काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाभियोगबाट सफाइ पाएका छन् । अमेरिकालाई तिक्ततापूर्ण ढङ्गबाट विभाजित गर्नेगरी सुरु भएको महाभियोग प्रक्रियाबाट ट्रम्पले सफाइ पाएका हुन्।
तल्लो सिनेटमा महाभियोग पारित भए पनि ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत रहेको माथिल्लो सदन सिनेटमा बुधवार भएको मतदानमार्फत् उनले राष्ट्रपति पदबाट हट्न नपर्ने गरी उन्मुक्ति पाएका हुन् ।
डेमोक्र्याटहरूको बहुमत रहेको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले भने गत १८ डिसेम्बरमा महाभियोग पारित गरेको थियो ।
शक्तिको दुरूपयोग गरिएको भन्ने अभियोगमा ट्रम्पको पक्षमा ५२९४८ मत परेको थियो । अमेरिकी संसद् कंग्रेसलाई अवरुद्ध तुल्याएको अभियोगमा उनले आफ्नो पक्षमा ५३९४७ मत पाएका थिए ।
विपक्षी डेमोक्र्याटहरूले डिसेम्बर महिनामा आफ्ना सम्भावित राष्ट्रपति पदका उम्मेद्वारलाई बदनाम गर्ने उद्देश्यले युक्रेनलाई दबाब दिएको भन्दै उनीमाथि अभियोग लगाएका थिए ।
रिपब्लिकन बहुमत रहेको माथिल्लो सदनमा महाभियोग पारित हुन दुई तिहाइ मत आवश्यक पर्थ्यो ।
संसद्को तल्लो सदनकी डेमोक्र्याटिक सभामुख न्यान्सी पेलोसीले भने ट्रम्प ‘अझै अमेरिकी प्रजातन्त्रको लागि खतरा रहेको’ भन्दै सिनेटका रिपब्लिकनहरूले ‘कानुनहिनतालाई सामान्यीकरण’ गरेको प्रतिक्रिया दिएकी छन्।
महाभियोगको सामना गरेर पुनः राष्ट्रपतिको उम्मेदवार हुने पहिलो व्यक्ति
अब ट्रम्प आउँदो नोभेम्बर महिनामा ट्रम्प महाभियोग सामना गरेर चुनावमा जाने पहिलो राष्ट्रपति हुनेछन् ।
अमेरिकामा यसअघि दुई जना राष्ट्रपतिले महाभियोगको सामना गरेका थिए ।
सन् १८६८ मा राष्ट्रपति एन्ड्रिउ जनसन र सन् १९९८ मा बिल क्लिन्टन तर ती दुवैजनालाई सिनेटले दोषमुक्त गरिदिएको थियो ।