arrow

अवैध गर्भधारणबाट सुत्केरी भएकी किशोरी अस्पतालमा अलपत्र

logo
प्रकाशित २०७३ वैशाख १० शुक्रबार
lady-with-children.jpg.jpeg
बैतडी । मानसिक सन्तुलन गुमेका बेला भएको अवैध गर्भधारणबाट सुत्केरी भएकी बैतडीकी एक किशोरी अलपत्र परेकी छन् । विशालपुर गाविसकी १७ वर्षीया ती किशोरीले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा गत चैत २५ गते छोरी जन्माएकी थिइन् । उनका आफन्त नहुँदा अलपत्र परेकी हुन् । उनी अहिले जिल्ला अस्पतालमा बस्दै आएकी छन् । ती किशोरीका परिवार र आफन्त छैनन् । गत असारमा मानसिक सन्तुलन गुमाएका बेला उनले अवैध गर्भ बोकेकी थिइन् । 
 
मानसिक उपचारपछि स्वस्थ भएकी उनी गर्भवती रहेको खुलेको थियो । यसअघि उनी मेलौलीको एक होटल छेउको छाप्रोमा बस्दै आएकी थिइन् । आफन्तको सहारा नभएको पीडाले मानसिक सन्तुलन बिग्रिएपछि विगतका कुरा उनलाई थाहा छैन । अवैध गर्भ बोकेपछि सामाजिक तिरस्कारमा परेकी किशोरी विचलित अवस्थामा छिन् । उनलाई सहारा दिने आफन्त कोही नहुँदा उनको बिचल्ली भएको हो । अवैध गर्भ बोकेपछि पेट बढ्न थाल्दा स्थानीय महिलाले उनलाई स्वास्थ्य संस्था लगेका थिए । मानसिक रुपमा विचलित उनी स्वास्थ्य संस्था जान नमानेको स्थानीयवासी अञ्जु नायकले बताउछिन् । 
 
पेटको गर्भ कति महिनाको हो उनलाई नै थाहा थिएन । मानसिक अवस्थामा सुधारसँगै उनी झन विचलित छिन् । मेलौलीमा रहँदा कोठाबाट बाहिर निस्कन लजाउने गरेको नायकले बताइन् । बुबाको मृत्युपछि आमाले उनको पालनपोषण गरिन् आमाको मृत्युपछि बाजेले हेरचाह गरे, केही वर्षअघि बाजेको मृत्युपछि उनी बेसाहारा बनेकी हुन् । विगत ढाई वर्षयता मेलौली सडकखण्डमा उनी मानसिक सन्तुलन गुमाएर भौँतारिएर हिँड्ने गरेको स्थानीयवासीले बताए । गाउँमा बस्न सक्ने अवस्था नभएपछि उनी गाउँदेखि तीन घन्टा टाढा मेलौलीमा तीन महिनादेखि बस्दै आएकी थिइन् । 
 
उनलाई स्थानीयवासी श्याम नेगीले बस्ने व्यवस्था गरेका थिए । सुत्केरीपछि बस्न र खानको समस्याले तीन दिन प्राथमिक स्वास्थ्य केन्द्रमा राखेर जिल्ला अस्पताल बैतडी पठाएको प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख विनोद भट्टले बताए । उनले भने – “हुर्कंदै गएको बच्चा र आफ्नो स्वास्थ्यका लागि चाहिने सन्तुलित आहाराको आवश्यकता छ ।” न त उनी काम गरेर खान सक्ने अवस्थामा छिन् न त मागेर गुजारा चलाउन सक्ने अवस्थामा छिन् । 
 
सानैमा आमाको मृत्यु भएपछि एक छिमेकी आफन्तले उनलाई पालेका थिए । ती आफन्त तराईतिर बसाइँ सरेपछि उनी एक्ली भएकी थिइन् । उनलाई अस्पतालले खाने बस्ने व्यवस्था मिलाएको छ । अस्पतालमा धेरै दिन राख्न सक्ने अवस्था नहँदा उनको बिचल्ली हुने अवस्था भएको जिल्ला स्वास्थ्य प्रमुख गुणराज अवस्थीले बताए । एक दुई महिनासम्म आमा र बच्चालाई राख्न सकिन्छ । उनले भने – “त्यसपछि उनलाई महिला सुरक्षा गृहमा पठाउन महिला बालबालिका कार्यालय र स्थानीय प्रशासनमार्फत पहल भइरहेको छ ।” रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ