काठमाडौं प्रेसको समाचार हटाइएकोमा सिरान्टेक टेक्नोलोजीले माग्यो माफी
प्रकाशित २०७६ चैत २१ शुक्रबार
845
Shares
काठमाडौं। सिरान टेक्नोलोजीले काठमाडौं प्रेस डटकमको समाचार मेटेको स्विकार गर्दै माफी मागेको छ। बिहीबार विज्ञप्ति जारि गर्दै सिरान टेक्नोलोजीले आफ्ना प्राविधिकबाट समाचार मेटिन गएको भन्दै आफ्नो गल्ति स्विकार गरेको हो।
सिरान टेक्नोलोजिज 'काठमाडौं प्रेस' को वेबसाइट निर्माता हो। काठमाडौं प्रेस डटकमले बुधबार सिरानले आफ्नो सञ्चालक विरूद्धको समाचार हटाइदिएको भन्दै आपत्ति जनाएको थियो।
बिगत ११ बर्षदेखि सिरान टेक्नोलोजीले १०० भन्दा बढि न्युजपोर्टलहरुको निर्माण एवं व्यवस्थापन गर्दै आईरहेकोमा यस्तो दुखद घटना पहिलो पटक घटेको सिरानले आफ्नो विज्ञप्ति मार्फत बताएको छ।
'काठमाडौं प्रेसको वेबसाइटबाट केही समयका लागि अनपेक्षित रूपमा समाचार हटेको घटनामा हामी क्षमाप्रार्थी छौं,' सिरानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, 'एउटा जिम्मेवार कम्पनीका रूपमा हामी हाम्रो त्रुटि स्वीकार गर्दै काठमाडौं प्रेस, सम्पूर्ण प्रेस जगत, हाम्रा शुभचिन्तकसँग क्षमायाचना गर्छौं।'
लकडाउनका कारण आफ्नो प्राविधिक टिम घरबाट काम गरिरहेका बेला 'गलत सूचना आदानप्रदान हुँदा गम्भीर त्रुटि हुन गएको' कम्पनीले जनाएको छ।