arrow

भिजुला प्रान्तको लोकतन्त्रको कथा

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७३ वैशाख ११ शनिबार
vijula-state-perilkis-pnuka.jpg.jpeg
पश्चिम विश्वको एउटा ज्यादै सुन्दर बस्ति, सबैकोबीचमा आपसी सद्भाव र भाइचारको भाव, सबैकोबीचमा एकले अर्कालाई श्रद्धा गर्ने चलन थियो। ज्यास्किस फरेन त्यहाँ सबैले मर्दापर्दाको लागि भनेर समाजको एउटा प्रमुख व्यक्तिको रूपमा तोकिएका व्यक्ति थिए। उनी मात्रै होईन, उनको पुख्यौली पेशा नै त्यही थियो। उनीहरूलाई नगर प्रमुख तोक्ने बेलामा न त कसैसँग कुनै झगडा हुन्थ्यो न त कुनै मतभेद नै थियो। उनीहरूको व्यहार पनि त्यस्तै थियो। कोहीकसैप्रति विभेदकारी दृष्टिले कहिलै नहेर्ने र दूधकोदूध र पानीको पानीमा विश्वास गर्ने यिनीहरूको व्यवहारले गर्दा पनि उनीहरूसबैको छनोटमा पर्न सफल भएका थिए। फरेनका बाबु थिए मार्सल फरेन र हजुर बुबा थिए, जोनसेन फरेन। उनीहरूसबै जना भिजुला प्रान्तका जहानीय प्रान्तप्रमुख थिए। 
 
गाउँलेहरू आफैंमा एक आपसमा मिलेर बसिरहेका थिए। कसैको घरमा मीठो मसिनो पाकेको खण्डमा अर्काको घरमा पुर्‍याईदिने, अर्काको घरमा पाकेका कुरा अर्काको घरमा पुर्‍याईदिने। पारिवारिक पाराले चलेको यो समाजको सामाजिक पद्धतिको बारेमा कुनैपनि मानिसलाई जानकारी नभएको भने थिएन। 
 
भिजुला प्रान्त समग्रमा भन्दा स्वर्गको एउटा प्रान्त भन्दा कम्ति थिएन। मानिसहरूको ज्ञान, शील, स्वभाव र अतिथि माथि गरिने व्यवहारले गर्दा त्यो समाजका मानिसहरू प्रतिको सबैमा श्रद्धाभाव देखिन्थ्यो। सबैजना जीवनमा कुनैठाउँ एकपटक जानै पर्ने ठाउँको रूपमा कुनै ठाउँलाई लिन्थ्यो भने त्यो यही हुन्थ्यो। त्यहाँका सबैनागरिकमा मानिसमा हुनुपर्ने गुणहरू भरपुर देखिन्थे। नारीहरूप्रति पुरूषको अत्यधिक प्रेम देखिन्थ्यो, महिलाहरूमा पनि पुरूषप्रति गर्ने व्यवहारमा विशेष श्रद्धाभाव देखिन्थ्यो। 
 
नारी पुरूषको विषयमा कुनै पनि भेदभाव थिएन। सबैजनामा शिक्षा र स्वास्थ्यको पहुँच राम्रो थियो। त्यसैले त्यहाँ भ्रष्टाचार भन्ने कुनैपनि कुरा सुन्नसम्म पनि पर्ने अवस्था थिएन। सबै सुशासनमा रमेका थिए। कर्मचारीहरूको लागि विशेष रासन पानीको व्यवस्था हुन्थ्यो। सुरक्षाकर्मीको कुनै आवश्यकता थिएन। 
 
हरेक महिनाको एकदिन नगरप्रमुख फरेनको घरमा विशेष भोज हुन्थ्यो। फरेनको घरमा हुने भोजमा पनि कुनै विशेष खालको व्यवस्था त केही पनि हुने थिएन। किनभने उनीहरू नगरप्रमुख भएपनि फरेनको आर्थिक स्तरको तहपनि नागरिकहरूको भन्दा केही पनि बढी थिएन। 
 
नगरमा अदालतको व्यवस्था गरिएको थिएन। कुनै विषयमा विवाद भएको खण्डमा नगरप्रमुखले सबैकुरा बुझिसकेपछि त्यसमा सत्य निसाफ दिने गर्दथे, यसैमा सबैको चित्त अढेको थियो। उनीहरूमा नगरप्रमुख प्रतिको विश्वास यतिसम्म थियो कि कुनै कुरामा गाउँले प्रमुखले ‘तिमीले अर्काको लागि मर्नुपर्छ’ भने पनि उनीहरू त्यो स्वीकार्न तयार हुन्थे। तर, नगरप्रमुखले कहिलैपनि त्यस्तो अनैतिक काममा आफ्नो शक्ति दुरूपयोग गरेनन्। 
 
तर, त्यहाँको त्यो आदर्श राज्यको डाहा गरिरहेका केही मुलुकहरू गोप्यरूपमा त्यसको एकता भङ्ग गराउने खेलमा लागिरहेका थिए। विशेषगरी छिमेकीको सहयोगमा टाढाटाढाका मुलुकहरू पनि उक्त बैठकमा संलग्न थिए। बैठकबाट भिजुला प्रान्तको यो एकताको विषयमा चर्चा चल्यो। तर त्यसको विशेष जिम्मा दिईयो छिमेकी मुलुक भियानालाई। भियानाले पनि सो मुलुकको एकता टुक्रयाउन सक्दो प्रयास गर्ने सहमति जनायो। प्राकृतिक स्रोत तथा खानीहरूको दृष्टिले समेत महत्वपूर्ण रहेको र कसैको पनि दासता स्वीकार नगरिएको उक्त प्रान्तको एकता छुट्टाउने विषयमा गम्भीर छलफल हुनु अस्वभाविक पनि थिएन। 
 
उता, यस्तो एकीकृत बस्तीमा एक दिन खेतको अंशको विषयमा आफ्नै दाजुभाइबीच द्वन्द्व चल्यो, सो विषयले नगरप्रमुखकोमा समेत प्रवेश पायो। नगरप्रमुखले सो विषयमा दाजुभाइको असन्तुष्टिहरू सबै सुनेपछि सो जग्गामा दुबैको भाग लगाउने निर्णय गरे, यसमा दुबै पक्ष राजी भएपछि त्यो समस्या पनि त्यतिकै समाधान गरियो। 
 
एकदिनको कुरा हो, धेरै टाढाबाट आएको बताउने अर्को राज्य भियानाबाट एकजना मान्छे साँझमा सो नगरमा प्रवेश गरे। विभिन्न बहाना बनाएर उनले त्यही गाउँको छोरीबेटी विहे समेत गरेर साईनो लगाई त्यतै घर ज्वाईँको रूपमा बस्न थाले। ‘अतिथी देवो भवः’ मान्यताबोक्ने उनीहरूले ती व्यक्तिको स्वागत गर्न कुनै कञ्जु पनि गरेनन्। उनीहरूले आफुसँग रहेको मीठोमसिनोमा छिमेकीसँग ऐचोपैँचो गरेर पनि ती पाहुनालाई मेवा मिष्ठान्नले स्वागत गरे।
 
तर विडम्बना, उनले त्यो स्वागतको गुन सम्झिन सकेनन्। केही दिन पछिको कुरा हो, गाउँमा केही समय अगाडि साम्मे भएको दाजुभाइको जग्गाको विवाद उव्जियो। दाजुले धर्मशास्त्रका कुरा निकालेर जेठो छोरो त्यसमा पनि बाबुआमा पालेको छोरोले बढी पाउनुपर्नेमा बखेडा झिक्यो। कान्छोले मर्नेबेलामा बाबुले आधाआधा बाँड्नू भनेको कुरामा तर्क गर्‍यो यो कुरा फेरि पनि नगर प्रमुखकहाँ पुग्यो। यही घटना थियो उक्त राज्यमा दोस्रो पटक एउटै घटना लिएर नगरप्रमुख कहाँ पुगेको। नगर प्रमुखले फेरि पनि यो दुबैको नाममा हुने भन्दै फैसला गरे। तर यो पटक भने सो विषयमा सहमति हुन सकेन। दाजु चाहिँले शास्त्रको पाना पल्टाएर देखाउन थाल्यो। तर, गाउँलेहरू समेत एक भएपछि ऊ मौन बस्यो भने नगरप्रमुखप्रति उनको इष्र्याभाव भने मर्न सकेन। 
 
केहीदिन पछि त्यही गाउँमा अर्को घटना घट्यो। खानेपानीको पाइप काटेको बाहानामा कसले काट्यो भन्ने कुरा गर्दा जोर्डन फोक्सनले काटेको आरोप माइकल सार्वतले लगायो। उक्त विषयमा विबाद चुलिँदै गयो, यो विषयपनि नगरप्रमुखकहाँ पुग्यो। तर, यो विषयमा पनि नगर प्रमुखले कुरा मिलाउन सकेनन्। उनले दिएको निर्णय आरोप लगाउने माइकललाई चित्त नबुझेपनि नगरप्रमुखलाई हार्न नसकेर त्यसै फर्कियो। 
 
एक वर्ष पछिको कुरा हो, यस्तै विवाद चुँलिदै जाँदा र आफ्ना हरेक निर्णयमा एक जना असन्तुष्ट बढ्न थालेपछि हृदयघातका कारण नगरप्रमुख फरेनको निधन भयो। त्यसपछि नगरप्रमुख हुने पालो थियो उनका छोरा नक्जिन फरेनले नगरप्रमुखको जिम्मेवारी पाउने सम्भावना थियो। तर, त्यहाँको प्रक्रियाले गर्दा उनलाई नगरप्रमुख बनाउन सकेनन् त्यहाँका नागरिकहरूले। त्यहाँ एउटा यस्तो प्रक्रिया थियो कि नगरप्रमुख छान्दा ९० प्रतिशतभन्दा बढीले स्वीकृति जनाउनु पथ्र्यौ। तर उनको विरूद्धमा नै असन्तुष्ट रहेकाहरू २० प्रतिशतले फरेन शासनको विरोध गर्न थाले। उनीहरूले निर्वाचित स्वतन्त्र व्यक्तिलाई प्रमुख बनाउनुपर्नेमा जोड दिए। तर उनीहरूको सुझाव मान्न अधिकांश गाउँले तयार भएनन्। तर, आफ्नै प्रक्रिया नपुगेपछि सो प्रक्रियाको विषयमा पनि सहमति जनाईयो। 
 
निर्वाचन गर्ने सहमतिमा झण्डै १५ दिनको विवाद पछि त्यो समाजका अन्य बहुसंख्यक पनि अल्पसंख्यकको प्रस्तावमा सहमत भए। निर्वाचन दुई पक्षबीच हुने भयो, फरेन पक्षघरका तर्फबाट अटुन ताम्लि र विपक्षीका तर्फबाट माइकल सार्वत। 
 
चुनावको मिति आउनै लाग्दा चर्को प्रचारप्रसार भयो। सबैजनाले आ–आफ्ना प्रतिनिधि जिताउन भन्दै नाराबाजी लगाए, सबैले आफ्नो पक्षधरमको विषयमा लविइङ गर्दै हिँडे। सबैले सामन्ति शासनको विरोध गर्ने भन्दै आफूले नेतृत्व गरेको खण्डमा यो नगरको कायापलट गरिदिने भन्दै नानाथरी आश्वासनहरू दिन थाले। आफूले मुलुकलाई स्वर्ग बनाउने आश्वासन दिन पनि कोही पछि परेनन्।  
 
निर्वाचन भयो, नगरप्रमुखको रूपमा विद्रोही पक्षको जीत भयो। अब उनीहरूले आफू मात्रै नभएर केही सहयोगीहरूलाई पनि नियुक्ति गर्ने निर्णय गरे। अन्ततः एक बर्षमा नै त्यो नगरको विशिष्ठ प्रणाली सरकार–जनता प्रणालीमा गयो। यस्तो क्रान्तिमा सबैभन्दा अग्र भूमिकामा रहेको पाहुना पनि शक्तिशाली बन्दै गएको थियो। त्यो सरकार समेत ऊ प्रति उत्तरदायी भईसकेको थियो। त्यसपछि विस्तारै सो समाजले आफ्ना पुराना रितिरिवाज र आफ्नो विशिष्ठ संस्कृति भुल्दै गयो।
 
एक वर्ष अर्को पक्षले शासन गर्ने अर्को वर्ष अर्को पक्षले शासन गर्ने परिपाटी बस्न थाल्यो। अन्ततः त्यो स्वर्गजस्तो मुलुक एउटा पाहुनाको भरमा एक वर्षको अवधिमा नै नर्कजस्तो बन्न थाल्यो। अब जनता फुटिसकेपछि अन्यप्रान्तका प्रमुखहरूको हस्तक्षेप सुरूभयो। हुँदाहुँदा विस्तारै यो मुलुकका जनता नै अर्को प्रान्तका जनताको गुलाम सरह बन्न पुगे। त्यो मुलुक लोकतन्त्रको पहिलो मुहान हो। तर त्यो मुलुकका जनताले अरूको चासोमा ल्याईएको लोकतन्त्रले स्वर्ग जस्तो यो प्रान्त नर्क बन्दै गयो। त्यहाँका सबै स्रोतहरू सबैको पेवा बन्न थाले र जसले सक्छ उसैको लागि हुने भयो।
 
यसरी कुनै पनि विदेशीको एउटा विउले खण्डीकरणको बिस सर्बत्र फैलाएको कथा हो यो...



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ