काठमाडौं । भारतीय सुरक्षा सल्लाहकार अजित डोभाल मैदानमा उत्रिएपछि नयाँ दिल्लीको अवस्था समान्य हुदै गएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनपछि तनावपूर्ण नयाँ दिल्लीमा सुरक्षा सल्लाहकार डोभाल उत्रिएका थिए । सुरक्षा सल्लाहकार डोभाललाई दिल्लीको हिंसालाई लिएर मोदीले जतिसक्दो चाँडो अवस्थालाई सामान्य बनाउन निर्देशन दिएका थिए । बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीले शान्तिको आह्वान गरेका थिए।
निर्देशनपछि बुधबार राति डोभालले हिंसा भड्किएका क्षेत्रको स्थलगत भ्रमण गरी मुस्लिम समुदाय, स्थानीय नेता र प्रहरी अधिकारीसँग कुराकानी गरेका थिए । गत आइतबार उत्तरपूर्वी दिल्लीमा संशोधित नागरिकता कानूनको पक्ष र विपक्षमा रहेका खासगरी हिन्दू र मुस्लिम समुदायका व्यक्तिबीच हिंसात्मक झडप शुरु भएको थियो ।
नागरिकतासम्बन्धी संशोधित नयाँ व्यवस्थाको पक्ष र विपक्षमा भएको प्रदर्शनका क्रममा ३२ जनाको मृत्यु भइसकेको र २०० भन्दा बढी घाइते भइसकेकाले अवस्थालाई सामान्य बनाउन डोभालले मुख्य भूमिका खेलेका हुन् । अवस्था सम्हालिएसँगै राष्ट्रिय सुरक्षा सल्लाहकार डोभाल र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले हिंसाग्रस्त क्षेत्रको भ्रमण गरेका छन् ।
भारतको संविधानको अनुच्छेद ३७०, जम्मू–कश्मीर राज्यको स्वायत्तता हटाउदा भड्किएको हिंसालाई समेत अजीत डोभालले सम्हालेका थिए । सो निर्णय लिनु अघि मोदी आवासमा मोदी र तत्काली भारतीय जनता पार्टीका अध्यक्ष एवं गृहमन्त्री अमित शाह तथा अजित डोभालबीच छलफल भएको थियो ।
मोदी सरकारले सन् २०१९ को डिसेम्बर ११ मा नयाँ नागरिकता कानून राज्यसभाबाट पारित गराएसँगै यसको पक्ष र विपक्षमा भारतीय जनमत बाँडिएको छ । नयाँ नागरिकता कानूनले खासगरी भारतीय मुस्लिम समुदायलाई चिढ्याएको छ । नयाँ कानूनअनुसार धार्मिक आस्थाका आधारमा बङ्गलादेश, अफगानिस्तान र पाकिस्तानमा पीडित भइरहेका हिन्दू, सिख, बौद्धमार्गी, जैन, पारसी र इसाई सम्प्रदायका व्यक्तिलाई भारतमा नागरिकता दिइने व्यवस्था गरिएको छ ।