arrow

'घरमा न सम्पत्ति रह्यो न श्रीमती'

logo
प्रकाश धौलाकोटी,
प्रकाशित २०७३ वैशाख ९ बिहिबार
Terhathum-hamrakura.jpg.jpeg
तेह्रथुम। तेह्रथुमको हमरजुङ–२ बस्ने ३५ वर्षे दोर्णबहादुर भुजेल बाह्र वर्षअघि घरको अवस्था सुधार गर्न श्रीमतीलाई घर र छोराहरुको जिम्मा लगाएर रोजगारीका लागि साउदी अरब गएका थिए। बिदेशमा काम गर्दा कमाई पनि राम्रै भयो। 
 
अलिअलि भएको ऋण तिरेपछि केही कमाउने र शहरतिरै घर बनाएर सुखको जीवन बिताउने सपना देखाउँदै यो अवधिमा दोर्ण तीन पटकसम्म घर आउँदैजाँदै गर्थे। तर पाँच महिनाको छुट्टी लिएर गत महिना घर फर्केका उनको साथमा अहिले न त घर बनाउन जम्मा गरेको सम्पत्ति छ, न त श्रीमती नै।
 
भएको सबै पैसा, गरगहना र घडेरीसमेत बेचेर श्रीमती मञ्जुला भुजेल अर्कै युवासँग भागेपछि विदेशी भूमिमा दुःख गरेर आफुले कमाएको सम्पत्ति फिर्ता गराउन दोर्ण कानुनी बाटोमा लागेका छन्। 
 
बुधबार जिल्ला अदालत परिसरमा मुद्धा दर्ता गरिसकेपछि दोर्णले भने–यतिञ्जेल कमाएको सम्पत्तिको त के कुरा ? सँगै बाँच्ने, सँगै मर्ने कसम खाएर १८ वर्षअघि लगन गाँठोमा बाँधिएकी श्रीमती मञ्जुलाले छोडेर जालिन् भन्ने कहिल्यै सोचेको पनि थिइनँ।’ आँखाभरि आँसु पार्दै भुजेलले भने– अब श्रीमतीले छाडेपनि आफुले पसिनासँग साँटेको रुपैयाँ पैसा फिर्ता गराईदिन भनेर अदालतमा मुद्धा दर्ता गरेको छु। 
 
दोर्णकी श्रीमती मञ्जुला गत चैत्र २५ गते हमरजुङकै शुक्रबारे बजारमा लाग्ने हटियामा तरकारी किन्न भनेर घरबाट निस्केकी थिइन्। बजार गएकी मञ्जुलाले ऋण दिएको सुन उठाउनु पर्नेभयो, आज घर आउँदिनँ भनेर घरमा खबर गरिन्। र त्यसपछि उनी घर फर्किएकी छैनन्। ‘उनको भोलि कहिले आउने हो मलाई थाहा छैन’, दोर्णबहादुरले दुःखी हुँदै भने– मलाई भाग्यले ठग्यो, परिवारकै सुख–शान्तिका लागि त म विदेश गएको थिएँ।’
 
आफुले यत्तिका वर्षसम्म विश्वास गरेकी श्रीमती मञ्जुलाले आफुलाई सहजै झुक्याएर घरमा भएको १५ तोला सुन, महँगा ७ वटा मोवाइल फोनहरु र नगद कम्तिमा ५० लाख रुपैयाँ लिएर हिडेकी दोर्णले बताए। 
 
उनले खोजतलास गर्दा शशस्त्र प्रहरीमा कार्यरत सिन्धुलीको कमलामाई नगरपालिका–८ बस्ने दीपक भुजेलसँग मञ्जुलाको लामो समयदेखि साँढगाँठ रहेको उसैसँग भागेको पत्तो लागेको बताए। 
 
दोर्णले उही दिपक भुजेल र मञ्जुला भुजेल विरुद्ध आफुले कमाएर पठाएको नगद ५० लाख रुपैयाँ, १५ तोला सुन, ७ वटा मोबाईल र मोरङ बिराटचोकको घडेरी समेत गरी ६१ लाख ५० हजार रुपैयाँको बिगो कायम गरी अदालतमा मुद्धा दर्ता गरेका छन्। मैले कति पैसा पठाएँ, मलाई नै यकिन छैन, दोर्णले भने–वर्षौदेखि पठाएको रुपैयाँ पैसा बैँकमा छ भन्थी, होला भनेर विश्वास गरेँ। तर अहिले बुझ्दा कुनै बैँकमा एकाउन्ट नै खोलिएको रहेनछ। श्रीमती मञ्जुलाले आफुले कमाएर पठाएको रकम सिधैँ दिपकलाई पठाउने गरेको खुलेको उनले बताए। 
 
दुई छोराकी आमा मञ्जुला श्रीमान् विदेशमा हुँदा सिन्धुलीका दिपकसँग फेसबुकबाट जोडिएकी थिइन्। फेसबुकपछि फोन र भेटसमेत गरिसकेका उनीहरुबीच आऊजाऊ समेत चलेको रहेछ, दोर्णले भने–मेरा घरैमा आएर बसी खाई गरेर गएको रहेछ। श्रीमतीसँगको सम्बन्धमा यत्तिका वर्षसम्म कुनै उत्तारचढाव नआएको र अत्यन्तै राम्रो सम्बन्ध भएकाले आफुले अविश्वासको कुनै शंकासम्म नलागेको दोर्ण स्वीकाछन्। 
 
मञ्जुला हराएको केही दिनपछि एसएसली दिँदै गरेका जेठो छोरालाई मञ्जुलाले फोन गरी आफूले दीपक अंकलसँग विवाह गरेर भागेको बताएकी थिइन्। परिवारको सुख तथा दुई छोराको भविष्यका लागि रोजगारीमा साउदी पुगेको भएपनि अहिले दोर्णको स्थिति १२ वर्ष अगाडिकै छ।
 
सम्पतिको नाममा उनीसँग गाउँको एउटा घर मात्र बाँकी छ। यत्तिन्जेल कमाएको सम्पत्तिमध्ये अहिले मसँग एक पैसा छैन, दोर्णले भने–जाने बेला श्रीमतीलाई छाडेको घर, गरिबी र दुई छोराको अन्योल भविष्यमात्र मसँग बाँकी रहेको छ। आफुलाई अन्याय भएको भन्दै उनेले न्याय गरिदिन आग्रह गरेका छन्।
 
विदेशमा श्रीमान् भएकाहरु सम्बन्ध तोडेर दोस्रो विवाह गर्नेहरुको संख्या जिल्लामा बढ्दै गएको प्रमुख जिल्ला अधिकारी मुरारी प्रसाद वस्तीले बताए। जिल्लामा यस्ता घटेका बढेका बढ्यै छन्, उनले भने– महिनामा कम्तिमा ४–५ जना विदेशबाट फर्किएका युवा श्रीमती र सम्पत्ति फर्काइदिन माग गर्दै आउने गरेका छन्। 
 
दोर्णकी श्रीमती मञ्जुलाले गाउँका समुह, संघसंस्थाबाट पाउने जत्ति ऋण लिएकी र धेरै जनाबाट पैसासमेत सापटी र ऋणमा लिएर भागेकी हमरजुङका भीमबहादुर थापाले बताए। 
 
गाउँमा धेरैबाट पैसा लिएकी छिन् थापाले भने– बुढो विदेश भएकाले उनलाई पैसाको अब्बर हुँदैनँथ्यो, अब्बर पर्दा सहयोग गरौँ भन्ने हेतुले सबैले पैसा दिए तर अब अहिले ऊ नै भागेपछि सबैको रुपैयाँ पैसा डुबेको छ। गाउँ भरि गरी १५–२० लाख रुपैयाँ उनले लिएको थापाले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ