arrow

नेपालद्वारा जलवायू परिवर्तनबारे पेरिस सम्झौतामा हस्ताक्षर

logo
प्रकाशित २०७३ वैशाख ११ शनिबार
Kamal-Thapa.jpg.jpeg.jpeg
काठमाडौँ। उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले शुक्रवार जलवायु परिवर्तनबारेको संयुक्त राष्ट्रसङ्घीय महासन्धिअन्तर्गतको पेरिस सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । 
 
हस्ताक्षर संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि–मुनले राष्ट्रसङ्घ मुख्यालय, न्यूयोर्कमा आयोजना गर्नुभएको ऐतिहासिक हस्ताक्षर समारोहमा भएको थियो । 
 
संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग न्युयोर्कबाट प्रकाशित विज्ञप्तिअनुसार हस्ताक्षर समारोहमा कोप २०, कोप २१ तथा कोप २२ (पेरु, फ्रान्स र मोरोक्को)का अध्यक्षसहित विश्वका १७५ जना नेता उपस्थिति हुनुहुन्थ्यो । 
 
सो अवसरमा बोल्दै संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि–मुनले सबै देशलाई सो सम्झौतामा सहभागी हुन आह्वान गर्नुभयो । उहाँले यसबाट गरिब र कमजोर वर्ग आफूले सिर्जना नगरेको समस्याबाट ग्रस्त हुनु नपर्ने पनि बताउनुभयो । 
 
हस्ताक्षरपछिको कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री थापाले पेरिस सम्झौता नेपालजस्तो पहाडी देश जहाँ जलवायु परिवर्तनले दशौँ लाख मानिसको जीवनलाई असर पारेको छ, त्यहाँका जनताका लागि आशाको किरण भएको बताउनुभयो । 
 
उहाँले सो सम्झौता सन् २०१५ मा पारित गरिएका २०३० का दिगो विकास कार्यसूचि कार्यान्वयन गर्ने दिशामा जीवन्त माध्यम बन्ने पनि बताउनुभयो । 
 
“हामीमा चुनौती सामना गर्नका लागि हाम्रो विश्वव्यापी प्रयास, समझदारी, सहयोग र साझेदारीको संयुक्त शक्तिमा ठूलो आशा रहेको छ” – उहाँले बताउनुभयो । 
 
हिजै उहाँले स्वीडेनका उपप्रधानमन्त्रीसँगै एक सत्रको सहअध्यक्षता पनि गर्नुभएको थियो भने सो पश्चात महासचिव वानले आयोजना गर्नुभएको दिवाभोजमा पनि सहभागी हुनुभएको थियो । 
 
अपराह्न उहाँले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका प्रशासक हेलेन क्लार्कसँग भेट गर्नुभएको थियो । सो अवसरमा सन् २०३० को कार्यसूची लागू गर्ने सन्दर्भमा नेपालको आर्थिक विकासबारे विचार आदानप्रदान भएको थियो । 
 
साँझ उपप्रधानमन्त्री थापाले राष्ट्रसङ्घका लागि नेपाली स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईले उहाँको सम्मानमा आयोजना गर्नुभएको रात्रिभोजमा पनि सहभागी हुनुभएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ