संयुक्त प्रेस विज्ञप्तिको हस्ताक्षर कार्यक्रममा किन गएनन् सूर्यबहादुर पुत्र सुनिल ?
राजु रिमाल,
प्रकाशित २०७६ फागुन २७ मंगलबार
661
Shares
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको जन्म २०४६ साल पछि सूर्य बहादुर थापाले गराएका थिए। त्यसैले पनि दुइ राप्रपा एक हुन लाग्दा सूर्यबहादुरका पुत्र सुनिल थापा खुशी हुनु पर्ने हो, तर त्यस्तो देखिन्न। शनिबार संयुक्त प्रेस विज्ञप्तिमा हस्ताक्षर गर्ने कार्यक्रममा थापा उपस्थिति भएनन। न कि, राप्रपासँग एकीकरण गर्ने सम्बन्धमा बोलाइएको राप्रपा (संयुक्त) को बैठकमा उनी उपस्थिति भए।
उनी राप्रपा (संयुक्त)को उच्च स्तरीय कार्यसम्पादन समितिका सदस्य हुन्। तर पछिल्लो समय राप्रपा (संयुक्त)का बैठकहरुमा उनी उपस्थिति हुन छाडेका छन्। एक किसिमबाट उनी निष्कृय झै छन,–राप्रपा (संयुक्त)का एक नेताले भने।
शनिबार साँझ राप्रपा र राप्रपा (संयुक्त) ले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा एकीकरण सम्बन्धी आधार पत्र र कार्यविधि निर्माण गर्न गठन गरिएको संयुक्त कार्यादललमा उनको नाम छैन। उक्त कार्यदललमा राप्रपा (संय्क्त)बाट विक्रम पाण्डे, ठाकुर शर्मा र श्याम तिमिल्सिनाको नाम राखिएको छ। जब कि सुनिल थापा पाण्डे,शर्मा र तिमिल्सनाभन्दा सिनियर मानिन्छन्।
स्रोत भन्छ, थापा सुरु देखि नै राप्रपा गणतन्त्रवादी हुन्। तर दुइ राप्रपाले गरेको सहमतिमा एकीकृत पार्टीले राजसंस्था सहित प्रजातन्त्रमा जाने सहमति गरिएको छ। राप्रपाका प्रवक्ता भुवन पाठक भन्छन, ‘दुइ राप्रपा एक भए पछि एकीकृत राप्रपाले राजतन्त्र सहित प्रजातन्त्रलाई आफनो सिद्धान्त मान्ने छ।’
यसअघि राप्रपा (संयुक्त)ले गणतन्त्र स्वीकार गरेको थियो। राप्रपा (संयुक्त)का अध्यक्ष पशुपति शमसेर राणाले यसअघि पटक पटक सार्वजनिक रुपमै आफू गणतन्त्रबाट राजतन्त्रमा फर्कन नसक्ने बताउने गरेका थिए। तर अब उनी गणतन्त्रबाट राजतन्त्रमा फर्कने भएका छन्।
राजतन्त्रलाई स्विकार गर्ने कि नगर्ने भन्ने विषयमा राप्रपा र राप्रपा (संयुक्त)वीचको एकीकरण प्रक्रिया धेरै लामो समयदेखि टुंगो लाग्न सकेको थिएन। राणा गणतन्त्रबाट राजतन्त्रमा फर्के पछि एकीकरण प्रक्रिया सहज भयो,–राप्रपाका एक नेता बताउछन्। स्रोत भन्छ, गणतन्त्रबाट राजतन्त्रमा फर्कने विषयमा सुनिल सहमत छैनन्।
स्रोत भन्छ,राप्रपा र राप्रपा (संयुक्त) एक भए पनि एकीकृत पार्टी गणतन्त्रबाट राजतन्त्रमा फर्कन नहुने अडान थापाले राखेका थिए। तर राणाले थापाको अडानलाई त्यती महत्व दिएनन्। त्यसैले पनि थापा पछिल्लो समय राणासँगको सामिप्यबाट टाढा हुँदै गएका छन,थापा निकट स्रोतले बतायो।
स्रोत भन्छ,थापा नेपाली कांग्रेसमा प्रवेश गर्न तयारी गरेका छन्। यसकोलागि उनले नेपाली कांग्रेसका सभापति शेरबहादर देउवा,नेता रामचन्द्र पौडेल र महामन्त्री सशाकं कोइरालासँग भित्र भित्रै कुराकानी गरेका छन्। सुरुमा उनले नेपाली कांग्रेसमा महामन्त्री पद मागेका थिए। अब उनी केन्द्रीय सदस्यमा पनि चित्त बुझाउने मनस्थितिमा पुगेको देखिन्छ,–थापा निकट स्रोतले बतायो।
उनी नेपाली कांग्रेसमा प्रवेश गरे भने धनकुटाबाट उनले चुनाव लड्ने छन्। यसबाट चुनाव जित्न सहज हुने उनको बुझाइ छ। राप्रपा (संयुक्त)का अर्का एक नेता भन्छन,उहाँ (थापा)ले एक किसिमबाट हामीसँग सम्बन्ध टुटाएको जस्तो देखिन्छ। उहाँ आजभोली पार्टीका कार्यक्रमहरुमा पनि आउन छाड्नु भएको छ।’ यस विषयमा जिज्ञासा लिन थापासँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमै आएनन्।