर्छन्, त्यही क्षेत्रमा दक्ष बनाउने गरी सरकारले तालीम दिन्छ”, उनले भने।

पश्चिम नवलपरासीस्थित सुनवल जेसिजको आठौँ पद हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले प्रदेश सरकारले आगामी वैशाखमा गर्न लागेको लगानी सम्मेलनमा प्रस्तुत गरिने परियोजना पनि युवा परिचालनमा लक्षित रहने बताए। लगानी सम्मेलनमा विभिन्न क्षेत्रका ३० परियोजनामा लगानीका लागि सरकारले आह्वान गर्ने उनले जानकारी दिए।

उपाध्यक्ष गौतमले कृषि, उद्योग र पर्यटनमा उद्यम गर्न आह्वान पनि गरे। उनले भने, “प्रदेश सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राखेर नीति बजेट तथा कार्यक्रम सञ्चालन गरिरहेको छ, गरीबी निवारण गर्दै समृद्ध प्रदेश खुशी जनताको नारालाई सार्थक बनाउन युवाकै जिम्मेवारी छ ।”

प्रदेश नं ५ को तिलौराकोटदेखि रामग्रामसम्मका नौ नगरपालिकालाई जोड्ने गरी एकीकृत शहरी विकास परियोजना सञ्चालन गर्न लागिएको समेत उनले जानकारी दिए। रामग्राम नगरपालिकाकी उपप्रमुख रम्भा कुँवरले रामग्राम स्तूपसहित जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न युवालाई आह्वान गरे। नेपाल जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष अनुपमान सैँजुले नवलपरासी, रुपन्देहीलगायतमा रहेका जेसिजहरु मिलेर समाज र राष्ट्रलाई योगदान पुग्ने ठोस कार्य गर्न आग्रह गरे।

समारोहमा सुनवल जेसिज वर्ष २०१९ की अध्यक्ष ममता पौडेलले वर्ष २०२० का लागि निर्वाचित अध्यक्ष उत्सव पौडेललाई जेसिज चेन हस्तान्तरण गरी पदस्थापना गरेका थिए। जेसिजको विधानअनुसार एक व्यक्ति, एक पद र एक वर्षको मात्र कार्यकाल रहने गर्दछ। जेसिजमा १८ वर्षदेखि ४० वर्षभित्रका युवा संलग्न हुन पाउँछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ