उर्लाबारी। चर्चित गायक डम्बर नेपाली र गायक निसान भट्टराईलाई गृह नगरमा सम्मान गरिएको छ। महाशिवरात्रिको अवसरमा फागुन ९ गते ‘बृहत साँगीतिक साँझ’ आयोजना गरी यु युथ्स अफ उर्लाबारीले गायकद्धय नेपाली र भट्टराईलाई सम्मान गरिएको हो। उनीहरुलाई उल्लेख्य दर्शकदीर्घा र अतिथीका माझ कार्यक्रमका प्रमुख अतिथी उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले सम्मान पत्र सहित सम्मान गरे।
‘उर्लाबारीलाई साँगीतिक उर्भरभुमीको रुपमा देशविदेशमै चिनाउन सफल डम्बर र निशानलाई बिशेष सम्मान गरिएको हो, कार्यक्रम संयोजक किशोर श्रेष्ठले बताए। कार्यक्रममा डम्बर र निसानले आफ्ना नयाँ तथा पुराना चर्चित गीत गाएर दर्शकदिर्घालाई मनोरञ्जन दिलाएका थिए। डम्बरले शिवरात्रि साझलाई अझ रंगीन बनाईदिएका थिए। उनले ‘मेरो जिवनबाट जाने भए जाँउ, कि यो जंगे रेलमा’, मेरो सुईटर फाटेको चर्चित गीत गाएर दर्शक दिर्घालाई नचाएका थिए।
यस्तै गायक निसान भट्टराईले ओई भुन्टी,दैब हे, भिजिट भिसामा गाएर आफ्ना बुवा आमा सहित दर्शक दिर्घालाई नचाएर मनोरञ्जन दिलाए। निसानले पूर्व मिस नेपाल निकिता चाण्डक अभिनित फिल्म साङ्लोको गीत झ्याम्मै आँखा झ्याम्मै गीत गाएर नायिका निकिता स्वयलाई नचाउदा कार्यक्रमको माहौल झनै तातेको थियो। कार्यक्रमका प्रमुख अतिथी मेयर फागोले क्लवको प्रशंशा गर्दै समाजलाई टेवा पुग्ने रचनात्मक काम गर्न हौषला प्रदान गरे। क्लवका अध्यक्ष प्रेमराज शर्माले क्लवको कार्यक्रमलाई भब्य र शब्य रुपमा सम्पन्न गर्न अतुलनिय सहयोग गर्नुहुने सबैलाई धन्यवाद प्रदान गरे।