दमकदेखि दक्षिणी इलाम र पाँचथर जोड्ने सडक शिलान्यास
प्रकाशित २०७६ फागुन ४ आइतबार
620
Shares
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले दमक–चिसापानी–रवि कालोपत्र सडकको आइतबार यहाँ शिलान्यास गरेका छन् । दमकदेखि दक्षिणी इलाम र पाँचथर जोडिएको सो मार्गमा बन्ने कालोपत्र सडकको उनले शिलान्यास गरेका हुन्।
विसं २०४७ देखि शुरु भएको ४७ किलोमिटर लामो निर्माणाधीन सो सडकको तीन खण्ड कालोपत्रको काम अघि बढेको छ । सडक डिभिजन कार्यालय दमकका प्रमुख श्यामकुमार यादवका अनुसार पहिलो चरणमा ६.२९ किमी कालोपत्र रु २२ करोड ५९ लाख ६४ हजार ६२७ लागतमा बन्नेछ ।
महालक्ष्मी र किराँतेश्वर जेभीसँग गत २०७५ असार २९ मा सम्झौता भएको सो खण्ड आगामी २०७७ पुस २८ गते पूर्णरुपमा कालोपत्र हुने प्रमुख यादवले बताए।
यस्तै १५.२६ किमी दोस्रो खण्डको रु ५४ करोड ४४ लाख ८७ हजार ६३९ को लागतमा लुम्बिनी र गणपति जेभीले र ११.३० किमी तेस्रो खण्डको सडकको रु ५९ करोड १५ लाख ३५ हजार ८३४ लागतमा बन्ने जनाइएको छ ।