सुदुरपश्चिममा प्रयोगशालाको क्षमता र गुणस्तर वृद्धी गर्न नेता लेखकको आग्रह
प्रकाशित २०७६ चैत २३ आइतबार
1.1k
Shares
काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सुदुर पश्चिम प्रदेशमा कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै तत्काल प्रयोगशालाको क्षमता र गुणस्तर वृद्धी गर्न सरकारसँग आग्रह गरेका छन् ।
शनिबार मात्र कैलाली र कंचनपुरमा ३ जना नयाँ संक्रमित भेटिएसँगै त्यस क्षेत्रमा महामारी बढन सक्ने सम्भावना भएकाले रोकथामको लागि सरकारले तत्काल प्रयोगशाला र गुणस्तर वृद्धि गर्नु पर्ने आग्रह गरेका हुन् ।
नेता लेखकले सामाजिक सन्जाल फेसबुक र ट्विटर मार्फत भनेका छन्, ' बढी टेस्ट गर्न प्रयोगशाला, अस्पतालको क्षमता र सामग्री पुगेन, थप गरौ'। त्यस्तै नेता लेखकले सरकारले लकडाउनलाई कडा गरि पालिकामा समेत आवतजावतमा लगाएको बन्देज सकारात्मक रहेकाले पालना गर्न र कडाई साथ लागू गर्न अनुरोध समेत गरेका छन्।
यसै सन्दर्भमा सुदुर पश्चिमको पछिल्लो अवस्था र सरकारको तर्फबाट भएका प्रयासका बारेमा नेता लेखकले र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसँग कुरा गरेका छन् । कुराकानीका क्रममा नेता लेखकले सुदुरपश्चिममा लाखौंको संख्यामा छिमेकी मुलुकबाट स्वदेश आएका र प्रयोगशाला, उपकरण र जनशक्तिको अभावका कारण न्यून संख्यामा मात्र परिक्षण भएको उल्लेख गर्दै दैनिक कम्तिमा ५ सय जना सम्मको परिक्षणको ब्यवस्था मिलाउन सुझाव दिएका छन्।
मन्त्री ढकालले पनि सुझावलाई सकारात्मक रुपमा लिइ सुदुर पश्चिममा आवश्यक उपकरण र जनशक्तिको ब्यवस्था परिक्षणको दायरा बढाउन सरकारले आवस्यक प्रक्रिया बढाउने आश्वासन दिएको लेखकका स्वकिय सचिब जनक भट्टले जानकारी दिएका छन्।