arrow

महान्यायाधिवक्ता फुयाँलले लिए सपथ

logo
प्रकाशित २०७३ वैशाख ६ सोमबार
Hari-Phuyal.jpg.jpeg
काठमाडौँ। कायममुकायम प्रधानन्यायाधीश सुशीला कार्कीले नवनियुक्त महान्यायाधिवक्ता हरि फुयाँललाई आज पद तथा गोपनीयताको सपथ गराएकी छन् । 
 
राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कामु प्रधानन्यायाधीश कार्कीले फुयाँललाई सपथ गराइन् । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेल, नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसी लगायत कानुन व्यवसायीको सहभागिता थियो । 
 
सरकारको कानुनी सल्लाहकारका रूपमा रहने महान्यायाधिवक्तालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । आइतबार प्रधानमन्त्री ओलीले फुयाँललाई महान्यायाधिवक्तामा नियुक्तिका लागि सिफारिस गरेपछि राष्ट्रपतिबाट नियुक्त भएका थिए । 
 
यसअघिका महान्यायाधिवक्ता हरिकृष्ण कार्कीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएपछि उक्त पद रिक्त थियो । फौजदारी न्याय प्रणाली र मानवाधिकार कानुनमा विशेषज्ञता हासिल गर्नुभएका फुयाँल २५ वर्षदेखि कानुन व्यवसायीका रूपमा क्रियाशील छन् ।  फुयाँलसँग संयुक्त राष्ट्र सङ्घमा काम गरेको अनुभव समेत छ । मोरङको राजघाट गाविसमा विसं २०२७ मा जन्मिएका फुयाँलले मोरङकै जनसेवा माविबाट प्रवेशिका उत्तीर्ण गरेका थिए । 
 
उनले धरानको महेन्द्र क्याम्पसबाट आइएल, नेपाल ल क्याम्पस, काठमाडौँबाट बिएल तथा भारतको नेसनल ल स्कुल, बैङ्लोर र बेलायतबाट एलएलएम गरेका हुन् । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ