arrow

जापान पठाउने भन्दै ठगी गर्ने कार्की पक्राउ

logo
प्रकाशित २०७३ वैशाख ११ शनिबार
thag.jpg.jpeg
काँकडभिट्टा (झापा) । जापान पठाइदिने भन्दै रु ३७ लाख बढी रकम असुल्ने झापा शनिश्चरेका राजकुमार कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । कार्कीले विर्तामोडमा सञ्चालित फास्टट्र्याक एजुकेसन कन्सलटेन्सीमार्फत झापा, इलाम, पाँचथरलगायत जिल्लाका १५ जनालाई ‘वर्किङ भिसा’मा जापान पठाइदिने भनेर रु ३७ लाख ५० हजार असुलेको प्रहरीले जनाएको छ । 
 
कार्की विदेशमा कामदार पठाउने कुनै अनुमति प्राप्त व्यक्ति नभएको थाहा पाएका युवा सङ्घ नेपालका कार्यकर्ताले शुक्रबार कन्सल्टेन्सीको कार्यालयमा घेराउ गरेर प्रहरीलाई खबर गरेका थिए । अनाधिकृत रुपमा सर्वसाधारणसँग रकम असुलेको स्वीकार गरेका कार्कीलाई सोधपुछका लागि इलाका प्रहरी कार्यालयमा राखिएको छ । हालसम्म असुलिएको ३७ लाख ५० हजार रुपैयाँमध्ये आधाजसो रकम काठमाडौँमा रहेको अर्का एजेन्ट यामकुमार चेम्जोङलाई पठाएको दावी गर्दै कार्कीले वर्किङ भिसामा कामदार पठाउने आधिकारिक अनुमति आफुसँग नभएको स्वीकार गरेका छन् ।
 
भद्रपुर रोडको पश्चिम लाइनस्थित थापा मार्केटमा उनले फास्ट ट्रयाक कन्सल्टेन्सीसँगै प्रोलिफिक कम्प्युटर प्रशिक्षण केन्द्र चलाउँदै आएका छन् । 
उनले भाषा सिकाउन र स्टुडेन्ट भिसामा जापान पठाउनका लागि अनुमति लिइएको प्रमाणपत्र कार्यालयको भित्तामा झुण्ड्याएका छन् । त्यसको आधिकारिता जाँच हुन भने बाँकी नै छ । उनले यसअघि १९ जनालाई स्टुडेन्ट भिसामा जापान पठाइसकेको बुझिएको छ । जापान पुगेका तिनीहरूको अवस्थाबारे थाहा हुन सकेको छैन । 
 
जापान पठाउने कारोवार गर्न थालेको तीन महिना मात्र भएको उनले बताएका छन् । सुरुमा स्टुडेन्ट भिसामा पठाइदिने भनेका उनले ती १५ जनाको स्टुडेन्ट भिसा नलागेपछि वर्किङ भिसाबाट पठाइदिने भन्दै रकम असुलेका हुन् । कार्कीले आफुबाट गैरकानूनी काम भएको स्वीकार गर्दै १५ जनाकै रकम फिर्ता गरिदिने बताएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरीक्षक खडगबहादुर खत्रीले बताए  । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ