- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । काठमाडौं उपत्यकामा दैनिकजसो ट्राफिकले मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कार्वाही गर्दै आएको छ ।
लाइसेन्स लिन्छ । चिट काट्छ । अनि निश्चित जरिवाना तोक्छ र एक घण्टा कक्षा लिएपछि मात्र उक्त चालकको लाइसेन्स दिएर छाडिन्छ ।
लाइसेन्समा प्वाल पारिन्छ ।
सोमबारको दृष्टान्त
सोमबार (फागुपूर्णिमा) को दिन मापसे गरी सवारी चलाउने ३०४ जनालाई प्रहरीले नियन्त्रणमा लियो ।
३०४ सहित २८ सय ७० जना पक्राउ परे सोमबार मात्रै ।
यस्तै हर्कत गरी चलाउनेकै कारणले ४८ दुर्घटना भए ।
जसमध्ये ३९ सामान्य घाइते भएका छन् ।
महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार ३१७ वटा मोटरसाइकलमा तीन जना सवार रहेकाले कार्वाही गरिएको थियो ।
आइतबारको दृष्टान्त
आइतबार तुलनात्मक रुपमा कम भए पनि २०२० जना पक्राउ परे । जसमा मापसे गरेकामात्र १०२ वटा सवारीलाई कार्वाही गरिएको थियो ।
सचेतनाको अर्थ
ट्राफिक प्रहरीले हरेक दिन (शनिबार र बिदाको दिन बाहेक) सचेतना कक्षा संचालन गर्दै आइरहेको छ । उसले समय नै छुट्टाएको छ ।
लेन मिच्नेलाई छुट्टै र मापसेलाई छुट्टै गरी एक घण्टाको क्लास हुन्छ । क्लास लिने बेलामा अनिवार्य रुपले आफ्नो परिचय खुल्ने फोटोसहितको कागजात अनिवार्य साथमा लिएर आउन भनिन्छ ।
मापसे र लेनको क्लास लिन पनि जान्छन् । एक पटक होइन कोही त पटक पटक पनि जान्छन् ।
निकै मार्मिक तरिकाले क्लास लिइन्छ । मानिसको जीवनको अनमोलताबारे दर्शन पढाइन्छ । दुर्घटनाका भिडियो देखाइन्छ । अनि दिमागको बत्ती बालिन्छ ।
ताकि मापसे गरेर आइन्दा कहिल्यै पनि सवारी चलाउँदिन भनेर कसम खाएरै फर्कने हो । यो निकै सराहनीय कार्य गरेको छ ट्राफिकले ।
तर बारम्बार जानेलाई त्यही क्लास लिएर फर्काइन्छ । त्यो किन ?
एकातिर सचेतना क्लास लिने र अर्कातिर छाडिदिने गर्दा जड्याहालाई अवसर दिएजस्तै भएको छ । एक मापसे गरी सवारी चलाएर क्लास लिएर फर्केकाले भने, ‘कहिलेकाहिं त खानै पर्यो नि अर्को दिन गएर एक घण्टा क्लास लिने त हो नि रिफ्रेस भइन्छ ।’
के त्यो रिफ्रेस हुने ठाउँ हो ? अनि त्यहाँ भेटिने मापसेहरु –‘छलेर भागिरहेको थिएँ कसरी समात्यो समात्यो’ समेत भनेको सुनिन्छ ।
यसले कतिसम्म विकृतितिर लगिरेहेको छ भन्ने पनि देखिन्छ ।
वृहत शिक्षा जरुरी
अब त्यो क्लासलाई मापसे गरी सवारी चलाउने चालकमा मात्र सीमित नगरी खुल्ला गरौं । अनिवार्य रुपले घरको एक सदस्य पनि लिएर आउनु पर्ने नियम लगाऔं ।
हामीलाई जसरी पनि मापसे गरी सवारी चलाउनु हुन्न भन्ने नै छ । जसरी हुन्छ दुर्घटना न्यून गरौं भन्ने नै छ भने किन यसलाई वृहत नगर्ने ।
समय समयमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नै यो कार्यक्रम सार्वजनिक स्थलमा देखाउनु पर्यो ।
अहिले त मापसे गरेकालाई मात्र देखाइयो । अब गर्नै नदिने वातावरण बनाऔं ।
कार्वाहीमा सुधार
कार्वाहीमा पनि थप सुधार गर्नुपर्यो । जब गल्ती गर्नु हुन्न भनिन्छ र बारम्बार गल्ती गरिरहन्छ भने त्यसलाई कार्वाही गर्ने तरीकामा सुधार नगरी हुन्न ।
अहिले दिएको त सचेतना क्लास हो । तर त्यो क्लास रमाइलो र रिफ्रेस हुन्छ भन्नेहरुलाई कडा कार्वाही हुनुपर्यो ।
गल्ती हुन्छ । तर बारम्बार गल्ती हुन्न । सवारी चलाउँदा दुर्घटना हुन सक्छ । त्यसका विविध कारण होलान् ।
तर मापसे गर्नु कुनै गल्तीवश भएको भूल होइन । त्यो जानीजानी खाइन्छ । यसलाई गम्भीर रुपले लिनु नै हितकर होला ।