इलाम। यस जिल्लाका अधिकांश गाउँमा सञ्चार सुविधा पुगे पनि पूर्वी इलामको जिर्मलेका केही वडाका बासिन्दा वर्षौं देखि सञ्चार सुविधाबाट वञ्चित छन् ।
नेपाली भूमि भएर पनि सलकपुरमा नेपाली मोबाइल सेवा उपलब्ध नहुँदा सर्वसाधारण भारतीय मोबाइल प्रयोग गर्न बाध्य छन् ।
जिर्मलेको १, २ र ३ नं वडाका बासिन्दा एक्काइसौँ शताब्दीमा पनि सञ्चारविहीन बन्नुपरेको छ । “तीन वडा सञ्चारकै पहुँच बाहिर छन्,” स्थानीय शमशेर राईले भन्नुभयो – “अरुतिर सामान्य भइसकेको मोबाइल सेवा यहाँ भने विस्तार हुनै सकेको छैन ।”
नेपाली मोबाइलको सेवा नपाएपछि सलकपुरवासीले विकल्पको रूपमा भारतीय कम्पनीको मोबाइल प्रयोग गर्छन् । भारतीय सीमावर्ती क्षेत्र नजिकै भए पनि भारतीय मोबाइलको नेटवर्क पनि खासै राम्रो छैन । सलकपुर पहाडी क्षेत्र बढी भएकाले भारतीय नेटवर्क समेत प्रभावकारी नभएको स्थानीयवासीको भनाइ छ । कतैकतै नेटवर्क टिप्ने भएकाले त्यसैबाट काम चलाइने गरिएको स्थानीयवासी यामप्रसाद अधिकारी बताउदछन्।
तीन सय ५० भन्दा बढी घरपरिवार रहेको सलकपुरका १, २ र ३ का बासिन्दाले वर्षांैदेखि मोबाइल सेवा नपाएपछि भारतीय मोबाइलकै भर पर्नुपरेको छ । अधिकारी भन्छन्– “भारतीय मोबाइल भएपनि जिल्लाकै अन्य ठाउँमा फोन गर्नुपर्यो भने निकै दुःख झेल्नुपर्छ । नेपाली कम्पनीको मोबाइलमा भारतीय कम्पनीको मोबाइलबाट फोन गर्दा सम्पर्क नहुने समस्या भएकाले सानो कामको लागि पनि धाउनुपर्ने बाध्यता छ ।”
कसैसँग मोबाइलबाट सम्पर्क गर्नुपरेमा मोबाइल बोकेर एकघन्टा दूरीमा रहेको डाँडासम्म निस्कनुपर्ने वाध्यता रहेको स्थानीयवासीको गुनासो छ । उनीहरु महङ्गो भएपनि भारतीय सिमकार्ड चलाउन बाध्य छन् । गाउँमा भारतीय मोबाइलको रिचार्ज कार्ड व्यापारीले महङ्गोमा बिक्री गर्ने गरेका छन् । “यहाँ भारु १० को कार्ड खरिद गर्दा ३० रुपैयाँसम्म तिर्नुपर्छ,” स्थानीयवासी कुमार मोक्तानले भने। झापाको काँकडभिट्टामा रिचार्ज कार्ड पाइने र मोबाइलमा ब्यालेन्स सकिँदैपिच्छे किन्न जाने झन्झटले पनि स्थानीय जनता महङ्गोमा कार्ड किन्न बाध्य भएका हुन् ।
सलकपुरमा सीमापारिको रिलायन्स, एयरटेल, एर्सियल, भोडाफोनजस्ता मोबाइल कम्पनीको नेटवर्क आउँछ । तर, नेपालको नमस्ते, युटिएल, स्काइ, एनसेललगायत कुनै पनि मोबाइलको नेटवर्क आउँदैन । मोबाइल सेवा नभएपछि गाउँमा उत्पादित कृषिउपज बिक्री गर्न समेत बाधा उत्पन्न हुने गरेको यहाँका किसानको दुखेसो छ ।
नेपाल टेलिकम इलाम शाखाका प्रमुख ज्ञाननाथ सापकोटाले चालु आवमा जिल्लाका पाँच ठाउँमा बिटिएस टावर राख्ने र यसमा सलकपुरलाई पहिलो प्राथमिकता दिने बताए । रासस