महाकाली तरेर व्याँसका १९ जना आए क्वारेन्टाइनमा बस्न
प्रकाशित २०७६ चैत २१ शुक्रबार
733
Shares
दार्चुला । लकडाउनका कारण भारतमा रहेका दार्चुलाको व्याँस गाउँपालिकाका १९ जना महाकाली तरेर क्वारेन्टाइनमा बस्न आएका छन् । व्याँस गाउँपालिका वडा नम्बर ३ सिनाका १७ जना र वडा नम्बर ४ डोकटका २ जना गरि १९ जना गाउँपालिकाले स्थापना गरेको सम्पाल मावि सुन्सेरामा रहेको क्वारेन्टाइनमा विहीवार आएका व्याँस गाउँपालिकाका अध्यक्ष दिलिप सिंह बुढाथोकीले जानकारी दिए ।
व्याँस गाउँपालिका—३ का अमर कुवर, कुसल सिंह धामी, विक्रम सिंह धामी, रमेश कुवर, भुपेन्द्र सिंह धामी, पोखर सिंह डडाल, मोहन सिंह कुवर, कल्यान सिंह कुवर, सुविर सिंह धामी, रमेश धामी, नरेन्द्र कुवर, दिलिप धामी, उमेश सिंह धामी, रुप सिंह धामी, अकबर कुवर, भरत धामी र दिपेश कुवर विहीवार राती महाकाली तरेर क्वारेन्टाइनमा बस्न आएका हुन् ।
यस्तै भारतबाटै फर्किएका वडा नम्बर ४ डोकटका कल्याण विष्ट र प्रेम सिंह विष्ट पनि क्वारेन्टाइनमा बस्न आएको उनले बताए ।गाउँपालिकाले जिल्ला बाहिरबाट आउने मानिसहरुको तथ्यांक राख्न थालेपछि आफूपनि क्वारेन्टाइनमै बस्न आएको कल्याण विष्टले बताए ।
गाउँपालिकाले अहिले महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण, रोकथाम तथा रोगका लक्षणबारे स्थानियलाई सचेत गराउन थालेको छ । साथै १४ दिन सम्म क्वारेन्टाइनमा बस्नु पर्ने बारे गाउँपालिकाले आग्रह गरिरहेकाले आफूहरु पनि क्वारेन्टाइनमा बस्न तयार भएर आएको उनले बताए ।
भारतमा खान, बस्न अप्ठ्यारो भएपछि जोखीम मोलेरै भएपनि आफ्नै देशमा आएको भुपेन्द्र सिंह धामीले बताए । कोरोना रोगबारे आफूहरुलाई ज्ञात भएको बताउदै सचेत नागरिकको परिचय दिन पनि आफै क्वारेन्टाइन आएको उहाकोे भनाइ छ ।
व्याँस गाउँपालिकामा अहिले भारतका विभिन्न सहरहरुबाट आएका ३ जना दार्चुलाका र एक जना जुम्लाका गरि ४ जना केही दिन देखी क्वारेन्टाइनमा बसिरहेका छन् । वडा नम्बर ६ मा रहेको अपिनाम्पा क्याम्पस हुतीको क्वारेन्टाइनमा व्याँस ६ का २६ वर्षीय लोकेन्द्र विष्ट, सोही ठाउँका ३८ वर्षीय नरेन्द्र विष्ट, वडा नम्बर ५ का २० वर्षीय भैरव कुवर रहेका छन भने सम्पाल मावि सुन्सेरामा जुम्लाका ६५ वर्षीय टोवा तामाङ बसेका छन् ।
व्याँस गाउँपालिकामा चैत १ गते देखी २० गते सम्म स्वदेशका विभिन सहरबाट १७६ जना र विदेशबाट १६ जना गरि जम्मा १९२ जना भित्रिएका छन् ।