arrow

रोल्पाको देबिदत्त गणमा पानीको हाहाकार

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ वैशाख १५ बुधबार
army-rolpa.jpg.jpeg
रोल्पा (जूस)। गर्मी बढेसंगै राल्पा जिल्लाका बिभिन्न स्थानमा खानेपानीको समस्या देखिन थालेको छ। खाने पानीको समस्या बढेपछि सबैभन्दा बढी मार देवीदत्त गण लिबाङ रोल्पाले खेप्नु परेको छ।  गणमा करिव ३ वटा धारा जडान भई सञ्चालनमा रहेको भएतापनि पानीको मुहान सुकेपछि समस्या बढ्न थालेको  देविदत्त गण लिबाङ रोल्पाका सेनानी केशव शिलवालले जानकारी दिए। उनका अनुसार गुनाखोला २ सातदोबाटो समितिबाट चौविसै घण्टा पानी आउने गरेकोमा चैतदेखि पूर्णरुपमा धारा सुकेको छ।
 
यसैगरी पाना खानेपानी समिति  र मेबाङ रेन्जखोला समितिबाट आउने धारा पनि दिनप्रतिदिन सुक्न थालेपनि गणमा पानीको समस्या चुलिदै गएको हो। हाल खानेपानी समस्या समाधानका लागि गणले आफ्नै कार्यालयको गाडीका साथै  लिबाङ नगरपालिको टिप्पर मार्फत घट्टेकुलाबाट पालैपालो पानी आपुर्ति गरिराखेको छ। करिव ४०० जना कार्यरत रहेको गणका कर्मचारीहरु नुहाउन कपडा धुन धाङ्सी खोला, लहरी खोला पुग्ने गरेका छन्।
 
शिलवालका अनुसार दैनिक प्रतिब्यक्ति कम्तिमा  १०० लिटर पानी आवश्यक पर्ने भएतापनि आफूहरुले करिव ५० लिटर मात्र उपभोग गरेको बताएका छन्। यसरी दैनिक २० हजार लिटर पानीको आवश्यकता पर्नेमा दैनिक १० हजार लिटरमात्र आपुर्ति भइराखेको उनको  भनाइ छ। गणका ड्राइभर अमलदार सुनिल रावतका अनुसार गणको गाडीबाट दैनिक  ८ हजार लिटर पानी बोक्ने गरिएको छ त्यसबाट पानी अपुग हुन गएमा  नगरपालिकाको टिप्परबाट पनि पानी आपुर्ति भएराखेको छ।
 
यसैगरी  गर्मीसंगै बढेको सुख्खा पनका कारण मुहानहरु सुक्दा आफूहरुले ठूलो सास्ती खेप्नु परेको गणमा खानेपानी ब्यवस्थापनका लागि खटिएका प्लम्बर प्यूठ अजय गुरुङले बताए। विगतका वर्षहरुमा यस किसिमको समस्या झेल्नु परेको थिएन। यसवर्ष पानीको समस्या बढ्दा निकै गाह्रो भएको छ प्रमुख सेनानी गणपति विनोद चन्दले बताए। यस विषयमा जिज्ञासा राख्दा खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालय रोल्पाका निमित्त सब डिभिजन प्रमुख हेमन्तराज आचार्यले कार्यालयलाई कुनै किसिमको जानकारी नभएको बताएका छन्।
 
आचार्य भन्छन् उहाँहरुले समयमा जानकारी दिनुभएन। भवितब्य के हो थाहा हुँदैन तर तोडफोड भएको, बिग्रेको भए अहिलेपनि  बनाउन सकिने अवस्था छ ट्यांकी चुहेर, पाइप फुटेर पानी खेर गएका कारण समस्या बढेको भए सानोतिनो रकममा मर्मत संभार गर्न सकिने थियो तर हामीलाई कुनै आधिकारिक जानकारी नै छैन। यस्तै लिबाङ बजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष मानबहादुर खत्री पानीको विषयमा गणसंग समितिको कुनै किसिमको सम्वन्ध नहुने बताए।
 
लिबाङ नगरपालिकाका कार्यकारी अधिकृत निमबहादुर के.सी.ले गणमा पानीको हाहाकार बढेपछि सरकारी कार्यालयको समस्यालाई मध्यनजर गर्दै खानेपानी आपूर्तिका लागि टिप्पर उपलब्ध गराएको बताए। यस किसिमको समस्या जिल्लाका अन्य स्थानमा पनि दिनप्रतिदिन बढ्दै गइराखेको छ। गजुल रोल्पामा रहेको कोट पधेरा, तल्लो पधेरा, र पुतली पधेरा लगायतका पानीका मुहान सुक्दा उपभोक्ताह्रु निकै चिन्तित बनेको शिक्षक नवराज सुवेदीले जानकारी दिए।   
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ