भारतका लागि एस–४०० प्रतिरक्षा प्रणाली निर्माण शुरु : रुसी मन्त्री
एएनआई,
प्रकाशित २०७६ माघ २१ मंगलबार
630
Shares
मस्को। रसियाका उद्योग तथा बाणिज्य मन्त्री डेनिस मान्टुरोभले भारतका लागि अत्याधुनिक प्रविधिको एस–४०० प्रतिरक्षा प्रणाली निर्माण गर्न थालिएको जानकारी दिए। उनले रसिया र भारतबीच सम्पन्न सम्झौता अनुरुप अल्माज–आन्टे कम्पनीले उक्त उपकरणको उत्पादन शुरु गरेको र तोकिएकै मितिमा भारतलाई हस्तान्तरण गरिने बताए।
भारतले पाँच वटा एस–४०० प्रतिरक्षा प्रणालीका लागि रसियासँग ५ अर्ब ४३ करोड अमेरिकी डलरको सम्झौता गरेको थियो। मन्त्री मान्टुरोभले एस–४०० का लागि तालिम केन्द्र भारतमा निर्माण गर्न थालिएको पनि जानकारी दिए। रसियाले निर्माण गरेको यस अत्याधुनिक प्रतिरक्षा उपकरणलाई लिएर अमेरिकाले विशेष चासो दिने गरेको छ। टर्कीले यस्तै उपकरण खरिद गरेको भन्दै टर्की विरुद्ध अमेरिकाले सैनिक सहयोग र सहकार्य रोक्ने वा कटौती गर्ने चेतावनी दिइसकेको छ।