arrow

उपभोक्ता चरम ठगिमा पर्ने यी हुन् पाँच उपभोग्य वस्तु

अत्यावश्यकिय वस्तुमै बढी कालोबजारी हुन्छ : महानिर्देशक कोइराला

logo
प्रकाशित २०७३ वैशाख १४ मंगलबार
banijya-e1444309682476.jpg.jpeg
काठमाडौं । पछिल्लो समय विभिन्न बहानामा बजारमा उपभोग्य बस्तुहरूको अभावको मौका छोपी ठगिका घटनाहरूमा अझ बृद्धि भएको छ । ठगिको आरोपमा समातिनेको संख्या पनि दैनिक बढिरहेको प्रहरीले सार्वजनिक गरिरहेको छ ।दैनिक उपभोग्य बस्तुहरूमा हुने कालोबजारी र ठगिका घटनाहरू नियन्त्रण गर्ने निकाय प्रभावकारी नबन्दा जनताहरूले दैनिक उपभोग्य बस्तुको मुल्य महंगो तिर्दे आएका छन् । यस्ता वस्तुहरु कम गुणस्तरका समेत हुने गरेको भेटिएको छ । 
 
वाणिज्य तथा आपूर्ति व्यवस्था विभाग हुँदा समेत महानिर्देशक रहेका तथा अहिले वाणिज्य विभागको महानिर्देशकको जिम्मेवारी सम्हालिरहेका शम्भु कोइराला भन्छन् ‘हामीले वार्गेनिङ नगर्ने र हाम्रा लागि अत्यावश्यक रहेको बस्तुमा नै बढी कालोबजारी हुने गरेको छ ।’ त्यस्ता विषयमा नजानिँदो पाराले जनताहरू ठगिने गरेको देखिएको उनले बताए । उनको अनुभवमा सबैभन्दा बढी जनता ठगिने पाँच क्षेत्र यी हुन् । 
 
१. औषधिजन्य वस्तु : श्रमहानिर्देशक कोइरालाका अनुसार सबैभन्दा बढी जनताहरू औषधिको खरिदमा ठगिने गरेका छन् । औषधिको खरिदका क्रममा वार्गेनिङ पनि नहुने र महंगो भयो भनेर विकल्प समेत नखोजिने बताए । अपरझट खरिद गर्नुपर्ने बस्तु भएकोले पनि पसलेले जति भन्यो उती तिर्न जनता बाध्य रहेको उनको भनाई छ । उनले आफूले अभावको बेलामा पनि उक्त क्षेत्रबाट धेरै व्यवसायीहरूलाई पक्राउ गरेर कारबाही गरेको जानकारी दिए । यसमा गुणस्तरको विषयमा पसलको खासै भूमिका नरहेको भएपनि मूल्यमा भने जनताको ढाड सेकाउने गरेका छन् ।
 
२. खानेतेल : खानेतेलमा पनि उपभोत्ताहरू व्यापक मात्रामा ठगिने गरेका छन् । व्यवसायीहरूले खाने तेलको परिणाम, गुणस्तर र मुल्यमा समेत व्यापक ठगि गर्ने गरेको अनुगमनको बेला भेटिएको कोइराला सुनाउँछन् । उसका अनुसार खाने तेल उत्पादकहरूदेखि बजारका खुद्रा व्यापारीहरूसम्मले मनपरी मुल्य लिनेगरेको गुनासो आउने गरेको र आफूले छड्के हान्दा पनि त्यस्तो समस्या भेटेर धेरै व्यवसायीहरूलाई कारबाही गरेको बताए ।
 
 ३. दाल : दैनिक उपभोग्य बस्तुहरूमा गुणस्तर र मुल्यमा गरी दाल व्यवसायीहरूले समेत व्यापक कालोबजारी र ठगि गर्ने गरेका छन् । केही समय अगाडि अर्थात् भारतीय नाकाबन्दीको समयमा त झनै दालको मुल्य आकासिन पुग्यो । सो समयमा पनि धेरै गुनासाहरू आएपछि अनुगमन गर्दा दाल व्यवसायीहरूले उपभोक्ता ठगी गर्ने गरेको भेटिएको हो । त्यसपछि हामीले आफैंले अनुगमन गर्दा धेरै त्यस्ता ठगिका मुद्दाहरू भेटिएको उनको दावी छ । तर, त्यतिबेला त केही विदेशमा समेत मुल्य बढेको कारण पनि यहाँ मुल्य बढेको हुनसक्ने उनको अनुमान थियो । तर, कालोबजारीको अधिकांश दोष नेपाली व्यवसायीले नै भोग्नुपर्ने उनले बताए ।
 
४. चामल : चामलमा पनि भाउ बढाउने र जनतालाई व्यापक ठगी गर्ने गरिएको उनले बताए । चामलमा ठगि गर्नेहरूले चाहिँ मुल्य बढाउनेदेखि चामलको सिल तोडेर केही कम मात्रामा विक्रि गर्ने गरेको समेत भेटिएको समेत कोइरालाको दाबी थियो । यसमा पनि मूल्यमा केही वार्गेनिङ गरेपनि परिणाममा जनता ठगिने गरेका छन् ।
 
५. इन्धन : इन्धनमा हामीले भूकम्प र नाकाबन्दी पछि अभावको कारणले गर्दा धेरै ठगि भएको भनिएपनि प्रहरीले केही समय मिटर विगारेर ठगि गर्नेगरेको आरोप सहित अगाडि पक्राउ पनि गर‍्‍यो । ‘यसमा पनि हामी ठगिएको देखिन्छ ।’ कोइरालाले भने ‘तर कतिपय अवस्थामा तोकिएको परिणाम भन्दा कम तेल दिने गरेको आरोपमा हामीले पनि धेरै अनुगमन गरेर कारबाही गरेकै हौं । तर, नाकाबन्दीको समयमा त अझ धेरै ठगि भएको थियो ।’ समाधानका दुई सूत्र :– यसरी दैनिक उपभोग्य बस्तुमा कालोबजारी हुन्छ भने यसलाई कसरी रोक्न सकिन्छ त ? महानिर्देशक कोइराला भन्छन् ‘कारबाहीको धम्कीले कालोबजारी र ठगि रोकिने वाला छैन । यसको लागि सरकारले कि त सबै क्षेत्रमा यस्ता बस्तुहरू विक्री वितरण गर्ने व्यवस्था मिलाउनु पर‍्‍यो । होईन भने निजी क्षेत्रलाई पनि व्यवस्थित बनाउनु पर‍्‍यो । नाकाबन्दीको समयमा सरकारी स्वामित्वको नेपाल साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडले उदाहरणीय काम गर‍्‍यो। यसैगरी कुनै न कुनै सरकारी निकायलाई दिने हो भने पनि यसरी हुने ठगि रोकिन सक्छ ।’ त्यसैगरी, आपूर्ति व्यवस्थालाई वढाउने हो भने पनि यस्ता ठगिका घटनाहरू कम हुने उनको दाबी थियो । उनका अनुसार आपूर्ति बढाएर अभाव हुन नदिने हो भने कुनै पनि व्यवसायीले बस्तुको मुल्य बढी भनेको खण्डमा खरिद कर्ताहरूले विकल्प खोज्न सक्दछन् । त्यसैले आपूर्ति व्यवस्थालाई बढाउने या त सरकारले कालोबजारी गर्नेहरू न्यूनीकरणको लागि हस्तक्षेपकारी नीति अवलम्बन गरेर अघि बढ्नुपर्ने सुझाव उनको रहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ