arrow

प्रधानमन्त्रीले भने, ‘असन्तुष्टका कुरा सुन्न संवाद’

logo
प्रकाशित २०७३ वैशाख ८ बुधबार
kp-ili.jpg.jpeg
पोखरा । पोखरा विश्वविद्यालयको १३ औँ दीक्षान्त समारोहबाट विभिन्न तह र विषयका चार हजार ४९३ जना विद्यार्थी आज दीक्षित भएका छन् । विश्वविद्यालयले आज एक समारोहकाबीच राष्ट्रकवि माधवप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा विद्यार्थीलाई विभिन्न तहको उपाधि प्रदान गरेको हो । दीक्षान्त समारोहबाट १२ औँ दीक्षान्त समारोहपश्चात २०७२ चैत मसान्तसम्म ‘ट्रान्सक्रिप्ट’ लिएका विद्यार्थीलाई आज विश्वविद्यलायले दीक्षित गरेको हो । 
 
समारोहमा प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले समयसापेक्ष गुणस्तरीय शिक्षा वर्तमानको आवश्यकता भएको बताउँदै राष्ट्रिय समृद्धि र विकासका लागि शिक्षाको विकास अपरिहार्य भएको बताउनुभयो । शिक्षा भ्रष्टाचाररहित, अनुशासित र मर्यादित हुनुपर्नेमा जोड दिँदै उहाँले दीक्षित विद्यार्थीले समाज र राष्ट्रका लागि योगदान गर्नुपर्ने बताउनुभयो । समाजका प्रत्येक वर्ग र समूदायका व्यक्तिले सहज रुपमा शिक्षा प्राप्त गर्न पाउनु पर्नेमा जोड दिँदै उहाँले शिक्षा नै देश विकासको प्रमुख आधार भएको उल्लेख गर्नु भयो । 
 
पोखरा विश्वविद्यालयले अघि सारेका रणनीतिक योजना र लक्ष्यलाई नयाँ परिस्थितिमा अझ बढी परिष्कृत र व्यवहारिक तुल्याउनेतर्फ सरकारले सहयोग गर्ने उहाँले बताउनुभयो । देश विभिन्न सङ्घर्षका चरण पार गरी अनुकूलतामा आएको उल्लेख गर्दै प्रधानमन्त्रीले बाँकी असन्तुष्टि पनि संवादका माध्यमबाट समाधान गरिने छ भन्नु भयो । 
 
राष्ट्रकवि घिमिरेले विश्वविद्यालय विस्तारसँगै दक्ष जनशक्ति उत्पादन भइरहे पनि देशमा रहेको अपार प्राकृतिक स्रोतको उपयोग हुन नसकेको बताउनुभयो । आध्यात्मिकता र भौतिकता दुवैको सन्तुलित विकासका माध्यमबाट समग्र मानव जातिको विकास हुने बताउँदै उहाँले नेपालको समृद्धिका लागि विद्यमान जल, वन सम्पदा आदिको संरक्षणका साथै पर्यटन र जलविद्युत् जस्ता सम्भावनाको विकास गरिनुपर्ने बताउनुभयो । 
 
शिक्षामन्त्री एवम् विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले विश्वविद्यालयले समयसापेक्ष अनुसन्धानात्मक शिक्षामा जोड दिँदै नियमित शैक्षिक पात्रोको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । व्यवहारिक र जीवनोपयोगी शिक्षा वर्तमानको आवश्यकता भएकोमा जोड दिँदै उहाँले विश्वविद्यालयले प्रविधियुक्त र सीपमूलक शिक्षाका माध्यमबाट राष्ट्रको समृद्धि र विकासका लागि योगदान गर्नुपर्ने बताउनुभयो । 
 
विश्वविद्यालयका उपकुलपति प्रा चिरञ्जीवीप्रसाद शर्माले विश्वविद्यालयलाई शैक्षिक एवम् स्वस्थ र विकसित पर्यटनको विकास र प्रवद्र्धन गर्ने कार्यमा एक नेतृत्वदायी भूमिका खेल्ने शैक्षिक संस्थाका रुपमा विकास गर्ने सोच राखिएको बताउनुभयो । उहाँले विश्वविद्यालयले व्यवसायमूलक कार्यक्रमको विस्तार, पाठ्यक्रमको स्तरीय रुपमा परिमार्जन, आङ्गिक तथा सम्बन्धन प्राप्त महाविद्यालयलाई सबल तुल्याउने, परीक्षा प्रणालीमा सुधार जस्ता कार्य उच्च प्राथमिकताका साथ अघि बढाइरहेको बताउनुभयो । 
 
समारोहमा कम्प्युटर एप्लीकेसन स्नातक तहमा सबैभन्दा उत्कृष्ट अङ्क ल्याउने महेश श्रेष्ठलाई ‘ओकेम स्वर्ण पदक’ व्यवस्थापन प्रशासन स्नातकोत्तर तहमा सर्वोत्कृष्ट भावना पराजुलीलाई लक्ष्मी ‘विद्या पदक’, स्नातक तहमा सर्वोत्कृष्ट अनमोल पाण्डेलाई ‘उपकुलपति’ पदक र स्नातकोत्तर तहमा सर्वोत्कृष्ट अरुणिमा श्रेष्ठलाई ‘कुलपति’ पदकबाट सम्मान गरिएको थियो । साथै विभिन्न सङ्कायमा उत्कृष्ट अङक ल्याएर डीन लिष्टमा पर्न सफल विद्यार्थीलाई पनि प्रधानमन्त्री र शिक्षामन्त्रीले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ