ज्योतिरादित्य सिन्धियाले कांग्रेस छोडे, भारतको मध्य प्रदेशमा भाजपा सरकार बन्ने
प्रकाशित २०७६ फागुन २७ मंगलबार
932
Shares
काठमाडौं । भारतको मध्य प्रदेशका उप मुख्यमन्त्री समेत रहेका कांग्रेस आईका नेता ज्योतिरादित्य सिन्धियाले साधारण सदस्य समेत नरहने गरि पार्टीबाट राजीनामा दिएका छन् । प्रदेशका मुख्यमन्त्री कमलनाथसँग लामो समयदेखि विवाद उत्कर्षमा पुग्दा सिन्धियाले पार्टीबाटै राजीनामा दिएका हुन् ।
सिन्धियाले राजीनामा दिनुअघि उनी निकट ६ मन्त्री सहित झण्डै २ दर्जन सांसदले पार्टी छाडेका हुन्। सिन्धियाले आफ्नो राजीनामा पार्टी अध्यक्ष सोनिया गान्धीलाई पठाएका छन् । पार्टी छोडेको मंगलबार भएपनि मिति भने हिजो सोमबार राखिएको छ ।
१५ बर्षसम्म शिवराज चौहान नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) को सरकार रहेको मध्य प्रदेशमा झिनो मतका साथ कांग्रेस आईको सरकार बनेको थियो । जहाँ भाजपाले १ सय ९ सिट जितेको थियो । २०१८ को त्यो हार पछि मध्य प्रदेशमा १५ बर्ष देखिको भाजपा सत्ताबाट बाहिरिनु परेको थियो । सरकार बन्ने बेलादेखि नै मुख्यमन्त्रीको दौडमा रहेका सिन्धियालाई मुख्यमन्त्री बन्नबाट दिग्विजय सिंहको सिफारिसमा तत्कालिन कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले रोकेका थिए ।
कांग्रेस आईका महासचिव मध्य प्रदेशका उच्च कदका नेता ज्योतिरादित्य सिंधियाले कांग्रेस पार्टीबाट राजीनामा दिएपछी भारतको राजनीति होलीकै बीचमा चर्चामा छ । सिन्धियाले राजीनामा दिएसँगै भारतको मध्य प्रदेशमा कांग्रेस आई नेतृत्वको सरकार बिघटन भइ चौहान नेतृत्वको भाजपा सरकार बन्ने अड्कल काटिएको छ । सिन्धियाले कांग्रेस छोडि भाजपा प्रवेश गर्ने र भाजपाले राज्यसभामा लगि केन्द्रीय मन्त्री बनाउने समेत अडकल काटिएको छ । यसअघी उनका पिता माधवराव सिंधियाले पनि १९९३ मा एक पटक कांग्रेस छाडेका थिए।