नेपाल इकोनोमिक्स ओलम्पीयडको राष्ट्रिय प्रतिस्पर्धा शुक्रवारदेखि शुरु
प्रकाशित २०७६ माघ २८ मंगलबार
771
Shares
काठमाडौं। नेपाल इकोनोमिक्स ओलम्पीयड (एनईओ) २०२० को राष्ट्रिय प्रतिस्पर्धा शुक्रवारदेखि शुरु हुने भएको छ। युवा अर्थशास्त्रीहरुको संस्था योङ इकोनोमिष्ट सोसाईटी नेपालले आयोजना गरेको यस प्रतिस्पर्धाले अर्थशास्त्र, वित्त र व्यवासयमा प्रतिभाशाली विद्यार्थीको खोजि गर्ने छ। उत्कृष्ट पाँच प्रतिस्पर्धी विद्यार्थीले काजकिस्तानमा हुने आगामी जुलाईमा हुने ‘इन्टरनेश्नल इकोनोमिक्स ओलम्पीयड (आईईओ) २०२०’का लागि नेपालको प्रतिनिधित्व गर्न पाउने छन्।
इन्टरनेश्नल इकोनोमिक्स ओलम्पीयड २०१९मा दीपशिखा श्रेष्ठले नेपालका लागि कांश्य पदक जितेकी थिईन्। सन् २०२० को इन्टरनेशनल ओलप्मीयडमा स्वर्ण पदक जित्ने लक्ष्य सहित योङ इकोनोमिष्ट सोसाईटी नेपालले ‘नेपाल ओलम्पीयड २०२०’ आयोजना गरिरहेको सोसाईटीका अध्यक्ष अभिषेक पाण्डेले बताए।
नेपाल इकोनोमिक्स ओलम्पीयड २०२० का लागि क्षेत्रीय छनौट कार्यक्रम काठमाडौं, इटहरी, वीरगञ्ज, भारतपुर, बुटवल र पोखरामा आयोजना गरिएको थियो। गत १ फेब्रअरीमा आयोजित प्रतिस्पर्धामा २ सय ५० जना सहभागी रहेका थिए। क्षेत्रीय छनौटकै अवसरमा करीब ६ सय विद्यार्थीहरुको सहभागीतामा वित्तीय साक्षरता कार्यक्रम समेत गरिएको थियो। राष्ट्रिय प्रतिस्पर्धाका लागि ६० जना विद्यार्थी छनौट भएको उनले जानकारी दिए।
यूलेन्स स्कुल काठमाडौंमा हुने तीन दिने राष्ट्रिय छनौट प्रतिस्पर्धाकै क्रममा तालिम, मन्त्वय, अनुभव साटासाट, अन्तरक्रियालगायत कार्यक्रम समेत गरिने छ। उत्कृष्ट ५ जना विद्यार्थीहरुले नेपालको प्रतिनिधित्व गर्दै इन्टरनेश्नल इकोनोमिक्स ओलम्पीयड २०२० मा सहभागी हुन पाउने छन्। आगामी जुन २१ देखि ३० सम्म काजकिस्तानको नुर सुल्तानमा इन्टरनेश्नल इकोनोमिक्स ओलम्पीयड २०२० आयोजना हुने तय भएको छ।
योङ इकोनोमिष्ट सोसाईटीले वार्षिकरुपमा नेपाल इकोनोमिक्स ओलम्पीयड कार्यक्रम गर्दै आएको छ। इन्टरनेश्नल इकोनोमिक्स ओलम्पीयड (आईईओ)ले नियुक्ती गरेको संस्था योङ इकोनोमिष्ट सोसाईटी नेपाल हो। यस वर्षको कार्यक्रमलाई आईएमईपे, युलेन्स स्कुल, एक्साईड ब्याट्री, सानिमा बैंक, टुर्किस एयरलाईन्स, किङ्ग्स कलेज, हिमालयन सोलुसन, नेपाल दूरसञ्चार प्राधिकरण, सेजनलगायत संस्थाले सहयोग गरेका छन्।