उत्तरपूर्वी दिल्लीका ९८ प्रतिशत विद्यार्थी परीक्षामा सहभागी
एएनआई,
प्रकाशित २०७६ फागुन २३ शुक्रबार
604
Shares
नयाँ दिल्ली। माध्यमिक शिक्षा केन्द्रीय समिति (सीबीएसई) को शुक्रबार सञ्चालन भएको परीक्षामा हिंसा प्रभावित उत्तर–पूर्वी नयाँ दिल्लीका प्राय सबै विद्यार्थीले परीक्षामा सम्मिलित भएका छन्। सीबीएसईका अनुसार परीक्षामा हिंसा प्रभावित क्षेत्रबाट पनि ९८ प्रतिशत विद्यार्थीले सहभागिता जनाएका छन्।
“उत्तर–पूर्वी दिल्लीका ९८ प्रतिशत विद्यार्थीले परीक्षामा सहभागिता जनाएका छन् जसलाई हिंसाग्रस्त क्षेत्रमा पनि उत्साहजनक सहभागिताको रूपमा हेरिएको छ,” सीबीएसईले एक विज्ञप्ति जारी गरी जनाएको छ।
“शुक्रबार भएको राजनीतिशास्त्र कक्षा १२ को परीक्षाका लागि एक लाख ९९ हजार ७६३ परीक्षार्थी रहेका छन् भने दिल्ली र विदेशमा गरी यसका लागि दुई हजार ६९८ केन्द्रको व्यवस्था गरिएको छ,” समितिले जनाएको छ।
“त्यस्तै शुक्रबार नै भएको सीबीएसईको कक्षा १० को परीक्षा पनि विभिन्न ६० केन्द्रमा परीक्षा शान्तिपूर्णरूपमा सञ्चालन भएको छ,” विज्ञप्तिमा भनिएको छ।
उत्तर–पूर्वी दिल्लीमा नागरिकता कानूनलाई लिएर भएका प्रदर्शन र झडपमा ५३ जनाको मृत्यु भएको थियो भने कम्तीमा २०० जना गम्भीर घाइते भएका थिए।