arrow

मुख्यमन्त्रीले पत्रकारलाई भने - 'राम्रोलाई राम्रो भन्न सक्नुहुन्न भने चुप लाग्नुस्'

logo
प्रकाशित २०७६ फागुन १५ बिहिबार
shankar-pokhrel-1.jpg.jpeg

 बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले सचेत र बौद्धिक तप्कामा नेपाल राज्यलाई आफ्नो ठान्ने चिन्तनको आवश्यकता रहेको बताएका छन्। बुटवलबाट प्रकाशित ‘दैनिक लुम्बिनी’को ३२औँ वार्षिकोत्सव समारोलाई बिहिबार सम्बोधन गर्दै उनले सचेत बौद्धिक तप्काले जहिलेसम्म राज्यलाई आफ्नो ठान्दैन बलियो राज्य बनाउनसमेत नसकिने स्पष्ट पारे ।

उनले अधिकांश नेपाली सञ्चारमाध्यममा समाचारको स्तर बढ्न नसकेको बताए । उनले आम सञ्चारमाध्यम सूचना दिनुभन्दा पहिले नै निष्कर्ष पस्कन हतार हुने सूचना सङ्कलनमा ढिलाइ वा बेवास्ता गर्ने नेपाली सञ्चार क्षेत्रमा समस्या रहेको समेत औँल्याए । उनले भने,  “आमसञ्चारले दृष्टिकोण बनाउने होइन, जनतामा दृष्टिकोण बनाउन सूचना सामग्री दिएर निष्कर्ष निकाल्न दिने हुनुपर्छ ।”  

मुख्यमन्त्री पोखरेलले नेपाली सञ्चारमाध्यमले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न नसकेको बताए । उनले भने, “तपाईंहरुले नराम्रोलाई नराम्रो नै भन्नुस् तर राम्रोलाई राम्रो भन्न सक्नुहुन्न भने चुप लाग्नुस् ।” उनले बितेका सात महिनाको अवधिमा देशको आयात घटेको र निर्यात बढ्दो अवस्थामा देखिएको बताउँदै यो नेपाली अर्थतन्त्रमा सकारात्मक सुधारको सङ्केत रहेको उल्लेख गरे ।

उनले राजश्वका हिसाबले समेत आयातमा आधारित राजश्व घट्दो अवस्था र आन्तरिक राजश्व वृद्धि बढ्दो देखिनुले अर्थतन्त्र सकारात्मक मान्नुपर्ने बताए । मुख्यमन्त्री पोखरेलले प्रदेश नं ५ मा सरकारले आयात प्रतिस्थापन गर्ने योजनासहित औद्योगिक विकासको सम्भावनाका ढोका खुलेको बताए । उनले प्रदेशका तीन स्थानमा एक÷एक नयाँ औद्योगिक क्षेत्र स्थापना गर्ने तयारीमा सरकार रहेको बताए ।

पर्यटनका माध्यमबाट आर्थिक समृद्धि प्रदेश सरकारको लक्ष्य रहे पनि यहाँ आउने पर्यटकबाट अर्थतन्त्रको भूमिकामा कमजोर रहेको सरकारको विश्लेषण रहेकाले पर्यटनको विकासमा प्रदेश सरकार सक्रिय रहेको बताए । पर्यटकलाई भुलाउने र रमाउने वातावरणका लागि पर्यटन पूर्वाधारको आवश्यकता औँल्याउँदै मुख्यमन्त्री पोखरेलले पहिले हामी हाम्रो देश घुम्यौँ भने मात्रै बाह्य पर्यटक आउने बताए ।

उनले लुम्बिनी क्षेत्र बाहिरको विकासमा प्रदेश सरकारले चासो दिएर गुरुयोजना बारेमा छलफल गर्न खोज्दा केही राजनीतिक नेतृत्वमा बसेकाले सर्वसाधारणलाई भड्काउने गरेकाले त्यस्ता स्वार्थी तत्वविरुद्ध बहस चलाउन आवश्यक रहेको बताए । दैनिक लुम्बिनीका अध्यक्ष मोहन चापागाईंको अध्यक्षता भएको कार्यक्रममा राष्ट्रियसभा सदस्य गोपाल भट्टराईले मुलुकले लिएको समृद्धिको यात्रामा सञ्चार जगत्को महत्वपूर्ण सहकार्य आवश्यक हुने बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य रमा अर्याल, तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरी चौधरी, पत्रकार डिआर घिमिरे र अर्जुन ज्ञवाली, नेपाल पत्रकार महासङ्घ प्रदेश नं ५ का उपाध्यक्ष भरत केसीलगायतले आआफ्ना भनाइ राखेका थिए । कार्यक्रमका अवसरमा दैनिक लुम्बिनीका पूर्वसम्पादक, व्यावसायिक संस्थालगायतलाई सम्मान गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ