arrow

जागे म्याग्दीका पत्रकार : सुरु भो कालीगण्डकी–म्याग्दी नदी सरसफाइ बृहत अभियान

विश्वमा शालीग्राम पाइने एक मात्र नदीको रुपमा परिचित कालीगण्डकीमा फोहोर थुप्रियाे

logo
निर्मल खत्री,
प्रकाशित २०७३ वैशाख ९ बिहिबार
Was-1.jpg.jpeg
म्याग्दी । म्याग्दी सदरमुकाम बेनी बजारलाई बीचमा पारेर वग्ने धार्मिक र साँस्कृतिक एवं ऐतिहासिक महत्वका कालीगण्डकी र म्याग्दी नदीमा भएको फोहोर सफा गर्न म्याग्दीमा क्रियाशिल पत्रकारहरुको समूह वास पत्रकार मञ्चले बृहत सरसफाई अभियान सुरु गरेको छ । नदीका तटीय क्षेत्रमा जनघनत्व बढेसँगै नदीमा दिनानुदिन फोहोर बढ्न थालेपछि जिल्ला स्थित विभिन्न सरोकारवाला निकायको सहयोगमा खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) पत्रकार मञ्च नेपाल म्याग्दीको अग्रसरतामा विहिबारदेखि सरसफाइ अभियान सञ्चालन भएको हो ।  
 
विहिबार म्याग्दीको बसपार्क कालिपुलस्थित कालिगण्डकीमा अभियानको औपचारीक सुभारम्भ भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केसवराज आचार्य लगायत कार्यालय प्रमुख, राजनीतिकर्मी, सुरक्षाकर्मी, कर्मचारी, सञ्चारकर्मी, उद्योगी व्यवसायी, टोल सुधार समिति र विभिन्न गैर सरकारी तथा सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, विद्यार्थी, स्थानीय विभिन्न क्लव र आमा समूहका प्रतिनिधि लगायत स्थानीयको उल्लेख्य सहभागिता रहयो ।  
 
त्यस्तै, उक्त अभियानमा चर्चित हाँस्य कलाकार मनोज गजुरेल, गायिका मीलन अमात्य, जानकी बोहोरा, सुरेन्द्र केसी लगायतले समेत सहभागिता जनाएका थिए । टोलीले अभियानको पहिलो दिन बेनी स्थित डल्ले पिपल देखि कालिपुलको मोटरेवल पुलसम्म कालिगण्डकी र बजारको सरसफाई गरेकोे र यसको उचित व्यवस्थापन र नदी पूर्ण रुपले सरसफाई नभए सम्म यो अभियान संञ्चालन गरिने वास पत्रकार मञ्च म्याग्दीका अध्यक्ष ठाकुर प्रसाद आचार्यले बताए । पवित्र नदीहरुको फोहोर व्यवस्थापन र प्रदुषण नियन्त्रणका लागि कालीगण्डकी र म्याग्दी नदीमा सुरु गरिएको सरसफाइ अभियान हरेक हप्ताको विहिबार नियमित रुपमा सञ्चालन हुनेछ । 
 
सरसफाई अभियानको पहिलो दिन ठूलो जनसहभागिता रहेकाले अयिभानप्रति आफु उत्साही बनेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिंदै नदीलाई सफा बनाउने प्रयासमा सबै लाग्न पर्ने प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले बताए । सरसफाइका क्रममा धेरे वर्षदेखि नदिकिनारमा फोहोर फालेको भेटिएको र हरेक हप्ता सञ्चालन हुने अभियानले जथाभावि फोहोर फाल्नेहरुलाई समेत सचेत गराउने स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलको भनाई छ ।
 
कालिगण्डकी र म्याग्दी नदीको किनारलाई सफा राख्नको लागि सरसफाइ अभियानको साथै बेनी नगरपालिकासंगको सहकार्यमा सूचनामूलक बोर्ड स्थापना गर्ने, छापा, रेडियो, अनलाइन र टेलिभिजनलगायतका सञ्चारमाध्यममा सरसफाइ सम्बन्धि कार्यक्रम र सूचना प्रशारण, विभिन्न स्थानमा अन्तरक्रिया कार्यक्रम गरिएको अभियानका संयोजक गोपाल छन्त्यालले जानकारी दिए ।  
 
हिन्दु धर्मअनुसार धार्मिक महत्व बोकेको र विश्वमा शालीग्राम पाइने एक मात्र नदीको रुपमा परिचित कालीगण्डकी नदीमा पछिल्लो समय फोहोर थुप्रिएको अवस्थामा सरसफाइ अयिभान सञ्चालन भएपछि सरोकारवाला समेत उत्साही बनेका छन् । दुर्लभ शालिग्राम पाइने विश्वमै एक मात्र नदी कालिगण्डकीमा फोहोर फाल्नु गलत भएको र फोहोरलाई व्यवस्थित तरिकाले व्यवस्थापन र विर्सजन गर्नुपर्छ भन्ने सन्देश प्रवाहको लागि समेत सरसफाई अभियान प्रभावकारी हुने बेनी नगरपालिकाका कार्यकारी अधिकृत छविलाल सुवेदीले बताए । 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ