arrow

कोरोनाका कारण प्रदेशसभा अधिवेशन अन्त्य

logo
रासस,
प्रकाशित २०७६ चैत ६ बिहिबार
pradesh-3.jpeg

हेटौडा । वाग्मती प्रदेशको प्रदेशसभाको ५औँ अधिवेशन बिहिबारबाट अन्त्य भएको छ । बिहिबार बसेको प्रदेशसभाको बैठकमा  ‘कोभिड–१९’ सङ्क्रमणको जोखिमको कारण देखाउँदै अधिवेशनको अन्त्य भएको हो ।

वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख विष्णु प्रसाईंले पठाउनुभएको पत्र पढेर हिँउँदे अधिवेशन अन्त्य भएको जानकारी दिए । यस अधिवेशन अवधिभर प्रदेशसभाले २५ वटा बैठक बसेर ७ वटा विधेयक एक अध्यादेश पारित गरेको सभामुख श्रेष्ठले बताए । २०७६ पुस–१ गतेदेखि शुरु भएको थियो ।
 
अन्तिम दिन दुई विधेयक पारित
हिउँदे अधिवेशनको अन्तिम बैठकबाट बिहिबार दुईवटा विधेयक पारित भएका छन् । बिहिबार बसेको प्रदेशसभाको बैठकले प्रदेश युवापरिषद् गठन गर्ने व्यवस्था गर्न बनेको विधेयक, २०७६ र स्थानीय तहको पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संशोधन गर्न बनेको विधेयक, २०७६ सर्वसम्मतिले पारित भएको हो ।

स्थानीय तहको पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संशोधन गर्न बनेको विधेयक, २०७६ लाई आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले टेबल गर्नुभएको थियो । यस विधेयकको प्रस्तावमाथि छलफलमा भाग लिँदै सांसद रमेश पौडेलले नेकपाले संविधानमा नै संशोधन गर्न पहल गर्नुपर्ने बताए ।

त्यसैगरी सांसद नरोत्तम बैद्यले अब पनि अदालतले खारेज गर्नेगरी विधेयक बनाउन नहुनेमा जोड दिए । जवाफमा मन्त्री जम्मकट्टेलले सर्वोच्चको आदेशलाई सम्मान गर्दै विधेयक ल्याएको जानकारी दिए । त्यसैगरी  प्रदेश युवा परिषद् गठन गर्ने व्यवस्थागर्न बनेको विधेयक, २०७६ सामाजिक विकासमन्त्री युवराज दुलालले टेबल गरेका थिए । यस विधेयकको छलफलमा सांसद सरेस नेपाल, रीना गुरुङ, रमेश पौडेल, माधव पौडेल, वीराजभक्त श्रेष्ठ र नरोत्तम बैद्यले भाग लिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ