६ दशमलब ६ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा थपियो
प्रकाशित २०७६ माघ १८ शनिबार
446
Shares
काठमाडौं। निजी क्षेत्रको लगानीमा लमजुङमा निर्माण भएको रुदीखोला–बी जलविद्युत आयोजनाले शनिबारदेखि विद्युत उत्पादन सुरु गरेको छ। ६ दशमलब ६ मेगावाट क्षमताको आयोजनाको विद्युतगृह लमजुङको क्वहोलाछार गाउँपालिका–५ सिन्दीमा छ। सो आयोजना बिन्दवासिनी हाइड्रो पावर कम्पनीले निर्माण गरेको हो।
आयोजनाबाट उत्पादित बिजुली मिजुरेडाँडा शवस्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो। १५ दिनसम्म परीक्षण प्रसारणका रुपमा विद्युत उत्पादन हुनेछ। सो अवधिभर सरकारले बिजुलीको रकम तिर्नुपर्दैन। परीक्षण प्रसारणको अवधि सकिएपछि व्यवसायिक उत्पादन सुरु हुने बिन्दवासिनी हाइड्रो पावर कम्पनीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए।
निर्माण सुरु भएको करिब दुई वर्षमै उत्पादन सुरु भएको उक्त आयोजनामा प्रतिमेगावाट १८ करोड खर्च भएको कम्पनीका सचिव जनार्दन अर्यालले बताए। बिन्दवासिनीले निर्माण गरेको ८.८ मेगावाटको रुदीखोला–ए जलविद्युत आयोजनाले गत वर्षको चैतदेखि व्यवसायिक उत्पादन गर्दै आएको छ। ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत आयोजनामा पनि बिन्दवासिनी समूहले लगानी गरेको छ।