arrow

वसन्तपुर तथा धरहरामा श्रद्धाञ्जलि

logo
प्रकाशित २०७३ वैशाख १२ आइतबार
मजबचबजबचब.JPG.jpeg

काठमाडौँ । गत वर्ष वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेट जाँदा गएको भूकम्पका कारण वसन्तपुर क्षेत्रका काष्ठमण्डप तथा धरहरा ढल्दा निधन भएकाप्रति आज श्रद्धाञ्जलि दिइएको छ । बिहान सोही समयमा विभिन्न सङ्घसंस्थाले श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरेका थिए । काष्ठमण्डप भत्किँदा त्यसमा परी मृत्यु भएकी सानुमैयाँ कपालीको स्मृतिमा स्थापित सानुमैयाँ कपाली मेमोरियल फाउन्डेसनले रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

सानुमैयाँका श्रीमान् धननारायणले भने –“समाजसेवामा उनको रुचि थियो, त्यसैले अब मेरो बाँकी जीवन पनि समाजसेवामा नै समर्पित गर्नेछु ।” भूकम्पमा काष्ठमण्डप मन्दिर परिसरमा रक्तसञ्चार केन्द्रबाट रक्त सङ्कलन गर्न खटिएका कपालीसहित १० रक्तदाताको मृत्यु भएको थियो । भूकम्पका कारण धरहरा ढल्दा पनि धेरैको मृत्यु भएको थियो । सो क्षेत्रमा भएको श्रद्धाञ्जलि कार्यक्रममा श्रद्धाञ्जलि दिन आउनेभन्दा पनि तस्बिर खिंच्ने र ‘सेल्फी’ लिनेको घुइँचो बढी देखिएको थियो । 

वसन्तपुर क्षेत्र अगाडि ‘हामी उठ्नेछौँ’ अभियानका युवाले काष्ठमण्डपको ठूलो चित्रसमेत कोरेका छन् । भूगोलपार्कमा भूकम्पमा परी मृत्यु भएकाहरुको नाम र ठेगानासहितको तुल टाँगिएको थियो भने धरहरा क्षेत्रमा भूकम्पपछिको अवस्थालाई चित्रण गरी खिंचिएका तस्बिर प्रदर्शनी गरिएको थियो । वैशाख १२ र त्यसपछिका परकम्पका कारण नेपालका करिब नौ हजार व्यक्तिले ज्यान गुमाएका थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ