arrow

प्रम ओलीले विद्यार्थीलाई अंग्रेजीमै साेधे, ‘हेल्लो स्टुडेन्ट्स, आर यु ह्याप्पी’

logo
प्रकाश सिलवाल,
प्रकाशित २०७३ वैशाख १४ मंगलबार
KP-Oli.jpg.jpeg
काठमाडौँ । ‘‘हेल्लो विद्यार्थीहरु, तिमीहरु खुसी छौ ? म विश्वास गर्छु, आज खुसी छौ ।’’ प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेपछि विद्यार्थीले भने, ‘‘खुसी छौँं । ’’ प्रधानमन्त्री निवास बालुवाटार नजिकैको महेन्द्र राष्ट्रिय उमाविका विद्यार्थी माझ एकै छिनका लागि उपस्थित प्रधानमन्त्री ओलीले आफ्नो सङ्क्षिप्त मन्तव्य अङ्ग्रेजीमा दिइरहँदा उनीहरु उत्साहित थिए । 
 
‘‘हेल्लो स्टुडेन्ट्स, आर यु ह्याप्पी, आइ ट्रस्ट यु आर ह्याप्पी टुडे, बिकज टुडे इज द बुक डिस्ट्रिब्युसन डे’’ (विद्यार्थीहरू तिमीहरु खुसी छौ ?  म विश्वास गर्छु, आज खुसी छौ किनकि आज पुस्तक वितरणको दिन हो) भनेपछि विद्यार्थी हात उठाएर एकै स्वरमा भनेका थिए, ‘यस’ । 
 
शिक्षा मन्त्रालयले नयाँ शैक्षिक सत्रका लागि अभियानका रुपमा थालनी गरेको निःशुल्क पाठ्यपुस्तक वितरण कार्यक्रमका लागि सो विद्यालयमा प्रधानमन्त्री पुग्दा विद्यार्थी, शिक्षक, अभिभावक र छिमेकी विद्यालयका शिक्षक समेत उत्साहित थिए । बालुवाटारमै रहेर पनि प्रधानन्त्री वा शीर्ष नेतृत्व कमै पुग्ने सो विद्यालयमा प्रधानमन्त्री ओली पुगेर कक्षा १ देखि १० सम्मका विभिन्न विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक विरतरण गर्नुभयो । 
 
सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमको शिक्षण नभएका कारण सहरिया विद्यार्थी निजी विद्यालयमा आकर्षित हुनेतर्फ लक्ष्य गरेर होला प्रधानमन्त्री ओलीले आफ्नो मन्तव्य पूर्णतः अङ्ग्रेजीमा दिनुभयो । ‘‘आर यु डुइङ एन्ड रिडिङ वेल रु’’ ९तिमीहरु राम्रोसँग पढिरहेका छौ रु’’ उहाँले भन्नुभयो, ‘‘यु ह्याभ टु डु हार्ड वर्क एन्ड सुड डु समथिङ फर दिस नेसन’’  (तिमीहरुले कडा मेहनत गर्नैपर्छ र यो राष्ट्रका लागि केही गर्नैपर्छ ।)
 
आफू सो विद्यालयमा पुनः समय मिलाएर आउने बताउँदै व्यस्तताका कारण प्रधानमन्त्री ओली तत्कालै फर्किँदा भने विद्यार्थीहरु सन्तुष्ट थिएनन् । उनीहरु प्रधानमन्त्रीसँग नजिक भई तस्बिर खिंचाउन खोजिरहेका थिए तर मन्त्रिपरिषद्को बैठक भएकाले उहाँ त्यहाँबाट बाहिरिनुभएको थियो । 
 
हरेक शैक्षिक सत्रमा माध्यमिक तहसम्म सरकारले निःशुल्क पाठ्यपुस्तक वितरणको जिम्मेवारी निर्वाह गरिहेको छ । कतिपय स्थानमा समयमै र पूरै थान पुस्तक नपुगेका कारण गुणस्तरीय शिक्षामा प्रतिकूल असर परेको गुनासो आएपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले यस वर्ष यही वैशाख ५ देखि १५ गतेसम्म वितरण अभियानको घोषणा गर्नुभएको हो । भर्ना अभियान तथा विद्यालय स्वागत कार्यक्रम चलिरहेका बेला पाठ्यपुस्तक वितरणको अभियान पनि सञ्चालन भएको हो । अभियानअन्तर्गत मन्त्री पोखरेल लगायत अन्य मन्त्री पनि विभिन्न जिल्लामा पुगी पुस्तक विरतणमा सामेल हुनुभएको छ । 
 
शिक्षा विभागका निर्देशक बैकुण्ठ अर्यालले यस्तो अभियानबाट सामुदायिक विद्यालयप्रतिको आकर्षण र अपनत्व बढाउन सहयोग पुग्ने बताउनुभयो । महेन्द्र उमाविका प्राचार्य देवराज गुरुङले विद्यालयमा मन्टेस्वरी नमुनामा बाल कक्षा सञ्चालनको तयारी भएको र गुणस्तर सुधारका लागि पहल भइरहेको जानकारी दिनुभयो । 
 
छिमेकी विद्यालय टङ्गाल माविका प्रअ राजेन्द्र अधिकारीले सरकारको पाठ्यपुस्तक वितरण अभियानले एक प्रकारको उत्साह थपेको बताउँदै कक्षा कोठाको सिकाइ सुधारमा पनि सरकारले चासो दिनुपर्ने माग गर्नुभयो । यसैबीच भर्ना अभियानको सन्दर्भमा आज जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा फरक क्षमता भएका विद्यार्थीलाई शिक्षा विभागका निर्देशक देवकुमारी गुरागार्इँले निःशुल्क पाठ्यपुस्तक वितरण गर्नुभयो । हाल प्राथमिक तहमा ९६ दशमलव ७ प्रतिशत खुद भर्ना दर छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ