arrow

उद्धारको नाममा पिडित बालबालिकाबाटै ढाड सेक्ने गरि भाडा असुली

logo
युद्ध बहादुर मल्ल,
प्रकाशित २०७६ चैत १६ आइतबार
bus-wala.jpg

मुगु। गत विहिवार नेपालगंगको राँझाबाट बालबालिकाको उद्धार गरिएको भनी प्रचार गरिए पनि उनीहरुबाट बस संचालकहरुले ढाडसेक्ने गरि भाडा असुलेको खुल्न आएको छ।

कर्णाली प्रदेश सरकारको पहलमा बालबालिकाहरुलाई उद्धार गरिएको भनिएपनि बालबालिका लिएर आएका ५ वटा बसहरुले बीच बाटोमा प्रतिबालबालिका ४ हजार १ सय ५० का दरले भाडा असुलेको पाइएको छ। सामान्य अवस्थामा नेपालगंजबाट मुगु जिल्ला सदरमुकाम गमगढीसम्मको भाडा प्रति यात्रु २ हजार हो। 

काठमाडौका विभिन्न विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरु सरकारले कोरोना प्रकोप नफैलियोस भन्दै अकस्मात विद्यालय बन्द गराएपछि घर फर्कन नेपालगंज आएका थिए। नेपालगंजमा जहाजको टिकट नपाउँदा लकडाउनले अलपत्र परेपछि उद्धारका लागि बालबालिकाका आफन्त तथा आमा बुवाहरुले आव्हान गरेका थिए। 

नेपालगंजको राँझा एअरपोर्टका होटलमा विना खर्च बस्न गाह्रो भएपछि प्रदेश सरकारको पहलमा उद्धार हुने भयो भन्दै बसमा बस्न लगाए पनि बीच बाटोमा आएपछि दोव्वर भाडा उठाएको पिडितहरुले बताएका छन्। 'साना बालबालिकाको थोरै भाडा लिन्छन भनि सोचेको तर मानेनन हाम्रो सहित बालबालिकाको पनि प्रति व्यक्ति ४ हजार १ सय ५० भाडा लिए। आफुसँग भाडा तिर्ने रकम नभएपछि साथीसंग सापट गरेर बुझाए।' बसमा आएका छायाँनाथ रारा १४ बाम गाँउ घर भएका दान बहादुर बुढाले बताए।

बसमा आएकी लुम्स गाँउकी विद्यार्थी छुमका कठायतले भनिन, 'लकडाउन भएपछि कसरी घर पुग्ने होला भन्दै चिन्ता लागेको बेला केहि अगुवाहरुले प्रदेश सरकारले उद्धार गर्दैछ भनेर हामी खुशी भयौ, सरकार भएको महशुस गर्यौ‍, बेखर्ची र अलपत्र परेको बेला बल्ल अविभावक पाएको महसुश भयो। बसमा सबैलाई राखियो। सबैले बसभाडाको व्यवस्था प्रदेश सरकारले गरेको हो भन्ने ठाने र हल्ला पनि भयो। सरकारको जय होस सम्म भनियो। सुर्खेत कटेपछि बीच बाटोमै ४ हजार १५० का दरले भाडा उठाउन भनियो,भाडा नतिरे बीच बाटोमै छोडेर फकर्ने भन्न थाले चालकहरु,एक ठाँउबाट जसोतसो आईयो अब बीच बाटोमा अलपत्र पर्नु भन्दा तत्कालको समस्या समाधान होस भनी सबैले प्रतिव्यक्ती ४ हजार १ सय ५० भाडा तिर्‍यौ।' 

छुमकाले भनिन, 'कसैले फलानो प्रदेश सांसदले सहयोग गरे भन्थे, कसैले पाटीका अध्यक्षले पहल गरे भन्थे त्यो सबै प्रचारबाजी रहेछ। यहाँ सबै बाहिर हसिलो दात देखाएर भित्र लुटने मात्र रहेछन। विपत समस्यामा परेकालाई सरकारले सहयोग गर्यो भनेर प्रचारमात्र गरिएको रहेछ।'  

'नेपालगंजको राँझाका विभिन्न होटेलहरुमा करिव १८८ बालबालिका र मुगु आउने अन्य स्थानियहरु देश लकडाउन घोषणा भएपछि अलपत्र परेका थिए । उनीहरुलाई गत विहिबार ५ वटा बसको व्यवस्था मिलाएर पठाएका हौ कोही माननिय,सरकारले सहयोग गरेको आफुलाई थाहा नभएको र मौकाको चौका हानेर कोहिले सस्तो प्रचार गरेका होलान', बसका पहलकर्ता स्थानिय प्रेम रोकायाले भने 'तर यात्रुलाई चर्को भाडा लिनु गलत हो।'

उद्धारका लागी आफुहरुलाई कुनै समन्वय र कुनै सरकारबाट औपचारिक रुपमा जानकारी नभएको र अनौपचारिक रुपमा प्रदेश साामजिक विकास मन्त्रालयको आग्रहमा संघिय बालबालिका र गृह मन्त्रालयको अनुमतीमा लकडाउनका बेला बस चल्न अनुमती दिएको कुरा दैलेखको तल्लो डुन्गेश्वरमा बस पुगेपछि सुरक्षााकर्मी र स्थानिय प्रशासनले बस रोकेपछि बल्ल आफुहरुले थाहा पाएको मुगुका प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताए। रोकिएको सवारीलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा फोन गरेपछि बालबालिका भएकाले बस छोडन दैलेख प्रशासनलाई फोन भएपछि बस मुगु हिडेको सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवालीले बताए।

बसमा आएका १८८ बालबालिका सहित अन्य यात्रुलाई शुक्रबार राती ११ बजे जिल्ला अस्पतालको चिकित्सकको टोलीले स्वास्थ्य चेकजाँच गरि १४ दिनसम्म आ आफनै घरमा बस्न र घर बाहिर ननिस्कन सल्लाह दिदै घर पठाएको पनि सहायक प्रजिअ ज्ञवाली बताए।

स्वास्थ्यकर्मीहरुको टोली सहित नगरप्रमुख हरिजंग शाही,समन्वय प्रमुख पुर्ण बहादुर रोकाया, प्रजिअ कृष्ण कुमार निरौला दिउँसो नै मुगु जिल्ला प्रवेशस्थल बुलबुले पुगे पनि बसहरु राती ११ बजे पुगेपछि बालबालिका र अन्य यात्रुहरुको ज्वरोमापन राती नै गरेर उनीहरुलाई घर पठाइएको थियो ।

अहिले उद्धार गरिएका बालबालिकाका अविभावक तथा अन्य स्थानियहरुले जो पिडित छ उसैबाट दोब्बर भाडा असुल्ने कस्तो उद्धार हो भन्दै कर्णाली प्रदेश सरकारलाई प्रश्न गरेका छन्। उद्घारको नाममा प्रदेश सरकारले खर्च देखाएर कमाउने मेसो गरेको होइन भने पिडितलाई नै पिडा दिने गरेर यो कस्तो खालको उद्धार गरेको हो कणाली प्रदेश सरकारले स्थानियहरुले प्रश्न गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ