arrow

मन्त्रीहरुलाई प्रचण्डको कडा निर्देशन, ‘जनताले देख्ने खालको बजेट बनाउनुस्’

logo
प्रकाशित २०७३ वैशाख ८ बुधबार
prachanda-again.jpg.jpeg
काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आगामी बजेटमा समावेश गर्ने कार्यक्रम र जनतालाई प्रभाव पार्ने खालका विकास निर्माण कार्यको खाका दुई दिनभित्र पार्टीलाई बुझाउन मन्त्रीहरुलाई निर्देशन दिएका छन् । पार्टीबाट सरकारमा सहभागि मन्त्री तथा पार्टीको राजनीतिक नियुक्तिमा परेका विभिन्न निकायका पदाधिकारीहरुबीको छलफलमा अध्यक्ष दाहालले यस्तो निर्देशन दिएका हुन् । 
 
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको छलफलमा दाहालले आगामी बजेटमा समावेश हुने कार्यक्रम र जनतालाई प्रत्यक्ष प्रभाव पार्ने खालका विकास निर्माण योजनाहरु ल्याउने बारे कुराकानी भएको दाहाल पुत्र प्रकाशले जानकारी दिए । उनले भने, ‘यो छलफलले आगामी बजेटबारे पार्टीको तर्फबाट सरकारमा सहभागि तथा अन्य निकायमा नियुक्त भएकाहरुलाई दुरदर्शी बन्न आग्रह गरेको छ ।’ पछिल्लो समय पुनःनिर्माणको कार्यलाई समेत ध्यान दिनु पर्ने भएकाले नागरिकलाई प्रत्यक्ष रुपमा लाभ हुने कार्यक्रमहरु ल्याउने बारे छलफल भएको छ ।
 
दाहालले बैठकमा संविधानमा उल्लेख समाजवाद उन्मुख नीति अनुरुप जनताले राहतको महसुस गर्ने कार्यक्रम बजेटमा समावेश गर्न मन्त्रीहरुलाई निर्देशन दिए । बैठकमा सरकारले ६ महिना सम्म गरेको सुस्त कार्यबाट आम नागरिक सन्तुष्ट नभएको भन्दै दाहालले सबैले देख्ने खालका काम गर्न र सोही अनुरुप बजेटको तयारी गर्न भनेका छन् । 
 
एमाओवादीको भागमा गृह, शिक्षा, उर्जा, सिंचाई, आपूर्तिसहित महत्वपूर्ण आठ वटा मन्त्रालय परेका छन् । दाहालले यसअघि, मंगलबार मात्रै कर्मचारीको आधिकारीक ट्रेड युनियनको निर्वाचन सार्न मन्त्रिपरिषद्मा प्रस्ताव लान निर्देश गरेका थिए । सोही अनुरुप अब कर्मचारीको निर्वाचन जेठ १९ गतेका लागि तय भएको छ । 



नयाँ