हुम्ला। अहिलेसम्म राष्ट्रिय सडक संजालले नछोएको हुम्लामा कोरोना भाइरस कोभिड १९ को जोखिम बढ्न नदिन सरकारले घोषणा गरेको लकडाउनका कारण हुम्लामा खाद्यान्न अभाव हुन थालेको छ। खाद्यान्न अभाव हुन थालेपछि बुधबारबाट सिता एयरले सिमकोटका लागि खाद्यान्न ढुवानी शुरु गरेको छ। पहिलो दिन जहाज काठमाडौबाट आउदा ढीलो भएकोले दिउसो १ बजेबाट उडान सुरु भएकाले ४ फ्लाईट मात्र चामल ढुवानी गरेको सीता एयरका नेपालगञ्ज प्रमुख मनोज भारतीले बताए।
विकट हिमाली जिल्लामा खाद्यान्नको अभाव भएको बेला हुम्लाका प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईको समन्वय र सांसद रंगमति शाही र छक्कबहादुर लामाको पहलमा बुधवारबाट खाद्यान्न ढुवानी सुरु भएको हो।
हुम्लामा खाद्यान्नको अभाव पूर्ती गर्न आपुर्ति मन्त्रीको निर्देशनमा सिता एयरलाईन्सको जहाजबाट नेपाल खाद्यान्न व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाको चामल ढुवानी हुने भएको हुम्लाबाट प्रतिनिधि सभामा प्रतिधित्व गर्ने सांसद रंगमती शाहीले बताईन।
माथिल्लो भेगका ३ गाउँपालिका नाम्खा, सिमकोट र खार्पुनाथमा खाद्यान्नको अभाव नहोस भनेर बुधबारबाटै सिता एयरले खाद्यान्न ओसार्न शुरु गरेको भए पनि दक्षिणी भेगका ४ गाउँपालिकाका लागि केहि दिनमै हेलिकप्टर प्रयोग गरेर चामल ढुवानी गर्ने सांसद रंगमती शाहीले बताईन।
कोरोना भाइरस कोभिड १९ को जोखिम बढ्न नदिन सरकारले घोषणा गरेको लकडाउनका बाबजुत पनि सिताले सिमकोटमा खाद्यान्न ढुवानी गर्नु सरकारको स्रहहानिय काम भएको स्थानियबासिको भनाई छ।
सिता एयरका २ वटा जहाजले नेपालगंजबाट २ र सुर्खेतबाट २ फलाइट गरी ५ हजार ६ सय केजी चामल सिमकोट पुर्याएको र हावा बढेपछि बाँकी फ्लाईट गर्न नसकिने सिता एयरका सिमकोट ईन्चार्ज छबेल लामाले बताए। यस्तो अबस्थामा हुम्लामा खाधान्नको कुनैपनि समस्या नहोस भनेर सिता एयरले ढुवानी सुरु गरेको लामाले बताए ।
चैत्र १० गते सम्म फाट्फुट ढुवानी भएको भए पनि ११ गतेको लकडाउनका पछि जिल्लामा खाद्यान्न ढुवानी हुने कार्य रोकिदा खाद्यान्न समस्या हुने देखिएपछि चालू आर्थिक बर्षको खाद्यान्न ढुवानीको ब्यबस्था गर्न नेपाल खाद्यान्न ब्यबस्था तथा व्यापार कम्पनी लिमिटेडलाई पत्राचार गरिएको र त्यसै अनुसार सरकारले खाद्यान्न ढुवानी कार्य सुरु गरेको प्रमुख जिल्ला अधिकारी बिनीता भट्टराईले बताईन ।
जिल्लामा लकडाउन शुरु भए यता खाद्यान्न आपूर्ति हुन सकेको थिएन। आपूर्ती कम भएपछी भविष्यमा खाद्यान्न अभाव हुने भएकाले स्थानीय बासिन्दाले वैकल्पिक ढुवानीको व्यवस्था गर्न मंगलबार हुम्ला पुगेका कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीलाई माग गरेका थिए ।
अहिले संस्थानको गोदाममा दुई हजार पाँच सय क्वीन्टल खाद्यान्न मौज्दात भए पनि त्यो खाद्यान्न एकपटक वितरण गर्दा सकिने भएकाले खाद्यान्न समस्या नहोस भनेर बुधबारबाट सरकारले खाद्यान्न ढुवानी सुरु गरेको हो।