arrow

पोखरा १३ दिनका लागि बन्द

logo
प्रकाशित २०७६ चैत ९ आइतबार
pokhara-2.jpg

पोखरा। कोभिड–१९ को सम्भावित सङ्क्रमणबाट जोगिन गण्डकी प्रदेशको राजधानी रहेको पोखरामा आइतबार अत्यावश्यक बाहेकका सार्वजनिक सेवा बन्द भएका छन् । सरकारले देशैभरि संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाबाट प्रदान गरिने अत्यावश्यक सेवाबाहेकका अन्य सम्पूर्ण सेवा आइतबारदेखि १३ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

सार्वजनिक सेवा बन्द भए पनि कार्यालय भने खुल्ला रहेको कास्कीका सहायक प्रजिअ श्रीनाथ पौडेलले जानकारी दिए । जिल्लामा अनुगमनको पाटोलाई प्रभावकारी बनाइने बताउँदै उनले कार्ययोजनाका साथ बजार एवं सार्वजनिक सरोकारका क्षेत्रमा अनुगमन गरिने जानकारी दिए । 

उद्योगव्यवसाय बन्द गर्न उद्योग वाणिज्य संघको आग्रह
पोखरा उद्योग वाणिज्य संघले कोभिड–१९ को सम्भावित सङ्क्रमणबाट जोगिन अत्यावश्यक बाहेकका सबै उद्योग र व्यावसायिक प्रतिष्ठान बन्द गर्न उद्योगी-व्यवसायीसँग आग्रह गरेको छ । संघले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रका नाममा भएको सम्बोधन कोरोना सङ्क्रमणबाट बच्न र बचाउनका लागि गरिएको अपिलको पूर्ण पालना गर्न आग्रह गरेको हो । 

प्रधानमन्त्रीको सम्बोधनमा चैत ९ देखि २१ गतेसम्म अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्न आह्वान भएको थियो । सरकारले विभिन्न १९ वटा सेवालाई अत्यावश्यक मानेको छ । संघको विज्ञप्तिमा औषधि, पानी, इन्धन, दूध-तरकारी-खाद्यान्नलगायत अत्यावश्यक सेवा प्रदान गर्ने उद्योगी-व्यवसायीलाई पनि सुरक्षाका सबै उपाय अवलम्बन गर्न आग्रह गरिएको छ । अत्यावश्यक सामान उत्पादन गर्ने उद्योग सञ्चालन गर्दा पनि यही प्रक्रिया अपनाउन संघको आग्रह रहेको छ ।  

संघका महासचिव अर्जुन पोखरेलद्वारा जारी विज्ञप्तिमा अत्यावश्यकबाहेकका सबै उद्योग-व्यवसाय बन्द गर्ने, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कने, भीडमा नजाने र  ‘सेल्फ क्वारेन्टाइन’को विधिको पूर्ण पालना गर्न भनिएको छ । “औषधि, पानी, इन्धन, दूध-तरकारी-खाद्यान्नलगायत सेवाहरु प्रदान गर्नुपर्ने दायित्व पनि व्यवसायीहरुमाथि नै रहेको छ”, विज्ञप्तिमा भनिएको छ, “पोखरा उद्योग वाणिज्य संघ, सङ्कटको यो घडीमा अत्यावश्यक सेवा प्रवाह गर्ने उद्योगी-व्यवसायीहरुलाई सुरक्षाका सम्पूर्ण प्रबन्धसहित सेवा प्रवाह गर्न हार्दिक अपिल गर्दछ ।”

यसैगरी संघले यो घडीमा तोकिएकोभन्दा बढी मूल्यमा सामान नलिन र आवश्यकताभन्दा बढी सामान भण्डारण नगर्न उपभोक्तासँग पनि आग्रह गरेको छ । संघले यसअघि पनि विज्ञप्ति जारी गर्दै तोकिएकोभन्दा बढी मूल्य नलिन र बिक्रीवितरण तथा ढुवानी कार्यलाई पारदर्शी बनाउन माग गरेको थियो ।

संघले पोखराको टे«ड मलले त्यहाँ भाडामा रहेका व्यवसायीलाई चैत महिनाको घर भाडामा ५० प्रतिशत  र पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले एक महिनाको भाडा छुट दिएकामा धन्यवाद ज्ञापन गर्दै यो अभियानमा सरिक हुन अन्य घरधनीलाई पनि आग्रह गरेको छ ।

त्यसैगरी विज्ञप्तिमा व्यवसाय नै बन्द गरी महामारी विरुद्धको अभियानमा लागिरहँदा पनि  उद्योगी-व्यवसायीलाई सुख नभएको र बैंकको ब्याजदर र मासिक घरभाडाको तरबार टाउकामा झुण्डिएको कुरासमेत उल्लेख गरिएको छ । “सङ्कटको यो घडीमा सक्दो विवेक प्रयोग गर्न संघ सम्पूर्ण घरबेटीहरुसँग हार्दिक अपिल पनि गर्दछ ।” संघले कर्जाको ब्याज मिनाहा र किस्ता बुझाउने समयसीमा बढाउन सरकारको ध्यानाकर्षण पनि गराएको छ । सीमा नाकामा भएको स्वास्थ्य परीक्षणलाई प्रभावकारी बनाउन, स्वास्थ्य सेवाको सुनिश्चितता प्रत्याभूत गर्न पनि संघले सरकारसँग माग गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ