arrow

चट्याङ पर्दा फुटबल दर्शकको मृत्यु, पाँच घाइते

logo
प्रकाशित २०७३ वैशाख ११ शनिबार
chatyang(1).jpg.jpeg
खोटाङ । वर्षासँगै परेको चट्याङ लागेर खोटाङको बाक्सिलामा जारी ‘बाक्सिला गोल्डकप’ हेरिरहेका एक दर्शकको घटनास्थलमै मृत्यु भएको छ । बाक्सिला फुटबल क्लबको आयोजनामा बाक्सिलास्थित पृथ्वी उच्च माविमा शनिबार भइरहेको गोल्डकपको सेमिफाइनल खेल हेरिरहेका सप्तेश्वर–४ का ६० वर्षीय जगतबहादुर राईको घटनास्थलमै मृत्यु भएको हो । 
 
असिनासँगै सामान्य वर्षा भइरहेको समयमा खेल मैदानको नजिक रहेको विद्यालयको पेटीमा बसेर फुटबल सेमिफाइनलको खेल हेरिरहेको समयमा चट्याङ परेको आयोजक बाक्सिला फुटबल क्लबका अध्यक्ष समीर राईले जानकारी दिए । राईका अनुसार मृतक जिल्ला खेलकुद विकास समितिका जिल्ला अध्यक्ष माइतीराज राईका पिता हुन् । 
 
चट्याङ पर्दा पाँच दर्शक गम्भीर र अन्य १० जना सामान्य घाइते भएको जिल्ला प्रहरीले जनाएको छ । चट्याङ लागेर बाक्सिला–७ का मीना सुनुवार, प्रमिला विश्वकर्मा, चन्द्र बस्नेत, बाक्सिला–६ का रामकुमार राई र दिलकुमार राई गम्भीर घाइते भएका छन् । 
 
यस्तै, बाक्सिला–६ का भूमिका राई, बाक्सिला–७ का बालध्वज श्रेष्ठ, बाक्सिला–७ का चुनकला सुनुवार, बाक्सिला–७ का मेनुका विश्वकर्मा, बाक्सिला–५ का प्रकाश श्रेष्ठ, बाक्सिला–७ का जानुका विश्वकर्मा, बाक्सिला–६ का बीर्ख तामाङ, पाथेकाका एलिना राई, सप्तेश्वरका गोपी राई, सप्तेश्वर–१ कै उमेश राई घाइते भएको जनाइएको छ । 
 
घाइतेलाई थप उपचारका लागि हेलिकप्टरबाट राजधानी लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले जानकारी दिनुभयो । चट्याङ लागेर एक दर्शकको मृत्यु र दर्जनौँ दर्शक घाइते भएपछि आइतबार समापन गरिने भनिएको बाक्सिला गोल्डकप अहिले स्थगित गरिएको आयोजकले जनाएको छ । गत वैशाख–७ गतेबाट सुरु भएको गोल्डकपको नवौँ संस्करणअन्तर्गत शनिबार खोटाङबजार गाविस र इटहरीबीच सेमिफाइनलको खेल भइरहेको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ