arrow

नेपाल राजपत्र अब वेबसाइटमा राखिने

logo
प्रकाशित २०७३ वैशाख ७ मंगलबार
काठमाडौँ । विसं २००८ देखि २०७० सम्म प्रकाशित नेपाल राजपत्रलाई अब वेबसाइटमा पनि हेर्न सकिने भएको छ । www.gop. gov.np बाट आफूलाई जानकारी लिन चाहेको जुनसुकै नेपाल राजपत्रलाई हेर्न सकिन्छ । विसं २००८ साउन २३ गतेदेखि २०७० को अन्त्यसम्मका लागि एक लाख २० हजार राजपत्रलाई विभागले अभिलेखीकरण गरिसकेको छ । 
 
मुद्रण विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले वेवसाइटको उद्घाटन गर्दै सम्पूर्ण सरकारी कार्यालयलाई कागजबिना नै काम गराउने सरकारको ‘पेपरलेस’ अवधारणालाई उक्त वेबसाइटले थप मद्दत पुर्‍याउनु बताए । ‘अब नेपालमा नै राहदानी, नागरिकता छपाइको काम मुद्रण विभाग मार्फत गर्नुपर्छ’, मन्त्री राईले भने –‘स्वदेशमा नै सुरक्षित मुद्रण गर्न आगामी दिनमा विभागलाई साधन स्रोतसम्पन्न बनाउनेतर्फ नेपाल सरकार अग्रसर छ ।’ 
 
 
मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले विगतमा राजपत्र खोज्न र टिपोट गर्न लाग्ने अनावश्यक समयलाई अब राष्ट्र निर्माणमा लगाउन सबैलाई आग्रह गरे । प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले सरकारले कस्तो काम गरिरहेको छ भन्ने जानकारीलाई पारदर्शी र जवाफदेही रुपमा सार्वजनिक गर्ने अवधारणास्वरुप नेपाल राजपत्रको प्रकाशन हुन थालेको बताउँदै अब विभागलाई आफ्ना कर्मचारीको कार्यक्षमता अभिवृद्धिका लागि थप पहल गर्न सुझाए । 
 
राष्ट्रिय योजना आयोगका सचिव सुरेशमान श्रेष्ठले आयोगले आफ्ना नीति, योजना तथा कार्यक्रमलाई वेबसाइट मार्फत जनतासामु पुर्‍याइरहेको बताउँदै १४ औँ योजनाको अभिलेखीकरण गर्ने क्रममा रहेको जानकारी दिए । विभागका महानिर्देशक शङ्कर अर्यालले नेपालको ऐन, नियमबारे सर्वसाधारणलाई सहज तरिकाले जानकारी गराउने उद्देश्यले विसं २००८ मा नेपाल गजेटको नामबाट सुरु भई २०२३ सालदेखि नेपाल राजपत्र भएर प्रकाशन भएको जानकारी दिए । 
 
उनले नागरिकलाई ऐन, नियमको दायरामा ल्याउन तथा विभिन्न प्रकारका महत्वपूर्ण सरकारी निर्णयलाई वैधानिकता दिन समेत नेपाल राजपत्र महत्वपूर्ण रहेको बताए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ