arrow

मानव बेचबिखनमा संलग्न पाँच पक्राउ

logo
प्रकाशित २०७३ वैशाख ९ बिहिबार
Chitwan-hamrakura.jpg.jpeg
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले मानव बेचबिखनमा संलग्न रहेको आरोपमा विभिन्न मितिमा पाँचजनालाई पक्राउ गरेको छ । छुट्टाछुट्टै घटनामा संलग्न रहेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुको बुधबार विज्ञप्तिमार्फत प्रहरीले सार्वजनिक गरेको छ । 
 
जिल्लाको काउले गाविस वडा नं ६ भोटेगाउँ बस्ने १२ वर्षीया नाबालिकालाई विवाह गरे राम्रो हुन्छ भनी ललाइफकाइ भारत पु¥याउन प्रयास गर्ने काउले गाविस वडा नं ६ बस्ने ३७ वर्षीय शेरबहादुर चेपाङ र उनकी श्रीमती ३१ वर्षीया विष्णुमाया श्रेष्ठ चेपाङलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले ती बालिकालाई झुक्याएर गोरखा बुङ्कोट घर भएका युवकको जिम्मा लगाई पठाएको र ती युवकले बेचबिखनका लागि भारततर्फ लैजाँदै गर्दा चैत २० गते कञ्चनपुरबाट नेपाल प्रहरी र माइती नेपालको संयुक्त टोलीले ती बालिकालाई उद्दार गरी घर फर्काइदिएको प्रहरीले जनाएको छ । 
 
सोही आधारमा उनीहरुलाई प्रहरीले घरबाटै पक्राउ गरेको थियो । उनीहरुको अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । यसैगरी प्रहरीले जिल्लाको माडी नगरपालिका वडा नं ८ बस्ने १६ वर्षीया किसोरीलाई भारत लगी बेचबिखन गर्न खोज्ने सोही गाविस वडा नं ३ बस्ने २८ वर्षीय गोविन्द महतो, २४ वर्षीय बुद्धि भुजेल र २३ वर्षीय शनि पङ्गेनीलाई पक्राउ गरेको छ । उनीहरुले गत चैत २९ गते साँझ घरबाट लगी बेहोस हुने औषधि मिसाएको फ्रुटी तथा चाउचाउ खान दिई बेहोस बनाई भारतको मगोई भन्ने स्थान पुर्‍याएका थिए ।
 
ती बालिकालाई वैशाख २ गते अभिभावकले सो स्थानबाट उद्दार गरेका थिए । उनीहरुविरुद्ध किटानी जाहेरी परेपछि प्रहरीले अभियुक्तलाई खोजतलास गरी तीनैजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ