arrow

प्राध्यापकत्रयको किरीया भारतको हरिद्वारमा

logo
प्रकाशित २०७३ वैशाख १३ सोमबार
jayra-&-guddi.jpg.jpeg
डोटी । गएको चैत ३० गते भएको जीप दुर्घटनामा परी निधन भएका पद्मकन्या क्याम्पस काठमाण्डौंका प्राध्यापकत्रय जयराज पन्त, गुड्डी पन्त र सावित्रा पन्तको भारतको हरिद्वारमा हिन्दु विधिपूर्वक काजकिरीया भएको छ ।  प्राध्यापक जयराज पन्त र पत्नी सहप्राध्यापक गुड्डी पन्तको किरीया उनका कान्छा छोरा सरोज पन्तले गरे । पन्त दम्पत्तिका जेठा छोरा सशांक पन्त दुर्घटना हुँदा विदेशमा भएका कारण कान्छा छोराले किरीया गर्नु परेको आफन्तहरुले जानकारी दिएका छन् । सशांक १० औं दिनमा हरिद्वार पुगेका थिए । 
 
उपप्राध्यापक सावित्रा पन्तको किरीया उनका श्रीमान् हेरम्ब पन्तले गरे । पन्तत्रयको ११ गते १२ औं पुण्य तिथीको कार्य सम्पन्न गरी आफन्तहरु आइतबार नेपाल फर्केका छन् । भारतको उत्तराखण्ड प्रान्तमा पर्ने हरिद्वार क्षेत्रलाई पवित्र धार्मिक स्थलको रुपमा लिने गरिन्छ । सुदूरपश्चिम क्षेत्रका बहुसंख्यकहरु आफन्तको मृत्युपछि अस्तु सेलाउन हरिद्वार जाने गर्दछन् । अलिक सम्पन्न परिवारकाहरु किरीया गर्नका लागि पनि हरिद्वारमै जाने चलन छ । 
 
सामूहिक सप्ताह महायज्ञ आयोजना गर्नका लागि जन्मथलो डोटी जिजोडामाण्डौं गाविस–८ जैनोली जाने क्रममा सोही गाविस–३ मा भएको ना १ ज ३२९४ नं. को बोलेरो जीप दुर्घटनामा प्राध्यापकत्रय सहित ६ जनाको घटनास्थलमै र तीन जनाको उपचारका क्रममा मृत्यु भएको थियो । प्राध्यापकत्रय, पशुरोग बिशेषज्ञ डा. गणेशराज पन्त र समाजसेवी केशवराज पन्तको वैशाख १ गते डोटी अस्पतालमा पोष्टमार्टमपछि वैशाख २ गते कैलालीको गोदावरीमा सामुहिक दाहसंस्कार भएको थियो ।  
 
२०७२ सालको अन्तिम दिन भएको उक्त दुर्घटनामा पन्तहरुसंगै हरिना टमटाको घटनास्थलमै मृत्यु भएको थियो । चालक तेजराज बलायर र अर्का यात्रु जानकी टमटाको उपचारका क्रममा उपक्षेत्रीय अस्पताल डडेल्धुरामा निधन भएको थियो भने, उपचारको क्रममा भारतको लखनउ लगेकी कलावती टमटाको समेत मृत्यु भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ