arrow

देउवाको पारिवारीक भारत भ्रमणमा सर्वत्र चासो

logo
प्रकाशित २०७३ वैशाख ५ आइतबार
shre-bahadur-deuba-hamrakura.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा सोमबार भारत जाँदै छन् । पत्नी आरजु राणाको देउवाको उपचारका लागि देउवा भारत जान लागेका हुन् । आरजुको ८ गते वुधबार कम्बरको हड्डीको शल्यक्रिया हुने बताइएको छ ।  देउवाको यो विशुद्ध पारिवारीक भ्रमण भएपनि बाहिर राजनीतिक भेटघाट हुने चर्चा भइरहेको छ । देउवाले राजनीतिक भेटघाट गर्न सक्ने तर, कुन तहका नेतालाई भेट्ने भन्ने यकिन नभएको स्रोतले जनाएको छ । कांग्रेस नेताहरुले तत्काल सरकारको हतारो नभएको बताउँदै आएका छन् ।
 
कांग्रेसले राष्ट्रिय सहमतिको सरकारमा नजाने जनाउ दिएकाले देउवाको भारत प्रस्थानलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कतिपयले देउवाले उपचारकै अवसरमा नयाँ सरकारको वातावरण निर्माण गर्ने चर्चा गरिरहेका छन् । यद्यपि, देउवा निकट कांग्रेस केन्द्रीय सदस्य पूर्ण बहादुर खड्काले कुनै राजनीतिक भेटघाट नरहेको बताए । उनले भने, ‘मलाई चैं लाग्दैन उहाँले कुनै राजनीतिक भेटघाट गर्नु हुन्छ, अस्पतालमै कोही भेट्न आए भने त्यो बेग्लै कुरा हो ।’ भेटकै लागि भनेर उहाँले केही तयारी गर्नु भए जस्तो मलाई लाग्दैन । खड्काले देउवाको विशुद्ध पारिवारीक  भ्रमण हो भनेका छन् । 
 
उता, सरकार परिवर्तनकै चर्चाका बीचमा एमाले स्थायी किमिटी सदस्य शंकर पोखरेलले बाह्य भ्रमणले सरकार परिवर्तनमा अर्थ नराख्ने बताएका छन् । उनले हाम्राकुरासंग भने, ‘सरकार परिवर्तनको विषयमा कुनै पनि संसदीय पार्टीको आन्तरिक शक्ति संरचना कस्तो छ भन्ने महत्वपूर्ण हुन्छ, बाह्य आशिर्वादले हुने कुरै हुँदैन ।’ यद्यपि, एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्नो सरकार गठन अघि विशेष दूत भारत पठाएकोबारे भने उनले खासै प्रतिक्रिया दिएनन् । तत्कालिन समयमा एमाले अध्यक्ष ओलीले विशेष दूतका रुपमा सचिव प्रदीप ज्ञवाली र विदेश विभाग सदस्य एवं भारत डेस्क प्रमुख युवराज बास्कोटालाई भारत पठाएका थिए । 
 
पोखरेलले राष्ट्रवादी धारणा राख्दै भारतको आशिर्वादले सरकार गठन नहुने र आन्तरिक मामिला सम्हाल्न हामी आफै सक्षम छौं भन्ने आधार तयार भइसकेको छ –भने । उनले संविधान निर्माण भएको विषय झिक्दै नेपालमा अब कोही कसैको आशिर्वाद नलाग्ने बताए । बाहिरबाट कोही कसैले केही गरिदिएर केही नहुने नेता पोखरेलको धारणा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ