छोरीको बीमा गराउनेलाई तीन महिना निःशुल्क इन्टरनेट सेवा
रासस,
प्रकाशित २०७६ फागुन १० शनिबार
925
Shares
लहान। प्रदेश नं २ सरकारले उच्च प्राथमिकताकासाथ सञ्चालन ल्याएको ‘छोरी शिक्षा बीमा कार्यक्रम’अन्तर्गत बीमा गराउने छोरीका अभिभावकलाई ती महिना निःशुल्क इन्टरनेट सेवा वितरण कार्य सिरहामा शुरु गरिएको छ।
‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत २०७५ माघ १ गतेपछि जन्मिएका छोरीको बीमा गराउने कार्य प्रदेशका आठवटै जिल्लाका स्थानीय तहमा बीमा शिविर जारी रहेको छ। त्यस्ता अभिभावलाई इन्टरनेट सेवा प्रदायक संस्था सुविसु केबल नेट प्रालिले तीन महिनाको निःशुल्क इन्टरनेट सेवा प्रदान गर्न थालेको छ।
प्रदेश नं २ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सो कम्पनीबीच भएको सम्झौताअनुसार छोरी शिक्षा बीमा गराउने छोरीका अभिभावकलाई तीन महिनासम्म निःशुल्क इन्टरनेट सेवा प्रदान गर्न थालेको कम्पनीका लहान शाखा प्रबन्धक निर्देशक सञ्जीव पाठकले जानकारी दिए।
सिरहाको सुखीपुर नगरपालिका–१० निवासी रागनीकुमारी मण्डलका अभिभावकलाई पहिलो इन्टरनेट जडान गरी सेवा शुरु गरिएको उहाँले जानकारी दिए। सिरहामा दुई हजार ५०० भन्दा बढी छोरीको बीमा गरिएको जनाइएको छ।