arrow

भूकम्प पीडितको पुनःस्थापनामा फेरि झारा टार्दै प्रधानमन्त्री

logo
प्रकाशित २०७३ वैशाख १३ सोमबार
Gorkha_barpak_earthquake.jpg.jpeg
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आठ लाख निजी घर भत्केकाले सरकारले रकम दिए पनि तत्काल नयाँ घर बन्न नसक्ने भन्दै सामूहिक टहरा निर्माणको योजना अघि सारिएको सुनाएका छन् । सम्पदा पुनःनिर्माण अभियानको  सुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले क्षति थुप्रै भएकाले तत्काल सवै घर निर्माण हुन नसक्ने सुनाएका हुन् ।  स्वयम्भू पुगेका प्रधानमन्त्री ओलीले सम्बन्धित निकायलाई आत्मविश्वासका साथ पुनःनिर्माण अभियान अघि बढाउन भनेका छन् ।  
 
प्रधानमन्त्री ओलीले विनाशकारी भूकम्प गएको एक वर्ष बितेपनि पुनःनिर्माणले गति लिन नसकेको स्वीकारर्दै अब तीव्रताका साथ काम हुने सुनाए । प्रधानमन्त्री ओलीले भने, ‘जनता अप्ठ्यारो र असुविधामा छन्, जस कारण तीव्रताका साथ पुनःनिर्माण अभियान सञ्चालनको लागि मैले सम्बन्धित निकायलाई निर्देशन दिइसकेकोे छु । पुनःनिर्माण र देश विकास गर्न सक्छौँ भन्ने आत्मविश्वासका साथ हामी सबै जुट्नै पर्दछ ।’ 
 
प्रधानमन्त्री ओलीले कानुन तर्जुमाको ढिलाइले काममा तीव्रता नआएको उल्लेख गर्दै आइतबार १० भन्दा बढी जिल्लामा पुनः निर्माणको काम सुरु भएकाले अब ढिलो नहुने बताए ।  प्रधानमन्त्री ओलीले ऐतिहासिक कला, धर्म, संस्कृति र आस्थाका धरोहरलाई बचाउन लगातार काम गर्न पनि सुझाएका छन् ।  
 
पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले स्वयम्भू क्षेत्रको पुनःनिर्माणका लागि  एक करोड ७१ लाखको लागत अनुमान गरिएको जानकारी दिए । त्यहाँ पाँच सम्पदा, २४ पुजारीका घर पुनःनिर्माणका लागि सो बजेटको अनुमान गरिएको हो । 
 
प्रताप मल्लले बनाएको अनन्तपुर, देवधर्म महाबिहार, टाँसीगोर्मा महाचैत्यलगायत सम्पदा क्षतिग्रस्त भएका छन् । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अध्यक्ष सर्वज्ञरत्न तुलाधरले सरकारले सम्पदा पुनःनिर्माणलाई प्राथमिकता दिनुपर्ने बताए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ